कालिकोट छाप्रेमा भीषण पहिरो, तीन वटा वडाका वस्तीहरु ठूलो जोखिममा

कालिकोट, १० भदौ । कालिकोटको छाप्रेमा गएराति भीषण पहिरो गएको छ । पहिरोका कारण तीन वटा वडाका वस्तीहरु ठूलो जोखिममा परेका छन् ।

तिलागुफा नगरपालिका-७ छाप्रेमा भीषण पहिरो गएको हो। गएराति अबिरल वर्षासँगै गाउँ माथिबाट पहिरो आएपछि स्थानीयवासी गाउँ छाडेर भागेका छन्। पहिरोका कारणा तिलागुफा नगरपालिकाको वडा नं. ६, ७ र ८ का तीन वटा बस्तीहरु जोखिममा परेका छन्।

तिलागुफा नगरपालिका प्रमुख रतनबहादुर शाहीले पहिरोका कारण छाप्रे, डाँडको बस्ती बिस्थापित भएको जानकारी दिए। उनले भने-‘पहिरो अहिले पनि बगिरहेका छ। राति गाउँमा पहिरो पस्दा भागाभाग भयो। पहिरोले पसेपनि मानवीय क्षति भने नभएको शाहीले बताए। डाँढ गाउँका दुई घरमा पहिरो पसेको छ। टाकुल्लाको दुई कोठे घर पुरिएको छ।

पहिरोले कर्णाली राजमार्ग अन्तर्गत सुर्खेत जुम्ला सडकखण्ड पनि अवरुद्ध भएको छ। कर्णाली राजमार्गमा गुड्ने सवारी साधनहरु बीच बाटोमै अलपत्र परेका छन्। पहिरोग्रस्त क्षेत्रमा उद्धारका लागि तीन वटै सुरक्षा निकाय खटिएका छन्। जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डीएसपी श्यामबाबु ओलीयाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरीका डीएसपी दिलप्रसाद भट्टको नेतृत्वमा सशस्त्र प्रहरी र नेपाली सेनाको पहिरो स्थलमा खटिएको छ।

डीएसपी श्यामबाबु ओलीयाले आफूहरुले पहिरोको जोखिममा परेका परिवारहरुको तथ्यांक संकलन, उनीहरुको बसोबासका लागि नगरपालिकासँग समन्वय गरिरहेको बताए। उनले भने, पहिरो रोकिएको छैन्। छाप्रेका २५ घरहरु तत्काल विस्थापित हुने अवस्थामा छन्। जोखिममा रहेका परिवारको घरमा रहेको सामानहरु सुरक्षित ठाँउ तिर लिने कार्य भइरहेको छ।