भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले बैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा नरोक्ने भएको छ । बोर्ड बैठकले परीक्षा नरोक्ने निर्णय गरेको हो ।
मंगलबार बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको जानकारी गराउदैँ अध्यक्ष डा महाश्रम शर्माले परीक्षा निर्धारित मितिमै हुने बताए । “कक्षा १२ को परीक्षा निर्धारित मितिमै सञ्चालन गर्ने र त्यसमा सहयोग गर्न सबै पक्षलाई अनुरोध गर्ने निर्णय भएको छ ।” अध्यक्ष डा शर्माले भने ।
नेपाल शिक्षक महासंघको नेतृत्वमा चैत २० देखि विद्यालयका शिक्षक तथा कर्मचारीहरु राजधानी केन्द्रीत सडक आन्दोलनमा रहेका छन् ।
यसबीच सोमबार शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा दिएपछि शिक्षा क्षेत्र तरङ्गित भएको छ ।
परीक्षा बोर्डले भने शिक्षकले असहयोग गरे निजामती कर्मचारी प्रयोग गरेर भएपनि परीक्षा गर्ने तयारी गरेको श्रोतले जनाएको छ ।
परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले द्विविधा नराखी परीक्षाको तयारी गर्न र सहभागि हुन परिक्षार्थीलाई सूचित गरेका छन् । ‘परीक्षा हुन्छ । निर्भीक भएर तयारी गर्न विद्यार्थीहरुलाई अनुरोध छ,’ परीक्षा नियन्त्रक शर्माले भने ।
वैशाख ११ गते बिहीबारदेखि सञ्चालन हुने परीक्षा २४ गते सकिने तालिका रहेको छ ।