भक्तपुर । प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष एवं पुनर्जागरण साप्ताहिकका प्रकाशक सम्पादक रहेका वरिष्ठ पत्रकार माथवरसिंह बस्नेतको निधन भएको छ ।
७८ वर्षको उमेरमा ब्रेन ह्याम्ब्रेजका कारण उनको निधन भएको हो । गए राति भक्तपुरको सूर्यविनायक-८ सिपाडोलस्थित निजी निवासमा अचानक अस्वस्थ भएपछि उनलाई काठमाडौको अन्नपूर्ण न्युरो अस्पताल पुर्याइएको थियो । शनिबार बिहान १० बजे सम्बन्धित चिकित्सकले उनलाई मृत घोषित गरिदिएका पारिवारिक श्रोतले जनाएको छ ।
प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा बस्नेत लौह पुरुष स्व गणेशमान सिंहको सबैभन्दा नजिकका जानकार मानिन्छन् । नेपाली कांग्रेस भक्तपुरका नेता समेत रहेका बस्नेतको पार्थिव शरीरलाई अन्त्येष्टिका लागि पशुपति स्थित आर्यघाट पुर्याइएको छ ।
अपराह्न १ बजेसम्म अन्तिम श्रद्धाञ्जलीका लागि राखिने र त्यसपछि अन्तिम संस्कार गरिने नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सचिव सुशील बस्नेतले बताएका छन् ।
दिवङ्गत वरिष्ठ पत्रकार बस्नेतका श्रीमती, १ छोरा र ३ छोरी छन् ।