आज ‘अटिजम’ जागरुकता दिवस, के हो अटिजम ?

काठमाडौ । आज ‘अटिजम’ जागरुकता दिवस । विश्वभर अटिजम रोगप्रति सचेतना फैलाउने विविधि कार्यक्रमका साथ मनाइँदै छ ।

संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २००७ देखि यो दिवस मनाउन थालिएको हो ।

अटिजम भएका व्यक्तिको मानवअधिकार, मौलिक स्वतन्त्रताको उपभोग सुनिश्चित गर्न समाजका सबै वर्गले सघाउनुपर्ने मान्यताका साथ दिवस मनाउन थालिएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

दिगो विकासका लक्ष्य हासिल गर्न तथा स्वास्थ्यसम्बन्धी प्रतिबद्धता पूरा गर्न यो दिवस उपयोगी हुने संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टिनियो गुटेरेसले बताएका छन् ।

यो दिवसका अवसरमा जारी गरेकाे मन्तव्यमा उनले अटिजम भएकाहरूलाई स्वास्थ्य, शिक्षा, रोजगारीका अवसर दिनुपर्नेमा उनले जोड दिएका छन्।

के हो अटिजम
अटिजम मस्तिष्कको विकासका बेला हुने एक किसिमको विकार हो जसका कारण बालबालिकाले कुराकानीमा सुस्तता र सामाजिक ब्यवहारमा अरुची देखाउछन् ।

यस्ता बालबालिकाले गर्ने गतिविधि अस्वाभाविक देखिन्छ र उमेरको बिकास भएपनि उनीहरूको मस्तिष्क बिकास नहुँदा समान उमेरका बालबालिकाजस्तो स्वभाविक गतिविधि नगर्ने र घुममिल नहुने स्वभाव हुन्छ ।

अटिजमलाई स्पेक्ट्रम डिसअर्डर (ए.एस्. डी.) पनि भनिन्छ । र यो आफैमा रोग नभएर रोग जस्तो देखिने एउटा अवस्था मात्र हो।

सामन्यतया: स्वभावजन्य असामान्य ब्यवहार, सामाजिक अन्तर्घुलनमा कमी र कुराकानी वा सम्वादमा समस्या हुनु अटिजम पहिचानका तीन प्रमुख लक्षण हुन्।

विश्व स्वास्थ्य्य सङ्गठन (डब्लू.एच्.ओ.) का अनुसार प्रत्येक दस हजार बालबालिकामध्ये २१ जना सम्ममा अटिजम देखिन्छ।