गोदावरी-३ मा अपाङ्गता भएका व्यक्तिहरूका लागि सहायक सामग्री बितरण

ललितपुर । गोदावरी नगरपालिका वडा नं. ३ मा अपाङ्गता भएका व्यक्तिहरूका आवश्यक सहायक सामग्री बितरण गरिएको छ ।

नेपाल अपाङ्गता महिला समाजको ३१ औ साधारण सभाका अवसरमा गोदावरी नगरपालिकाको साझेदारीमा ति सहायक सामग्री बितरण गरिएको हो ।

सहायक सामग्री बितरण कार्यक्रममा मन्तव्य राख्दै वडा अध्यक्ष सानुराज (राज) घिमिरेले कोही पनि मानिस इच्छाले अपाङ्ग नहुने भन्दै अपाङ्गता भएका ब्यक्तिलाई सबैले माया, प्रेम, स्नेह, अवसर र प्रेरणा दिनुपर्नेमा जोड दिए ।

 अपाङ्गता भएकाको कति पीडा हुन्छ भने भोग्नेलाई मात्र थाहा हुने भन्दै उनले उनीहरुका लागि क्षणिक दयाभाव पर्याप्त नहुने बताए । “हामीले निरन्तर सहयोग, समन्वय र सहकार्य गरेर काम गर्नुपर्छ।’ उनले भने ।

उनले अपाङ्गता भएका व्यक्तिहरु र अपाङ्गताका क्षेत्रमा काम गर्ने संस्थाहरुका लागि तीनै तहका सरकारले महत्वका साथ सहयोग गर्नपर्नेमा जोड दिए । अध्यक्ष घिमिरेले कसैको नजर नपुगेको ठाउँमा स्थानीय सरकारले ध्यान दिएर काम गर्ने दावी गरे । उनले आफ्नो वडामा भौतिक पूर्वाधारमा मात्र नभई सामाजिक क्षेत्रमा समेत सक्दो सहयोगको भावनाले बजेट ब्यवस्थापन गरेर काम भैरहेको र यसमा थप ध्यान दिने प्रतिवद्धता पनि प्रकट गरे ।