अखिल(क्रान्तिकारी) को महासचिवमा एक्ली महिला उम्मेदवार तिर्सना हमाल : इतिहास रच्ने दावी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को २३ औं राष्ट्रिय सम्मेलनमा ठूलो संख्यामा उम्मेदवारहरु मैदानमा उत्रिएका छन् । सकेसम्म कम उम्मेदवार बनाउने पार्टी नेताहरुको भरमग्दुर प्रयासका बाबजुत आकांक्षीहरुको संख्या ठूलो देखिएको छ ।

संगठनको अध्यक्ष पदमा ५ जना र महासचिव पदमा ८ जना उम्मेदवारहरुले मनोनयन दर्ता गरेका छन् । सबैभन्दा महत्वपूर्ण मानिएको यि दुई पदमा सबैको आखा पुगेको छ । कार्यकारी मानिने अध्यक्ष र महासचिव पद पार्टी नेताहरुको पनि चासोको विषय बनेको देखिन्छ ।

अध्यक्षमा ५ जना नै पुरुष उम्मेदवार रहेका छन् भने महासचिव पदका ८ जना उम्मेदवारमध्ये एक जना मात्र महिला उम्मेदवार भएकी छन् ।
महासचिवमा एक मात्र महिला उम्मेदवारका रुपमा नेपाली भाषाको उद्गम थलो मानिएको भएर पनि देशको सबैभन्दा पिछाडी पारिएको क्षेत्र मानिने कर्णालीको जुम्ला सिंजाकी तिर्सना हमाल रहेकी छन् ।

महिलाहरुलाई सधै उप र सहायक पदमा देख्न चाहने पुरुषवादी चिन्तनका विरुद्ध आफूले कार्यकारी भूमिका निभाउन महासचिवको उम्मेदवारी दिएको हमालले बताइन । उनले आफू संगठनको करिव ६० वर्षे इतिहास र यसअघिका २२ वटा कार्यकालमा कुनै पनि महिला महासचिव नभएको भन्दै आफूले यसपटक पहिलो इतिहास रच्ने दावी गरिन् । आफू सधै पार्टी हेडक्वार्टरका पक्षमा उभिएको र यसपटक पार्टी र संगठन आफूले आफूलाई उत्प्रेरित गरिरहेको उनको भनाइ छ । विद्यार्थी प्रतिनिधिहरुको प्रतिक्रिया वास आफू थप उत्साहित रहेको र अत्यधिक मतसहित विजयी हुने उनले बिश्वास व्यक्त गरिन।

महासचिव पदमा एकल महिला उम्मेदवार बनेकी हमालले यसपटक केही नेताहरुले अध्यक्षलाई विवादमा तान्न जवरजस्त टिम बनाउन लागेको दावी गरिन । उनले विगतदेखि कुनै गुटमा नलागी अध्यक्ष प्रचण्डको पक्षमा आँखा चिम्मेर लागेकाहरुलाई जवरजस्त पाखा लगाइएको र अध्यक्षका विरुद्ध गुटबन्दी गर्नेहरुका पक्षमा लागेकाहरुलाई निर्वाचनका मुखमा ल्याएर अध्यक्षका तर्फबाट आधिकारिक उम्मेदवार बनाउन लागेको प्रति चिन्ता व्यक्त गरिन । त्यसले एकातिर ठूलो टिम आक्रोशित बनेको र अध्यक्षलाइृ विवादित बनाउन खोजिएको उनको भनाई छ । साथै उनले आन्तरिक लोकतान्त्रिक अभ्यासलाई केही नेताहरुले जवरजस्त कुल्चन खोजेको भन्दै यदि नेताहरुले यसरी नै हस्तक्षेप गर्ने भए हिजोकै टिमको सोझै प्रस्ताव गरेर कार्यसमिति छान्ने विधिमा जानु सहि हुने बताइन । टिम टिमको अभ्यास गर्दा यसले गुटलाई जवरजस्त जन्माउने र बनेका गुटलाई मलजल गर्ने उनको गुनासो छ ।

सहिद परिवारकी सदस्य रहेकी हमाल यसअघिको कार्यकालमा उपमहासचिव थिइन । उनको सपरिवार जनयुद्धमा पूर्णकालिन भएर लागेका थिए भने उनका काका जनयुद्धमा सहिद भएका थिए ।

संगठनको कर्णाली प्रदेशको इन्चार्ज समेत रहेकी उनले मध्यपश्चिम विश्वविद्यालयबाट स्नात्तकोत्तर गरिसकेकी छन् । उमेर हद नलाग्दा सबै बरिष्ठ नेताहरु रहँदा नै महासचिव र खुल्ला उपाध्यक्षमा उम्मेदवारी दावी गर्दै तयारी गरेकी हमालले यसपटक आफू सबैभन्दा सिनियर भएकोले अध्यक्ष पाउनुपर्ने दावी गरेकी थिइन । तर, नेताहरुले उनलाई अध्यक्षमा उम्मेदवारी नदिन निकै जोडबल गरेका र बरु महासचिवमा उम्मेदवारी दिन भनेकाले महासचिवमा उम्मेदवारी दिएको उनले बताइन् । उनले यसअघि आफूले कर्णाली प्रदेशमा स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचनमा संगठनलाई पहिलो बनाएको र कर्णाली प्रदेशमा संगठनको बलियो आधार खडा गरेको दावी गरिन ।