भक्तपुर । भक्तपुरको दधिकोटस्थित काठमाडौं स्कूल अफ ल (केएसएल)का सस्थापक एवं कार्यकारी निर्देशक डा. युवराज संग्रौलासहित अन्य अध्यापकहरु माथि लागेको यौन दुव्र्यवहार सम्बन्धी आरोपका विषयमा छानविन गर्न ब्यवस्थापन समितिले जाँचबुझ समिति गठन गरेको छ । केएसएलले पत्रकार सम्मेलन गर्दै सो जानकारी दिएको हो ।
समितिको संयोजकमा पूर्व जिल्ला न्यायाधिश रहेका डा. श्रीकृष्ण भट्टराई रहेका छन भने सदस्यहरुमा वरिष्ठ पत्रकार तीर्थ कोइराला र अधिवक्ता सिमा धामी रहेका बताइएको छ ।
समितिलाई काम शुरु भएको मितिले १५ दिनको प्रतिवेदन पेश गर्न समयावधी दिईएको छ । केएसएलले भट्टराई संयोजकत्वको समितिलाई ‘तटस्थ जाँचबुझ समिति’ भनेको छ ।
समितिको कार्यालय केएसएलमा नै रहने र सदस्य सचिव कलेजको आन्तरिक उजुरी तथा गुनासो समितिका संयोजक हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
केएसएलको पाँचौं वर्षमा अध्ययनरत एक छात्राले सामाजिक सञ्जाल इन्स्ट्रागाम मार्फत पूर्वमहान्यायाधिवक्ता समेत रहेका कजेजका कार्यकारी निर्देशक युवराज संग्रौलालगायतका प्राध्यापकहरुले कलेजमा छात्राहरूसँग यौनजन्य टिप्पणी र महिलाको शरीरबारे अपमानजनक शब्द प्रयोग गर्ने गरेको सार्वजनिक गरेकी थिइन् ।
उनले यौनिक तथा लैंगिक अल्पसंख्यक व्यक्तिहरूप्रति कलेज अनुदार रहेको आरोप समेत लगाएकी छन । गत फागुन २५ गते सामाजिक सञ्जालमा सार्वजनिक भिडियो सामग्रीमा ती छात्राले आफू माथि भएको दुव्र्यवहारको सम्बन्धमा कलेज प्रशासन समक्ष छानविन गर्न माग गर्दै निवेदन दिएको तर त्यसको कुनै सुनुवाई नभएको जनाएकी छन् ।
त्यसपछि केएसएलका अरु विद्यार्थीले पनि आफूहरूलाई त्यस्तै खालको दुव्र्यवहार भएको भन्दै सार्वजनिक गर्न थालेका छन् ।
शुक्रबार मात्रै यस घटनाबारे ऐक्यबद्धता जनाउँदै सन् २००५ यता केएसएलमा पढेका १ सय ३ जना पूर्वविद्यार्थीले आफ्नो परिचयसहित र ४७ जनाले परिचय गोप्य राख्ने सर्तमा हस्ताक्षरसहितको विज्ञप्ति जारी गरेका छन् ।
जसमा उनीहरूले हालै एक विद्यार्थीले कलेजभित्र हुने दुव्र्यवहार, यौन उत्पीडनबारे खुलेर आवाज उठाउने साहस देखाएको र त्यसमा आफूहरूको ऐक्यबद्धता भएको भनेका छन् ।
कलेजका कार्यकारी निर्देशक डा संग्रौलाले स्वतन्त्र छानविनलाई सहयोग गर्ने प्रतिवद्धता प्रकट गरे । आफूहरुलाई लागेको यौन दुव्र्यवहारको आरोपप्रति राज्यको निकायले अनुसन्धान गर्छ भने जुनसुकै समयमा तयार रहेको समेत उनले प्रष्ट पारे ।
उनले कुनै अमुक व्यक्तिले सामाजिक सञ्जालमा अमूर्तरूपमा लेखेको विषयलाई मिडियाले समाचारको स्रोत बनाएकोप्रति असन्तुष्टि पनि प्रकट गरे ।
साँच्चिकै पीडित भएको भए अनुसन्धान गर्ने राज्यको निकायमा जानुपर्ने र कानुनकै विद्यार्थीले सामाजिक सञ्जालको सहारा लिनु नपर्ने उनको भनाइ छ । कलेजमाथि मिडिया ट्रायल भएको र यसले राम्रा मान्छेहरू पीडित भएका उनले प्रतिक्रिया दिए ।
पत्रकार सम्मेलनमा स्थापनाको २५ वर्षको दौरान संस्थापक, सयौं प्राध्यापक र हजारौं विद्यार्थीलगायतको मेहनत र पसिनाले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा गर्विलो इतिहास बनाएको केएसएललाई नियोजित रुपमा एक जना व्यक्तिले लगाएको आरोपकै आधारमा एकतर्फी समाचार प्रकाशित नगरीदिन अनुरोध समेत गरिएको छ ।