काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एकजना पक्राउ परेका छन ।
पक्राउ पर्ने ब्यक्ति सुर्खेत वीरेन्द्रनगर नगरपालिका–९ घर भई काठमाडौं बुढानिकलण्ठ नगरपालिका–९ बस्ने ५१ वर्षीय प्रकाशबहादुर सिंह भएको प्रहरीको भनाइ छ । उनलाई बुधबार पक्राउ गरिएको प्रहरीले पुष्टि गरेको हो ।
सिंहले माल्टा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख ७० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको बताइएको छ । प्रहरीले उनलाई बुढानिकलण्ठ नगरपालिका–६ सरस्वती कोलोनीबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।