सान्नी त्रिवेणीका हाकिम लामो समयदेखि वेपत्ता

अग्रिम हाजिरी लगाएर हराएका हाकिम खोज्दै जनप्रतिनिधि हैरान

कालिकोट, २० बैशाख । सान्नी त्रिवेणी गाउँपालिका कालिकोटका प्रमुख प्रशासकीय अधिकृत लामो समयदेखि सम्पर्क विहिन भएका छन् ।

बैशाख ७ गतेदेखि पालिकाबाट सम्पर्कविहीन भएका पालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम बहादुर बडुवाललाई जनप्रतिनिधिहरुले पालिकामा केही दिनदेखि खोजिनीति गर्दा पनि नभेटिएपछि प्रशासनलाई खबर गरिएको छ ।

बडुवाल बैशाख ७ गते पालिकामा थिए । त्यसअघि पनि उनी पालिकामा थिएनन् । उनी बैशाख ३ गते सुर्खेतमा थिए । ३ गते सुर्खेत रहेका उनी ७ गते एकाएक पालिकामा देखिएका थिए । तर, ७ गतेबाट फेरि एकाएक गायव भए ।

७ गतेबाट सम्पर्कविहीन भएका उनी त्यसपछि अहिलेसम्म नभेटिएपछि खोजि गर्दा अधिकृत बडुवालले पालिकाको हाजिरी पुस्तिकामा बैशाख १० गतेसम्मको हाजिरी ७ गते नै लगाएर हिडेको पाइएको छ । यसरी एक हप्ता अगावै आफ्नो हाजिरी लगाएर पालिकाका हाकिम हिडेपछि पालिकाका कामकाजहरु अस्तव्यस्त भएका छन् । पालिकामा सेवा लिन पुग्ने सेवाग्राहीहरु अप्ठ्यारोमा परेका छन् ।

अधिकृत बडुवाल असोज महिनादेखि मंसिर महिनासम्म पनि लामो समय पालिकामा थिएनन । उनी त्यतिबेला पनि पालिका छाडेर सुर्खेततिर बरालिने गरेको भेटिएको थियो । त्यतिबेला पालिकामा सेवाग्राहीले व्यापक गुनासो गर्दा पनि उनी देखा परेनन् । त्यसपछि केही समय पालिकामा गएका बडुवाल फेरि अहिले केही दिनको अग्रिम हाजिरी लगाएर वेपत्ता भएका हुन् ।

उनी निकट केही जनप्रतिनिधिहरु उनी पालिकामा अनुपस्थित रहे पनि बाहिरबाटै काम गर्ने गरेको बताउँछन् । उनी कतिपय कामहरु आफू प्रत्यक्ष रुपमा अनुपस्थित रहेको देखाएर गर्ने गरेको बताइन्छ । भोलि कुनै समस्या परेमा आफू अनुपस्थित रहेको प्रमाण पेश गर्न उनले यस्तो चलाखी गर्ने गरेको दावी पनि कतिपयको छ । तर, उनी अधिकांश समय अग्रिम हाजिरी लगाएर र कतिपयबेला पछि पुगेका बेला छुटेको हाजिरी लगाएर नक्कली काम गर्दै आएका छन् ।

पालिकामा नभए पनि उनले तलब भने भटाभट खाँदै आएका छन् । तलब मात्र नभएर उनले बाँकी समयको भत्ता पनि झ्वाम पार्ने गरेका छन् । उनी पालिकाको प्रशासनको प्रमुख आफू भएकोले आफ्नो हाजिरी र विदा आफ्नै हातमा भएको भन्दै आफूलाई कसैले केही गर्न नसक्ने धाकधक्कु पनि लगाउँदै आएका छन् ।

पालिकामा विकास निर्माणका कामहरु ठप्प भएका छन् । गाउँपालिकादेखि रुकु गाउँ जोड्ने सडक विद्युतीय बिडिङ गरेर प्रक्रिया सकिसकेको छ । तर, प्रमुख प्रशासकीय अधिकृत बडुवालले निर्माण व्यवसायीलाई काम गर्ने अनुमति दिएका छैनन ।

६० लाख बराबरको बजेटमा बिडिङ भएको उक्त सडकलाई अलपत्र पारेर हाकिम गायव भएको भन्दै त्यस क्षेत्रका बासिन्दा आक्रोशित बनेका छन् । त्यसैगरी काम भइसकेका योजनाहरुको पनि रकम भुक्तानी दिन उनले आनाकानी गर्दै अड्काएका छन् ।

यसरी प्रशासकीय अधिकृतको जिम्मेवारी लिने तर कुनै पनि जिम्मेवारी वहन नगर्नाले पालिकाका नियमित कामकाज ठप्प भएका छन् भने सेवाग्राहीहरु मर्कामा परेका छन् ।

कानुन अनुसार प्रमुख प्रशासकीय अधिकृतले पालिकाको बजेट कार्यान्वयनमा भूमिका खेल्नुपर्छ । यदि उनले विनियोजित बजेट कार्यान्वयन गर्न आनाकानी गरेमा र योजनाहरु सम्पन्न गर्न नमानेमा त्यो पनि भ्रष्टाचारका रुपमा राखेर हेरिने व्यवस्था छ । त्यसमा उनको नियतमाथि प्रश्न उठ्छ ।

त्यसैगरी हाकिम बडुवालले पालिकाको केन्द्रदेखि शान्तिघाटसम्म जोड्ने सडक पनि अलपत्र पारेका छन् । ३ करोड लागतमा बन्न लागेको उक्त सडकलाई अलपत्र पारेर हाकिम वेपत्ता भएका हुन् । बन्ने प्रक्रियामा गइसकेका सडक आयोजनाहरुलाई अड्काएर अधिकृत बडुवालले केही अनावश्यक चाहना राखेको निर्माण व्यवसायीको दावी छ ।

अधिकृत बडुवाल यसअघि पनि लामो समय हराउने गरेका थिए । उनले आफ्नो हाजिरी आफै मनोमानी रुपमा लगाउँदै आएका छन् । पालिकामा आक्कल झुक्कल मात्रै देखिने उनी अधिकांश समय सुर्खेततिर भट्टी पसलमा भेटिने गरेको प्रत्यक्षदर्शीहरु बताउँछन् ।

कालिकोटको जागिर खाए पनि अधिकृत बडुवाल भने सुर्खेतमा इन्स्टिच्युट पढाउने गरेका छन् । सुर्खेतको सदरमुकाम बीरेन्द्रनगर ८ क्याम्पस रोडमा रहेको एक्सपर्ट एजुकेसन सेन्टरमा उनी नियमित पढाउने गरेको भेटिएको छ ।

उक्त इन्स्टिच्युटले आफ्नो प्रचारसामग्रीमा बडुवाललाई प्रमुख प्रशिक्षकका रुपमा राखेर प्रचार गर्दै आएको छ । उक्त इन्स्टिच्युटले लोकसेवा लगायतका विभिन्न कक्षाहरु सन्चालन गर्दै आएको छ ।