पत्रकारिताका माध्यमबाट निराशा हटाउनपर्नेमा जोड

ललितपुर । ललितपुरमा आयोजित मिडिया साक्षरता कार्यक्रममा धारणा राख्ने बक्ता तथा प्रशिक्षकहरुले पत्रकारिताका माध्यमबाट हरेक क्षेत्रमा भएका निराशा हटाउनेगरी काम गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपाल पत्रकार महासंघ ललितपुरले बिहीवार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले पत्रकारहरुलाई गलत र नकारात्मक सन्देश फैल्याउने प्राथमिकताको उद्देश्य नलिन आग्रह गरे । पेशाप्रति प्रतिवद्ध भएर समाजप्रतिको जिम्मेवारीबोध गर्दै निर्धक्क साथ काम गर्नपर्ने उनको भनाइ छ ।

“वाक तथा अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने कार्य स्वीकार्य हुँदैन र पत्रकारितामा प्रश्न उठ्ने गरि काम पनि हुनु हुँदैन ।” उनले भने । अदृश्य लगानीका कारण केही समय मिडिया सञ्चालन हुने अनि निरन्तरता नपाउने अवस्था अन्त्य गर्नुपर्ने भन्दै उनले नकारात्मकता र एक पक्षको पक्षपोषक भएर पत्रकारिता नगर्न आग्रह गरे ।

उनले वर्तमान  समयमा आशावादी कुरालाई सञ्चार गर्नुपर्ने र विदेशमा रहेका नागरिकले आफ्नो देशको बारेमा राम्रो कुरा सुन्न समेत सुनाउन सक्नुपर्ने आवश्यकता औल्याए । 

कार्यक्रममा मिडिया कुराकानीका सम्पादक एवम् प्रशिक्षक रविराज बरालले पत्रकारितामा ए.आईको प्रयोग र चुनौती विषयमा प्रशिक्षण दिएका थिए ।

प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष अग्रज पत्रकार भवानी बरालले पत्रकारितामा सुचना प्रविधिको प्रभाव, पत्रकारको जिम्मेवारी, समाजप्रतिको दायित्व, प्रविधिको उपयोग, पक्षधरताका विषयमा प्रशिक्षण दिए ।

त्यसैगरी राजधानी दैनिकका पूर्व सम्पादक डिल्ली आर्चायले पत्रकारिताको आधारभुत अवधारणा विषयमा तालिम दिए ।

पत्रकार महासंघ ललितपुरका अध्यक्ष रामहरि कार्कीले गोदावरी नगरपालिकासंग निरन्तर सहकार्य हुने अपेक्षा राख्दै महासंघले नगरपालिकाको सञ्चार नीति  र विज्ञापन नीतिमा आवश्यक सहयोग र सुझाव दिएका थिए ।तालिममा करिब सय पत्रकार संलग्न रहेका सचिव दिपक अर्यालले जानकारी दिएका छन् ।