पुनर्निर्माणमा भक्तपुर मोडल, इस्टिमेटभन्दा ३ करोड कममा लक्ष्मीनरसिंहलाई पुनर्जीवन

भक्तपुर । भक्तपुर नगरपालिकाले लागत इस्टिमेट भन्दा करिब ३ करोड कम खर्चमा ऐतिहासिक एवं पुरातात्त्विक सम्पदा लक्ष्मीनरसिंह मन्दिरको पुनर्निर्माण सम्पन्न गरेको छ ।

२०७८ मंसिरमा पुनर्निर्माण शुरु भएको भक्तपुर-४ त: मारी क्षेत्रको गःहिटीस्थित सो मन्दिर नगरपालिकाका जनप्रतिनिधिले ३ वर्ष पूरा गरेको अवसर पारेर मंगलबार उद्घाटन समेत गरिएको छ ।

मन्दिरको कुल लागत इष्टमेट रु. ७ करोड ७७ लाख रहेकोमा रु. ४ करोड ८३ लाख खर्चमा पुनःनिर्माण कार्य सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष न्हुछेराम भेलेले बताएका छन् ।

पुनर्निर्माणमा २२ लाख ६६ हजारभन्दा बढी नगद सहयोगस्वरुप प्राप्त भएको र ७ सय ५० जनाभन्दा बढीले श्रमदान गरेका थिए भने लाखौ रुपैयाँ बराबरको जिन्सी सामान स्थानीयले सहयोग गरेका थिए ।

वरिष्ठ राजनीतिज्ञ एवं नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले पुनर्निर्माण सम्पन्न लक्ष्मीनरसिंह मन्दिरको उद्घाटन गर्दै स्थानीय जनताले कम खर्चमा काम सक्ने तर, केन्द्रीय सरकारले बढी लागत लाउने कारण कमिसनको भागबन्डा नै भएको बताए ।

भक्तपुर नगरपालिका र यहाँका स्थानीय जनताबाट कामगर्ने तरिका सबैले सिक्नुपर्नेमा जोड दिदैँ उनले सम्पदा पुनःनिर्माणको काम ठेक्कामा दिन नहुनेतर्फ सबै सचेत हुन आवश्यक भएको बताए ।

भक्तपुरका जनताबीचको एकता तथा आपसी सहयोगको भावनाले भक्तपुरले अपेक्षित उपलब्धी हासिल गरिरहेको र यहीँ नै भक्तपुरको विशेषता बन्दै गइरहेको अध्यक्ष बिजुक्छेँले बताएका छन् ।

सो अवसरमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले २०७२ सालको भूकम्पपूर्वको भन्दा निकै फरक मल्लकालिन मौलिक स्वरूपमै मन्दिरको पुनःनिर्माण गरिएको जानकारी गराए ।

विदेशी सहयोग रकम विना नै भक्तपुर नगरपालिकाले सयौं सम्पदा पुनर्निर्माण गर्न सफल भएको उदाहरण प्रस्तुत गर्दै प्रमुख प्रजापतिले लक्ष्मी नरसिंह मन्दिरको पुनर्निर्माणमा पनि बिदेशी सहयता नलिएको स्पष्ट पारे ।

कार्यक्रममा नगरपालिकाकी उपप्रमुख रजनी जोशी, भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल, पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानांग त्यसैगरी इतिहासविद् प्रा.डा. पुरूषोत्तमलोचन श्रेष्ठ, ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य ई. सुजन माक, नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराई र वडाध्यक्ष रवीन्द्र ज्याख्व लगायतले भक्तपुर नगरपालिकाले ऐतिहासिक सम्पदाहरुको संरक्षणमा उल्लेखनीय प्रगति गरिरहेको र भावी पुस्ता यसबाट अझ बढी लाभान्वित हुने बिश्वास ब्यक्त गरे ।

सो अवसरमा मन्दिर पुनःनिर्माणका डकर्मी नाइके जगतराम न्हिसुतु र सिकर्मी नाइके बलराम शिल्पकारलाई सम्मान समेत गरिएको थियो ।
लक्ष्मीनरसिंह मन्दिर पुनःनिर्माणसँगै ङातापोला(पाँच तल्ले मन्दिर) रहेको त: मारी र गःहिटी क्षेत्रको आकर्षण थप बढेको छ ।

भक्तपुरका तत्कालीन राजा जयस्थिती मल्लले नगरको सुरक्षाका लागि लक्ष्मी नरसिंहलाई स्थापित गरि मन्दिर बनाएको इतिहासमा उल्लेख छ । मन्दिरभित्र हिन्दुका देवता नारायणको चौथो अवतार मानिने नरसिंहको क्रोधीरुप नभई देवी लक्ष्मीलाई कम्मर समाएर रहेको शान्तस्वरुपको मूर्ति रहेको छ ।