ललितपुर । गोदावरी नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष सानुराज (राज) घिमिरेले सबै समुदायको भाषा, कला र साहित्यको विकासमा लागिरहेको बताएका छन् ।
वडा नं. ३ कार्यालय र पौडोलका तीन वटै गुठीको संयुक्त आयोजनामा भएको बृहत सोनाम ल्होछार कार्यक्रममा मन्तव्य राख्दै वडा अध्यक्ष घिमिरेले जतिसुकै भौतिक विकास भएपछि मानव संशाधनका साथै भाषा, कला र साहित्यको विकास नभएसम्म विकासले सार्थकता नपाउनेमा आफू स्पष्ट रहेको बताए । “भौतिक विकास साथसाथै भाषा, कला, संस्कृति, भेषभुषा र साहित्य र,सभ्यताको विकासमा सदैव क्रियाशील छु ।” उनले भने ।
आफूलाई तामाङ समुदायको ल्होछार अत्यन्तै मन पर्ने खुलासा गर्दै उनले तामाङ समुदायको कला, भाषा, संस्कृतिको संरक्षणमा आफ्नो साथ रहिरहने प्रतिबद्धता पनि प्रकट गरे ।
वडाध्यक्ष घिमिरेले देशकै उत्कृष्ट वडा बनाउने अभियान अन्तर्गत लागि परेको बताउँदै निर्वाचनमा आफूले प्रतिवद्धता गरेका भौतिक विकासका पचासी प्रतिशत काम सम्पन्न भएको पनि जानकारी गराए ।
“ल्होछार मनाउँदै गर्दा तामाङ जातिको संस्कृतिलाई संरक्षण गर्ने मुख्य लक्ष्य मैले लिएको छु, हामीले हाम्रो हक अधिकार लिनेदिने काममा लाग्नुपर्छ, तपाईंहरुको हक अधिकारका लागि क्रियाशील हुँदै आएको छु ।” उनले भने ।