काठमाडौ । नेपाल शिक्षक महासंघको नेतृत्वमा देशभरका सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीले राजधानीमा प्रदर्शन गरेका छन् । हजारौं शिक्षक कर्मचारीले आजबाट अनिश्चितकालीन सडक संघर्ष शुरु गरेका हुन् ।
शिक्षा ऐन नल्याएको र पटक पटक शिक्षक कर्मचारीसंग गरिएका सम्झौता सरकारले पालना नगरेका कारण सडक आन्दोलन गर्नुपरेको शिक्षक नेता शंकर अधिकारीले जानकारी दिए ।
शिक्षा ऐनमार्फत शिक्षक र कर्मचारीका समस्या समाधान गरिनुपर्ने मुख्य माग रहेको उनले बताए ।
नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सरकार शिक्षक प्रति उदार नहुँदा राजधानी केन्द्रीत आन्दोलन गर्न बाध्य भएको बताए ।
क्रमशः पालिका, जिल्ला र प्रदेश तहमा आन्दोलनका कार्यक्रम गरिसक्दा समेत माग सम्बोधन नभएपछि शिक्षकहरु आजदेखि राजधानी केन्द्रीत आन्दोलनमा सहभागी हुनुपरेको उनको भनाइ छ ।
अहिलेको आन्दोलन वारपारको आन्दोलन हुने र माग पूरा नभएसम्म शिक्षकले सडक नछाड्ने अध्यक्ष सुवेदीले स्पष्ट पारेका छन् ।
आन्दोलनरत शिक्षकको प्रशंसा
आन्दोलनको पहिलो दिन आज अपराह्न माइतीघरमा भेला भएर नयाँ बानेश्वर सम्म विरोध प्रदर्शनमा उत्रिएका शिक्षकहरुको काठमाडौ महानगरका मेयर बालेन साहले समेत प्रशंसा गरेका छन् ।
फोहोर नगरेको र कुनैपनि संरचना नभत्काई आफ्ना कुरा राखेको प्रति उनले सन्तोष ब्यक्त गरेका हुन् ।
सत्तारूढ दल नेकपा एमालेदेखि राप्रपा सम्म र त्यतिमात्र नभई पछिल्लो समय पूर्व राजा ज्ञानेन्द्रलाई नै आन्दोलनका क्रम्मा क्षती पुर्याएको भन्दै जरिवाना पत्र काटेको महानगरका मेयरले भनेका छन्, “हामीले जरिवाना खोजेको होइनौँ, चेतना खोजेको हो ।” शिक्षकले चेतना प्रदर्शन गरेको प्रति उनी दङ्ग देखिए ।
सार्वजनिक सम्पति पनि आफ्नै सम्पति हो भनेर त्यसलाई जोगाउने चेतनशील समाजको निर्माण गर्न खोजेको भन्दै उनले थपे, “यहीँ शिक्षा तपाईले आफ्नो विद्यार्थीहरूलाई पनि दिनुहोला ।”
महानगरका मेयर शाहले गाउँ गाउँमा सिहदरबार भन्ने त नारा मात्र भएको भन्दै शिक्षकलाई अधिकारको लागि काठमाडौ धाइरहनु नपरोस् भन्ने सुभेच्छा समेत प्रकट गरेका छन् ।
शिक्षा मन्त्रीको यस्तो प्रतिक्रिया
नेपाल शिक्षक महासंघको आन्दोलनबारे प्रतिक्रिया दिदै शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले भने आन्दोलनको मोडालिटी परिवर्तन गरी वार्ता र संवादबाट अघि बढ्न आन्दोलनरत शिक्षक र शिक्षक महासंघलाई आग्रह गरेकी छन् ।
शिक्षा ऐन संसदीय समितिमा दफावार छलफलको क्रममा रहेको र यसले शिक्षक कर्मचारीको माग सम्बोधन गर्ने उनले दावी गरेकी छन् ।
आन्दोलन नरोकिने उद्घोष
महासंघले भने आन्दोलनको बिकल्प नभएको बताउदै बिहीबारदेखि हरेक दिन बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म प्रदर्शन गर्ने बताएको छ ।
अनिश्चितकालीन सडक आन्दोलनका कार्यक्रम अझ सशक्त बनाउने महासंघको उद्घोष गरेको छ । सरकारले आफ्ना आवाज नसुने आन्दोलन चर्कने र राजधानीमा लाखौं शिक्षक उत्रने महासंघको चेतावनी छ ।