भक्तपुर । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली राजनीतिको तीन धारमध्ये अग्रगामी धारको नेतृत्व आफ्नो पार्टीले गरेको बताएका छन् । यथास्थितिवादी धारमा रहेका नेपाली काँग्रेस र नेकपा(एमाले) लगायतका दलहरु मौका मिल्नासाथ प्रतिगामी धारमा मिल्ने खतरा रहेको समेत उनले खुलासा गरे ।
शनिवार भक्तपुरको सूर्यविनायकस्थित योयो बैङ्क्वेटमा आयोजित पार्टीको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादी केन्द्रकै कारण राजसंस्था ढलेको र माओवादी कमजोर भए यसले टाउको उठाउन सक्ने उल्लेख गरे । त्यतिबेला यथास्थितिवादी धारका काँग्रेस एमाले लगायतका दलले पनि प्रतिगमनलाई साथ् दिनसक्ने खतरा कायम रहेको उनले बताए ।
त्यसैले, माओवादी केन्द्रलाई कमजोर हुने छुट नभएको उनको भनाइ छ ।नेपाली कांग्रेस र नेकपा एमाले भित्रका इमान्दार एवं सच्चा समाजवादी नेता कार्यकर्तालाई साथमा लिन सक्नुपर्नेमा पनि उनले जोड दिएका छन् ।
राजावादीहरुको आन्दोलनलाई अवसरको रुपमा लिनुपर्ने पनि उनले बताएका छन् । यथास्थितिवादी दलहरुले गणतन्त्रलाई बुर्जुवा गणतन्त्रमै सीमित गर्दा जनताले सोचेको परिवर्तन प्राप्त नभएको र मौकाको फाइदा उठाउँदै प्रतिगामीले त्यसलाई उल्ट्याउन प्रयास गरेका उल्लेख गर्दै अध्यक्ष प्रचण्डले प्रतिगामीलाई थप धक्का दिंदै जनगणतन्त्र र समाजवादमा पुग्न यो अवसर पनि हुनसक्ने उद्घोष गरे ।
”१२ बुँदे सम्झौता अघि नै चुनवाङ्ग बैठकबाट हामीले नेपाली गणतन्त्रबारे जुन विश्लेषण र निष्कर्ष निकालेका थियौं, अहिले घटनाक्रम हुबहु त्यसरी नै अघि बढेको छ ।” अध्यक्ष प्रचण्डले थप प्रष्ट पारे, ”हाम्रो लागि यो अनपेक्षित होइन, अवसर हो ।”
कतिपयले राजावादीको हर्कतले माओवादी डराएको भन्ने भाष्य बनाउन खोजेको भन्दै अध्यक्ष प्रचण्डले दलाल, बिचौलिया र बाहिरी शक्तिले बनाएको काँग्रेस एमालेको दुई तिहाइको सरकारसंग लडिरहेको माओवादी हार व्यहोरेका सीमित राजावादीसंग डराउनुपर्ने कारण नभएको दावी गरेका छन् ।
चैत १५ गते राजधानीमा गर्ने जनप्रदर्शन पनि पूर्व निर्धारित कार्यक्रम भएको र त्यसको समय मात्र केहि दिन अघि सारिएको प्रचण्डले प्रष्ट पारे ।
समाजवादी मोर्चाले चैत २४ मा तय गरेकाे जनप्रदर्शन गर्ने कार्यक्रम चैत १५ मा सारिएको यो एउटा संयोग मात्र हो । तथापी, वर्तमान यथास्थितिवादी सरकार र सल्बलाइरहेका प्रतिगामीलाई जनताको तागत देखाउन जरुरी भयो, हामी त्यो देखाइदिन्छौं ।” उनले भने ।
तराई मधेश जागरण अभियानमा झापा देखि रौतहटसम्म पुग्दा लाखौ जनताले देखाएको मायाले जनयुद्धको झल्को दिएको र आफू उत्साहित भएको उनको भनाइ छ ।
”माओवादी प्रति जनताको आकर्षण र लिडरशीपप्रति बढ्दो बिश्वासले पार्टीमा प्राण भरेको छ र अन्य दलहरुको साताे गएको छ ।” अध्यक्ष प्रचण्डले भने ।
आफू नेतृत्वको अघिल्लो सरकारले सुशासन र भ्रष्टाचार बिरुद्ध रेकर्ड बनाएको बताउँदै पूर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष प्रचण्डले त्यसकै कारण पार्टीप्रति जनलहर बढेको र वर्तमान सरकारको जनविरोधी र भ्रष्ट व्यवहारले जनतालाई अझै माओवादीको नजिक ल्याइदिएको विश्लेषण गर्दै अध्यक्ष प्रचण्डले जनताको घरमा गएर संगठन बनाउन आम कार्यकर्तालाई निर्देशन समेत दिए ।
”आन्दोलन गर्न भनेपछि रमाउने, संगठन गर्न भनेपछि अल्छी गर्ने नगर्नुस ।” उनले भने, ”म सत्तरी वर्षको उमेरमा जनताको गाउँघरसम्म पुगिरहेको छु,उहाँहरुसंगै खाने,बस्ने गरिरहेको छु र तपाइँहरुलाई पनि त्यस्तै गर्न आग्रह गर्दछु ।”
माओवादी जनतामा गएको मन नपराउनेहरुले माओवादी सरकारमा जाँदैछ भन्ने हौवा फैलाएका र त्यसमा सत्यता नभएको पनि अध्यक्ष प्रचण्डले प्रष्ट पारे ।
भक्तपुरको राजनीतिबारे टिप्पणी गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छें रोहितको प्वाँख पलाएको टिप्पणी गरे । राजसंस्थाबारे उनको सार्वजनिक भिडिओले नेमकिपाको राजनीति धरापमा परेको र भक्तपुरले अब बैकल्पिक नेता खोजेको अध्यक्ष प्रचण्डले बताए ।
”रोहितजीको प्वाँख पलायो, अब नेता हुने पालो तपाइँहरुकै हो, जनतालाई गोलबन्द गर्नुस् ।” उनले भने ।
भक्तपुरमा कम्युनिष्ट भनिएका नेमकिपा र नेकपा एमाले दुबैलाई जनताले हेरिसकेकाले जनताको वास्तवविक मित्र माओवादी केन्द्रको नजिक आउँन खोजिरहेका दावी गर्दै अध्यक्ष प्रचण्डले संगठन निर्माणमा ध्यान दिन नसके पुरानै दलहरुले जनतालाई झुक्याइरहनेतर्फ सचेतसमेत गराए ।
सो अवसरमा पार्टी सचिव एवं बागमती प्रदेश इन्चार्ज हितमान शाक्य, भक्तपुर जिल्ला ईन्चार्ज दिलिप प्रजापति भिष्म, केन्द्रीय सदस्यहरु देवेन्द्र श्रेष्ठ, डिपी ढकाल र रामप्रसाद सापकोटा दीपशिखा लगायतले समसामयिक राजनीतिबारे प्रशिक्षित गरेका थिए ।
जिल्ला संयोजक सुनिल गोठे बासुको अध्यक्षतामा सम्पन्न प्रशिक्षण कार्यक्रममा केन्द्रीय सदस्यहरु गोविन्द आचार्य, विष्णु सापकोटा जुगल, प्रतिमा श्रेष्ठ, उमा कपाली, इन्दिरा अधिकारी लगायतको समेत उपस्थिति रहेको सचिव जीवन तजले जानकारी गराए ।
कार्यक्रममा जिल्ला, नगर र वडा कार्यसमितिका साथै जनवर्गीय संगठनका पदाधिकारीहरु समेत सहभागी रहेका बताइएकाे छ ।