भक्तपुर । भक्तपुरको सूर्यविनायक-८ स्थित डोलेश्वर भिलेज रिसोर्टमा सत्तारुढ दल नेकपा एमालेको बागमती प्रदेश स्तरीय प्रचार कार्यशाला जारी छ । बिहीबारदेखि उनीहरू दुई दिने कार्यशालामा जुटेका छन् ।
कार्यशालालाई सम्बोधन गर्दै नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी र नेतृत्वविरुद्ध चौतर्फी घेराबन्दी भइरहेको बताएका छन् ।
एमाले स्थापित राष्ट्रवादी शक्ति भएको दावी गर्दै महासचिव पोखरेलले पार्टीविरुद्ध फैलाइएको भ्रमलाई प्रचार कार्यशालाले निस्तेज पार्न निर्देेशन दिए ।
संगठन, विचार र जनसम्पर्कलाई अझ सुदृढ गर्दै प्रचार बिभागमा आवद्ध नेताकार्यकर्ताले पार्टीविरुद्ध भ्रम फैलाउने व्यक्तिहरूको पहिचान गरी तिनको उद्देश्य प्रष्ट पार्दै जनमत निर्माण गर्नुपर्ने महासचिव पोखरेलले आवश्यकता औल्याएका छन् ।
प्रचार अभियानमा संलग्न कार्यकर्ताहरूलाई अपडेट रहन र तथ्यमा आधारित सन्देश निर्माण एवं प्रवाह गर्न निर्देशन दिदैँ उनले जनताले रोजेको गणतान्त्रिक व्यवस्था र संवैधानिक मूल्यको रक्षा गर्न सबै सचेत कार्यकर्ताहरू एकजुट हुनुपर्नेमा जोड दिएका एक सहभागीले बताए ।
कार्यक्रममा बागमती प्रदेश इन्चार्ज डा राजन भट्टराईले प्रचार कार्यशालाको सान्दर्भिकता र उदेश्यबारे स्पष्ट पारेका थिए । उनले पार्टी अध्यक्ष नेतृत्वको सरकारले गरेका काम प्रचार गर्नपर्नेमा जोड दिए ।
कार्यशालामा एमालेको बागमती प्रदेश अन्तर्गत सबै जिल्लाका प्रचार बिभागका पदाधिकारी एवं प्रेस चौतारी नेपालका जिल्ला अध्यक्ष तथा सचिवहरु सहभागी रहेका आयोजक प्रचार बिभाग बागमती प्रदेशका सचिव प्रेमकुमार दाहालले जानकारी दिए ।
शुक्रवार सम्पन्न हुने कार्यशालाले प्रचार रणनीति बनाउने उनले बताएका छन् ।