सरकारले घुसपैठी पठाएर शिक्षकमाथि लाठी बर्सायो : अध्यक्ष सुवेदी

काठमाडौ । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिसोर सुवेदीले सरकारले घुसपैठी पठाएर शिक्षक माथि लाठी बर्साएको बताएका छन् ।

आफूहरू कलम बोकेर आन्दोलनमा आएको तर सरकारको बन्दुक संग पनि नडराउने उनले उद्घोष समेत गरे । शिक्षक आन्दोलनको इतिहास पढ्न आग्रह गर्दै उनले शिक्षकहरु अन्याय सहेर नबस्ने बताए ।

अध्यक्ष सुवेदीले प्रहरी दमनपछि आन्दोलनरत शिक्षकहरुलाई आन्दोलन स्थलमा सम्बोधन गर्दै भने- ” शिक्षकको शिर झुकाउन सरकारले सक्दैन ।”

उनले आफूहरूको आन्दोलन अझ ससक्त हुने र थप शिक्षकहरु काठमाडौ उतार्ने उद्घोष गरे ।

सरकारको दमन पछि ननस्टप खबरसंग प्रतिक्रिया दिदैँ शिक्षक नेता शंकर अधिकारीले आन्दोलन रोक्न अनेक जुक्ति निकाल्ने सरकारलाई त्यति नै मेहनत शिक्षा ऐनमा लगाउन सुझाव दिए । उनले दमनको प्रतिरोध गरिने बताए ।

शिक्षक आन्दोलन परिचालन समितिकी संयोजक नानुमाया पराजुलीले माग पूरा नभई शिक्षकहरु पछि नहट्ने स्पष्ट पार्दै दमनदेखि नडराउने बताइन् ।

आफूहरु निजी मागका लागि नभई विद्यालय शिक्षा ऐनका लागि आन्दोलनमा रहेको उनको भनाइ छ । ऐन विद्यार्थी, अभिभावक र राज्य स्वयंलाई चाहिएको तर, त्यसको लागि शिक्षकहरु लडिरहनु परेको उनले प्रष्ट पारिन् ।

संयोजक पराजुलीले आइतबार प्रहरीले दमन गर्दा दुई दर्जन बढी शिक्षक घाइते भएका जानकारी गराइन । घाइतेहरूको सिभिल अस्पतालमा उपचार भइरहेको उनको भनाइ छ ।

चैत २० देखि जारी शान्तिपूर्ण आन्दोलन २६ औं दिनमा आइपुग्दा अशान्त बनेको छ । नेपाली शिक्षक आन्दोलनमा वर्तमान आन्दोलनले रेकर्ड ब्रेक गर्दै अघि बढिरहेको छ ।

शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासंघको नेतृत्वमा भइरहेको आन्दोलनमा शिक्षकहरु आफ्नो मुद्दाबाट टसमस भएका छैनन् । 

यो बीच शिक्षा मन्त्रालयको नेतृत्व परिवर्तन देखि सर्वोच्च अदालतले समस्या समाधान गर्न सरकारलाई दिएको आदेस सम्मले आन्दोलनलाई उचाई दिएको देखिन्छ ।

आइतबार मातातीर्थ औँशी पर्व परेपनि शिक्षकहरु माइतीघर-बानेश्वर सडकमा नियमित प्रदर्सनमा थिए ।

प्रहरीले निषेधित क्षेत्र तोड्न खोजेको आरोपमा पानीको फोहोरा र लाठी प्रहार गर्दा शिक्षकहरु घाइते भएका हुन् । सो क्रममा प्राइम टिभीकी पत्रकार सविना कार्कीसमेत घाइते भएकी छन् ।

सरकारले आफै घुसपैठी पठाएर दमन गरेको शिक्षकहरुको आरोप छ । उनीहरूले घुसपैठ गरेको आरोपमा एक ब्यक्तिलाई नियन्त्रणमा समेत लिएका थिए ।