काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सोमबार पदबाट राजीनामा दिएकी छन् । पछिल्लो समय शिक्षक आन्दोलनको चर्को दबाबका बीच उनको राजीनामा आएको हो।
सरकारले विद्यालय शिक्षा ऐन ल्याउनुपर्ने लगायत माग राख्दै नेपाल शिक्षक महासंघको नेतृत्वमा देशभरका शिक्षकहरूले राजधानी केन्द्रीत आन्दोलन गर्दै आएका छन् । चैत २० गतेदेखि काठमाडौं केन्द्रीत शिक्षकहरूको विरोध प्रदर्शन जारी छ ।
शिक्षक आन्दोलन साम्य पार्न सरकार प्रमुख रहेका प्रधानमन्त्री केपी शर्मा ओलीकै पार्टीबाट प्रतिनिधित्व गर्दै मन्त्री भएकी भट्टराईलाई प्रधानमन्त्रीले नै सहयोग नगरेकाले आन्दोलनरत पक्षबीचको संवादबाट ठोस समाधान ननिस्किएको झोकमा उनले राजीनामा दिएकी शिक्षा मन्त्रालय श्रोतले जनाएको छ । मन्त्री भट्टराईकै असक्षमताको कारण शिक्षक सडकमा आएका र मन्त्रीले आफू मातहतका शिक्षकलाई फकाउन नसकेको भन्दै प्रधानमन्त्री उनीप्रति असन्तुष्ट रहेका थिए ।
सांसद र मन्त्री हुनु अघि भट्टराई शिक्षण पेशामा सक्रिय थिइन् ।
उनको राजीनामा स्वीकृत भने भईसकेको छैन । राजीनामापछि शिक्षा मन्त्रालयको नयाँ नेतृत्व कसले सम्हाल्ने भन्नेबारेमा पनि अहिलेसम्म स्पष्ट भएको छैन।
सरकार र आन्दोलनरत शिक्षकबीचको असहमति समाधान हुने आशामा शिक्षकहरू अझै सडकमा छन् र भट्टराईको राजीनामापछि यस आन्दोलनले एउटा नयाँ मोड लिएको छ ।