सानोठिमी । राष्ट्रिय परीक्षा बोर्डले आन्दोलनरत शिक्षकहरूलाई SEE परीक्षाको उत्तरपुस्तिका परीक्षण र परीक्षा सञ्चालनमा सहयोग गर्न अपिल गरेको छ।
बोर्डका अध्यक्ष डा महाश्रम शर्माले एक अपिल जारी गर्दै लाखौं विद्यार्थीको भविष्य प्रभावित हुने भएकोले शिक्षकहरूलाई सहकार्यका लागि अनुरोध गरेका छन् ।
शिक्षकहरूको परीक्षामा मुख्य भूमिका रहेको उल्लेख गर्दै उत्तरपुस्तिका जाँच ढिलो हुँदा विद्यार्थीको भविष्यमा प्रत्यक्ष असर पर्ने प्रष्ट पारिएको छ।
देशभरका शिक्षकहरू आफ्ना माग पुरा गराउन दबाब स्वरूप आन्दोलनमा छन्। २० चैतदेखि काठमाडौंमा प्रदर्शनरत शिक्षकहरूले माग सुनुवाइ नभए परीक्षाको उत्तरपुस्तिका नजाँच्ने चेतावनी दिएका छन्। सो चेतावनीपछि बोर्डले सहयोगका लागि अपिल गर्नुपरेको हो ।
शिक्षकहरूको पेसागत सुरक्षासंगै विद्यार्थीको अवसर पनि संवेदनशील र महत्वपूर्ण विषय भएकोले नेपाल शिक्षक महासंघ र सम्पूर्ण शिक्षकहरूलाई उत्तर पुस्तिका परीक्षण र परीक्षा सञ्चालनमा सहयोग गर्न अनुरोध गर्ने निर्णय अनुसार अध्यक्ष डा शर्माले अपिल जारी गरेका उनको निजी सचिवालयका प्रकाश अवालेले जनाएका छन् ।
हेर्नुस् विज्ञप्ति