माओवादी केन्द्रको गोप्य बैठकले पार्टी एकता, प्रधानमन्त्री र एकीकृत पार्टीको अध्यक्षबारे गर्यो यस्तो निर्णय

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालयको विस्तारिक बैठक मंगलबार दिउँसो सम्पन्न भएको छ । पार्टी अध्यक्ष प्रचण्ड निवास खुमलटारमा भएको बैठकमा समसामयिक राजनीतिक परिस्थिति, पार्टी एकता र सरकार गठन लगायतका विषयमा छलफल भएको थियो ।

बैठकले आम जनताले अनुमोदन गरिसकेकाले पार्टी एकतालाई द्रुत गतिमा अगाडि बढाउने निर्णय भएको छ । ‘एमाले अध्यक्ष ओली कमरेडको स्वास्थ्यमा आएको समस्याले छलफल अलि लम्बिएको हो । पार्टी एकता प्रक्रिया अगाडि जान्छ । पार्टी एकता र सरकार गठनबारे कुनै समस्या छैन । तपार्इंहरुले एकताको आश्चर्यजनक नतिजा पाउनु हुनेछ’ बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिँदै प्रवक्ता पम्फा भुसालले भनिन् ।

भावी प्रधानमन्त्री र एमालेसँगको पार्टी एकतापछिको अधक्ष्यका बारेमा बैठकले निर्णय गरे पनि भुसालले त्यसबारेमा केहि बाेल्न चाहिनन् ।

बैठकले विभिन्न माओवादी धाराबाट आएका नेता कार्यकर्ताको संगठनात्मक व्यवस्थापन गर्न बरिष्ठ नेता रामबहादुर थापा ‘बादल’को नेतृत्वमा एक कार्यदल गठन गरेको छ । कार्यदलमा नेताहरु टोपबहादुर रायमाझी, गिरिराजमणि पोखरेल, मातृका यादव, शक्ति बस्नेत, लेखराज भट्ट, साबित्रीकुमार काफ्ले, देवेन्द्र पौडेल र सुनिल मानन्धर रहेका छन् ।

बैठकले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा भएको अन्तर्घातको छानविन गर्न नेता अमिक शेरचनको नेतृत्वमा छानविन समिति बनाएको छ । जसमा लिलामणि पोखरेल, गणेश शाह, हितराज पाण्डे र रेखा शर्मा सदस्य रहेका छन् ।

बैठकले राजनीतिक गतिरोध अन्त्य र नयाँ सरकार गठनका लागि पार्टीको तर्फबाट आवश्यक पहल लिने निर्णय पनि गरेको छ । मंगलबारको बैठकमा अध्यक्ष प्रचण्डले पार्टी एकता र सरकार गठनका विषयमा भइरहेको छलफल र गृहकार्यबारे बैठकलाई जानकारी गराएका थिए ।

बैठकमा दलहरुसँग कुनै छलफल नै नगरी सरकारले राष्ट्रिय सभा निर्वाचनको मिति तोक्न लागेकोबारे पनि छलफल भएको माओवादी नेता देवेन्द्र पौडेलले जानकारी दिए ।

Loading...