ललितपुर । ललितपुरमा लागू औषध दुर्ब्यशन न्युनीकरणमा पत्रकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गोदावरी नगरपालिका–३ सँगको सहकार्यमा नेपाल पत्रकार महासंघ ललितपुर शाखाले सो अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।
मंगलबार ललितपुरको महालक्ष्मीमा आयोजित कार्यक्रममा लागू औषधसम्बन्धी समाचार सम्प्रेषण कसरी गर्नेलगायत पत्रकारको दायित्वसम्बन्धी सञ्चारकर्मीहरुलाई प्रशिक्षण समेत दिइएको पत्रकार महासंघ ललितपुर अध्यक्ष रामहरि कार्कीले बताए ।
महासंघका निवर्तमान महासचिव रोशन पुरीले विज्ञका रुपमा प्रशिक्षण दिएका थिए । उनले लागू औषध तथा सुर्तिजन्य पदार्थ नियन्त्रणबारे सञ्चार माध्यमहरु चनाखो भएर समाचार सम्प्रेषण गर्नुपर्ने बताए ।
नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिल नेपालले पछिल्लो समय जारी गरेको पत्रकार आचारसंहिताले पनि लागू औषधको प्रयोग र कारोबारलाई निरुत्साहित गरेको पुरीले प्रष्ट पारे । पत्रकार महासंघको केन्द्रिय समितिले यसबारेमा पत्रकारलाई जिम्मेवार बनाउने गरी काम गर्नपर्मे उनले बताए ।
प्रस्तुतीकै क्रममा पुरीले नेपाल पत्रकार महासंघको इतिहास, विश्व परिवेश र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अवस्था लगायतका बारेमा सञ्चारकर्मीहरुलाई जानकारी नेपालमा पत्रकारितामा अनेकौं प्रश्न उठिरहेकाले महासंघ थप जिम्मेवार भएर कामबाटै जवाफ दिनसक्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा गोदावरी नगरपालिका–३ का वडाध्यक्ष सानुराजा घिमिरे पछिल्लो समय लागू औषधको दुर्ब्यसनबाट युवा वर्ग बढी प्रताडित भएको र उनीहरुलाई सचेतना फैलाउन सञ्चार माध्यमले प्रभावकारी भूमिका खेल्नुपर्ने बताए ।
आफ्नो वडामा लागू औषध नियन्त्रणको अभियान समेत चलाएको जानकारी गराउदै वडाध्यक्ष घिमिरेले यसको नियन्त्रणमा सञ्चार जगतको साथ र सहयोगको अपेक्षा गरे ।
‘लागू औषध दुर्ब्यसनको कारण,यसबाट परेको असर र जोगिने उपायबारे सञ्चारमाध्यमले प्राथमिकतापूर्वक समाचार पस्कनु पर्ने उनको भनाइ छ ।
तालिमले लागू औषध प्रयोग निरुत्साहित गर्ने समाचार संस्प्रेषण गर्न ललितपुरका पत्रकारलाई प्रेरित गर्ने र यसले लागू औषध नियन्त्रणमा मद्दत मिल्ने पत्रकार महासंघ ललितपुरका अध्यक्ष रामहरि कार्कीले बिश्वास व्यक्त गरे ।
सो अवसरमा पत्रकार महासंघ उपत्यका प्रदेशको अध्यक्ष टेनिस रोका, केन्द्रीय सदस्य सूर्य सुवेदी र अर्जुन पन्त त्यसैगरी काठमाडौं शाखाकी अध्यक्ष शोभा अर्याल र ललितपुर शाखाका पूर्व अध्यक्षहरुको समेत आतिथ्यता रहेको थियो ।
प्रशिक्षणमा ८५ बढी सञ्चारकर्मीहरुको सहभागीता रहेको शाखाका सचिव दिपक अर्यालले जानकारी दिए ।