प्रचण्डले पक्राउ गर्नु नपर्ने भनेपछि राप्रपाका बम रिहा

हेटौंडा । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तस्वीर जलाएको आरोपमा पक्राउ परेका राप्रपाको युवा संगठनका नेता निराजन बम रिहा भएका छन् ।

लोकतन्त्रमा बिरोध गर्न पाइने भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले फोटो जलाउदैमा गिरफ्तार गर्नु उचित नहुने सार्वजनिक अभिव्यक्ति दिएपछि बम रिहा भएका हुन् । 

चितवनबाट आइतबार नै पक्राउ गरी बमलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर ल्याइएको थियो । साँझ बमलाई रिहा गरिएको मकवानपुर प्रहरीले बताएको हो । बम गणतन्त्र मूर्दावाद भन्दै प्रचण्डको तस्वीर जलाएको आरोपमा पक्राउ परेका थिए ।

राजतन्त्रको बिरोध गर्दा ज्यान लिने तत्कालीन राज्य सत्ता जस्तै निरंकुश र निर्मम हुनु नहुने भन्दै प्रचण्डले लोकतन्त्रमा सांकेतिक बिरोध गरेकै आधारमा पक्राउ, यातना र मुद्दा आवश्यक नभएको प्रतिक्रिया दिएका छन् ।