मोबाइलको टर्च बालेर सरकार खोज्दै शिक्षक

काठमाडौ । चैत २० गतेदेखि काठमाडौंमा जारी सामुदायिक विद्यालयका शिक्षक कर्मचारीहरुको आन्दोलन थप सशक्त बन्दै गएको छ ।

हरेक दिन सरकारलाई खोजिरहेका उनीहरूले मंगलबार दिउँसै टर्च बालेर सरकार खोजेका छन् । मोबाइलको टर्च बालेर सरकार खोज्दै उनीहरूले बिरोध प्रदर्शन गरेका हुन् ।

नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सरकार हराएकाले दिउँसै टर्च बालेर खोज्नु परेको बताए ।

सोमबार शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै कालो मास्क लगाएर मौन प्रदर्शन गरेका थिए । यसअघि शिक्षकहरू कहिले सडकमै सुतेर त कहिले सिटी फुकेर सडकबाट सरकारलाई ध्यानाकर्षण गराउदै आएका छन् ।

शिक्षक नेता शंकर अधिकारीले शिक्षकको लागि यो वारपारको आन्दोलन भएको बताए । आफ्ना माग पूरा नहुन्जेल उधारो सम्झौता लिएर अब शिक्षक विद्यालय नफर्कने उनले बताएका छन् ।

नेपाल शिक्षक महासंघको नेतृत्वमा भएको आन्दोलनमा शिक्षकको मुख्य माग विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने र त्यसमार्फत यस अघि सरसरसंग भएका सम्झौता कार्यान्वयन हुनुपर्ने भन्ने रहेको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले उनीहरूको आन्दोलनमा सस्थागत ऐक्यबद्धता जनाएको छ । अध्यक्ष प्रचण्डले संसदको विशेष अधिवेशन बोलाएर भए पनि ऐन ल्याउन सकिने भनेपछि शिक्षकहरु उत्साहित छन् ।

teachers protest