तीन जिल्लाका चार नगरपालिकाले अघि सारे ‘नगरकोट भ्रमण वर्ष-२०८२’

भक्तपुर । तीन जिल्लाका चार नगरपालिकाले नयाँ वर्ष २०८२ लाई नगरकोट भ्रमण वर्षको रुपमा अघि सारेका छन् । प्रसिद्ध पर्यटकीय गन्तब्यस्थल नगरकोटमा ११ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित भक्तपुरको चाँगुनारायण नगरपालिका, काठमाडौंको शंकरापुर नगरपालिका त्यसैगरी काभ्रेपलाञ्चोकका बनेपा र मण्डनदेउपुर नगरपालिकाले संयुक्तरुपमा ‘नगरकोट भ्रमण वर्ष-२०८२’ सञ्चालन गर्न लागेका हुन् ।

नयाँ वर्ष २०८२ को १ गते नगरकोटबाट राष्ट्रपति रामचन्द्र पौडेलले नगरकोट भ्रमण वर्ष-२०८२ शुभारम्भ गर्ने कार्यक्रम रहेको र वर्षैभरी यसलाई उत्सवकै रुपमा मनाइने शुक्रबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो ।

सूर्योदय हेर्न नगरकोट आउनपर्नेमा पर्यटक जानकार भएपनि नगरकोटमा सूर्योदय भन्दा पनि बढी मनमोहक र आकर्षक प्रकृति, संस्कृती र इतिहास भएको भ्रमण वर्ष मुल आयोजक समितिका संयोजक एवं मण्डन देउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाइवाले जानकारी दिए । ती कुराहरूलाई भ्रमण वर्षका अवसरमा ब्रान्डिङ गरिने र नगरकोटलाई छुटाउनै नहुने पर्यटकीय गन्तब्यस्थलकारुपमा बिकास गरिने उनले बताए ।

”भ्रमण वर्षमा नगरकोट सूर्योदयभन्दा बढीका लागि हो।”भन्ने नारा नै दिइएको छ र विभिन्न पर्यटकीय गतिविधिमा आकर्षक छुट र सुविधा समेत घोषणा गरिएको छ ।

भ्रमण वर्ष सफल पार्न मण्डनदेउपुर नगरपालिकाका नगर प्रमुख टोक बहादुर वाईबाको संयोजकत्वमा चार वटै नगरपालिकाका प्रमुख उपप्रमुखसहित प्रमुख प्रशासकीय अधिकृतहरु र नगरकोटसंग जोडिएका वडाध्यक्षहरु, जनप्रतिनिधिहरु त्यसैगरी नगरकोट नाल्दुम पर्यटन विकास समिति लगायत स्थानीय सामाजिक संघसंस्थाका प्रतिनिधि गरी १ हजार १ सय १ सदस्यीय मुल आयोजक समिति र विभिन्न ९ वटा उपसमितिहरु समेत गठन गरिएका चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले जनाएका छन् ।