आफ्नो स्थानीय परिवेश र धरातल भुल्नु नहुनेमा वडाध्यक्ष घिमिरेको जोड

ललितपुर । आफ्नो स्थानीय परिवेश र धरातल भुल्नु नहुने गोदावरी नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष सानुराजा घिमिरे(राज) को भनाइ छ ।

गोदावरी नगरपालिका वडा नं. ३ को आयोजनामा सम्पन्न महिला उद्यमशीलता विकास तालिमको समापन तथा प्रमाण पत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष घिमिरेले सानोसानो प्रयासबाट उद्याशीलता विकास गर्दै प्रगति हासिल हुने तर, आफ्नो सो परिवेश र धरातल भूल्न नहुने भनेका हुन् ।

वडाका सबै सक्षम ब्यक्तिले आफ्नो शुरूवाती दिन सम्झेर अन्यलाई सहयोग गर्ने हो भने समृद्ध वडा बन्न समय नलाग्ने उनले बताए । नहिडि गन्तब्यमा नपुगे जस्तै शुरु नगरी एकैपटक शैक्षिक, आर्थिक र ब्यवसायिक प्रगति नहुने बताउदै वडाध्यक्ष घिमिरेले वडाले देशकै नमुना वडा बन्ने गरी कामको शुरूवात गरेको पनि दावी गरे । 

शिक्षा, स्वास्थ्य, विकास निर्माण र उद्यमशीलतालाई जोडेर वडा अघि बढिरहेको उनले बताएका छन् ।

तीन दिनसम्म भएको तालिममा २५ जना महिलाहरु सहभागी थिए। तालिम पश्चात् वडा कार्यालयले सहभागीहरुलाई काभ्रेको बनेपामा महिलाहरुले सञ्चालन गरेको उद्योगको अवलोकन भ्रमण समेत गराएको थियो । सहभागीहरुले वडाको तालीमले स्वरोजगार बन्न सकिने बिश्वास ब्यक्त गरेका छन् ।

यसअघि वडा कार्यालयले मन्टेस्वरी, ब्युटीशियन, होम स्टे, अचार बनाउने सीप विकास लगायतका तालिम सञ्चालन गरेको थियो । हरेक वर्ष सीप विकास तालिम सञ्चालन गरेर महिलाहरुलाई उद्यमशील बनाउँदै आर्थिक सशक्तीकरणमा जोड दिने लक्ष्य राखेको वडाध्यक्ष घिमिरेले बताए ।