सिन्धुलीको दुधाैली नगरपालिकाका प्रमुख दिनेश अधिकारीबारे भ्रामक हल्ला फैलाइएकाे भन्दै नगर प्रमुखको सचिवालयले खण्डन गरेको छ ।
केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा नगर प्रमुख अधिकारी र प्रमुख प्रशासकीय अधिकृत बिच द्वन्द बढेका कारण नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बिहिन बनेको लगायतका आरोप लगाइएको तथा त्यो तथ्यहिन र भ्रामक भएको सचिवालयको भनाइ छ ।
प्रेस विज्ञप्ति जारी गर्दै सचिवालयले सामाजिक सञ्जालमा आएका समाचारहरु आधारहिन र भ्रामक भएको भनेको हो । सचिवालयले नगर कार्यपालिकाकाे आन्तरिक गाेपनियता र पदीय मर्यादामा समेत आँच आउने भ्रामक समाचार सम्प्रेषण गरिएको भन्दै उक्त समाचारको खण्डन गरेको छ ।
नगरपालिकाले २०७८ सालमा गरेका विभिन्न कामहरूलाई समेत विगतको नेतृत्वले गरेकाे भनेर आराेप लगाइनुले नियाेजित रुपमा नगरपालिका र प्रमुखमाथि आक्षेप लगाइएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
दुधाैली नगरपालिका शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा परिवर्तनका लागि याेजनाबद्ध रुपमा प्रतिवद्द भएर लागेकाे पनि स्पष्ट पारिएकाे छ । विगतका बेथितिहरुलाई न्यूनिकरण गर्दै नगरपालिका थिति, विधि र पद्धतिका साथ अघि बढेको विज्ञप्तिमा बताइएको छ ।
सचिवालयले नगर प्रमुख बिरुद्ध घोर पूर्वाग्रहसहित निकृष्ट दुस्प्रचार भएको दावी गर्दै त्यसमा बिश्वास नगर्न नगरबासीमा अपिल समेत गरेको छ ।