शिक्षालाई रोजगारीसँग जोड्न आदिम कलेज र टोक्मा टेक्नोलोजीबीच सहकार्य

काठमाडौँ । सूचना प्रविधि क्षेत्रमा शिक्षालाई रोजगारीसँग जोड्ने उद्देश्यले आदिम कलेज र टोक्मा टेक्नोलोजी प्रा.लि.बीच समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको छ।

सम्झदारीमा आदिम कलेजका प्राचार्य शंकर प्रसाद शर्मा र टोक्मा टेक्नोलोजीका निर्देशक सागर आङदेम्बेले हस्ताक्षर गरे। कलेजका व्यवसाय विकास प्रबन्धक धन बहादुर साउद साक्षीका रूपमा उपस्थित थिए।

सहकार्यअनुसार विद्यार्थीलाई इन्डस्ट्री इन्टर्नशिप, संयुक्त अनुसन्धान, पाठ्यक्रम परिमार्जन, दक्षता विकास कार्यशाला र विशेषज्ञ सत्रमार्फत व्यावसायिक रूपमा तयार पारिनेछ। साथै ह्याकाथन, इनोभेसन च्यालेन्ज र रोजगारी सञ्जालको अवसर पनि प्रदान गरिनेछ।

नेपाल कम्प्युटर महासंघका उपाध्यक्ष चिरञ्जीवी अधिकारीले सहकार्यलाई सकारात्मक भन्दै यसले सूचना प्रविधिमा दक्ष जनशक्ति उत्पादनमा टेवा पुग्ने बताए।

प्राचार्य शर्माले प्रविधि शिक्षामा व्यवहारिक ज्ञान अनिवार्य रहेको उल्लेख गर्दै सहकार्यले विद्यार्थीलाई प्रतिस्पर्धी बनाउन सहयोग गर्ने बताए।

MoU का मुख्य बुँदाहरू:

आदिम कलेजद्वारा:

योग्य विद्यार्थीलाई इन्टर्नशिपमा पठाउने

शैक्षिक र व्यवस्थापकीय समर्थन

संकायसँग सहकार्य

टोक्मा टेक्नोलोजीद्वारा:

इन्टर्नशिप र अनुसन्धानमा संलग्न गराउने

मार्गदर्शन, अतिथि व्याख्यान, मेन्टरशिप

पाठ्यक्रम सुधारमा सहकार्य

MoU तीन वर्षका लागि मान्य रहनेछ र सहमतिमा नवीकरण गर्न सकिने उल्लेख छ। दुवै पक्षले यो सहकार्यले सूचना प्रविधिमा दीर्घकालीन योगदान दिने विश्वास व्यक्त गरेका छन्।