उदाहरणीय निर्माण ब्यवसायी उद्धव दाहाल

अमेरिकी लेखक एवम् साहित्यकार डेल हर्बिस कार्नेगीले आफ्नो चर्चित पुस्तक ‘हाउ टु विन फ्रेन्ड्स एण्ड इन्फ्लुएन्स पिपल’ मा लेखेका छन्ः मानिस त्यही मात्र सफल हुन्छ, जो समय बुझेर त्यसको सदुपयोग गर्छ । समयले तह लगाउँछ बेईमानीलाई र बदमासलाई पनि ठेगान लगाउँछ ।

त्यसैगरी एउटा चिनियाँ उखानमा भनिएझैं सफल मानिसको पछाडि अर्को पनि सफल मानिस हुन्छ । काम गरेर सफलता पाउनेहरुलाई एउटा चिनियाँ उखानले गरेको यो टिप्पणीले बिरलै मानिसलाई इङ्गित गरिरहेको हुन्छ । समाजमा माननीय, मन्त्री र यस्ता ठूला मानिसहरु छन् जसले आम नागरिकमा स्याबासी पाउन अनेकौं हथकण्डाहरु अपनाउने गर्छन् । आफुले गर्दै नगरेको असल कामको जस सम्बन्धित सरोकारवाला भन्दै अगाबै आफ्ना चौकीदारहरु मार्फत सामाजिक सञ्जालमा लेख्न लगाउने गर्छन् ।
गर्दै नगरेको कामको जस लिएर आफू समाजमा प्रतिष्ठित कहलाउनेहरु प्रशस्तैछन् तर आफुले उदाहरणीय कामगरेकाहरु भने चुपचाप बसेका भेटिन्छन् । बागमती प्रदेशसभा सदस्य छत्र बम्जनले सडक र पुल निर्माणको ठेक्का लिएर अलपत्र छोडेका आधा दर्जन योजनाहरु राष्ट्रिय महत्वका समाचार बनेभने पर्साका पूर्व सांसद पप्पु यादवको नाममा रहेको पप्पु कन्ट्रक्सन र पूर्व मन्त्री बिक्रम पाण्डेको कालिका कन्ट्रक्सन मात्रै होइन नेपाली कांग्रेस बागमती प्रदेशसभा सदस्य इन्द्र बानियाँ हुन् वा प्रधानमन्त्री पुष्पकमल दाहालका घरवेटी भनेर चर्चामा आएका शैलुङ कन्ट्रक्सनका मालिक शारदा प्रसाद अधिकारीको फर्मले अलपत्र पारेको आयोजनाका समाचार निरन्तर प्राथमिकता पाउने गरेकाछन् ।
तर सिन्धुली जिल्लामा यस्ता ठेकेदार भेटिएका छन्, जसले तोकिएको समयभन्दा ९ महिना अगाडि नैं आफुले जिम्मा लिएको काम सम्पन्न गरेर हस्तान्तरण गरे । उदाहरणीय काम गर्ने निर्माण व्यवसायी हुन् उद्धवप्रसाद दाहाल । उनको सफलताको कथा निकै रोचक देखिन्छ । उनले जतिपनि निर्माणको काम गरेका छन् ती सबै काम तोकिएको समय भन्दा अगाबै सम्पन्न भएका छन् तर उनले आफ्नो सफलतालाई कहिल्यै प्रचार गरेनन् । एक लाख रुपैयाँ सापटी लिएर २० वर्ष अगाडिबाट निर्माण व्यवसाय थालेका दाहालको अहिले आधा दर्जन ठेक्काको काम भइरहेको छ र ती सबै कामहरु तोकिए भन्दा अगाडि नैं सम्पन्न हुने तयारीमा छ ।
सघन शहरी तथा भवन निर्माण आयोजना मन्थली रामेछापबाट बोलपत्र आब्हान गरि कुल १ करोड ३० लाख लागतमा स्लेट–सिर्जना–रामबोले जेभीले २०७९–१२–११ मा गरेको ठेक्का सम्झौता तोकिएको समय भन्दा ९ महिना अगाबै सम्पन्नगरी गएको माघ १२ गते कमलामाई नगरपालिका वडा नं. ५ लाई हस्तान्तरण गरेका थिए ।
संझौता बमोजिम निर्माण सम्पन्नगरी हस्ताक्षर गरिएको भवनमा बैठक हल सहित ७ वटा कोठा रहेका छन् । उक्त वडा कार्यालय भवन निर्माण सम्पन्न भएसँगै अब वडाको सेवा प्रवाह नयाँ भवनबाटै प्रारंभ गरिएका वडासचिव उज्वलकुमार थापाले बताए ।
जनप्रतिनिधी तथा स्थानीय नागरिकहरुको पहलमा जग्गाको ब्यवस्थापन गरेपछि भवन निर्माणका लागी केन्द्रिय सरकारले गत आर्थिक वर्षमा बजेट बिनियोजन गरेको थियो । भवन हस्तान्तरण कार्यक्रममा न कुनै तामझाम थियो नत कुनै औपचारिक कार्यक्रम । वडाध्यक्ष पुर्णबहादुर खड्का र कार्यालयका कर्मचारीलाई रोहवरमा राखेर निर्माण व्यवसायी दाहालले संझौता बमोजिम निर्माण सम्पन्न भएको भवनको चावी हस्तान्तरण गरेका थिए ।
कार्यालयको चाबी लिदै वडा अध्यक्ष खड्काले तोकिए भन्दा ९ महिना अगाबै भवन सम्पन्न गरेर उदारहणीय काम गरेको भन्दै निर्माण व्यवसायी दाहालको प्रशंसा गरेका थिए । समयवद्धसँगको संक्षिप्त कुराकानीमा खड्काले भनेः ‘देशैभर निर्माण व्यवसायीले लिएका ठेक्काहरु अलपत्र छाडेका समाचार आएका बेला सिन्धुलीका व्यवसायीले तोकिएभन्दा ९ महिना अगाडिनैं भवन हस्तान्तरण गरेर उदाहरणीय काम गरेकाछन्, म उहाँलाई सम्मान गर्छु ।’
सन्देश जनप्रियसँगको कुराकानीमा दाहाल भन्छन्ः काम गर्ने क्रममा कुनै बाधा व्यवधान भएन भने तोकिएको समय भन्दा अगाडिनैं काम सम्पन्न गर्न सकिन्छ । किनकी हामीले जिम्मा लिएका ठेक्काहरुको सबै काम तोकिएभन्दा अगाडि नैं गर्दै आएका छौं ।
सिन्धुली निर्माण व्यवसायी संघका अध्यक्ष तुलसी श्रेष्ठ आफ्नो सहकर्मी दाहालले जिम्मा लिएका सबै कामहरु समय अगाडि नैं सम्पन्न भएकोमा खुशी व्यक्त गर्छन् । उनी भन्छन्ः काम गर्छु भनेर ठेक्का लिने र तोकिएको समय सिमामा काम सम्पन्न नगर्नेहरु बढिरहेका बेला दाहालले संझौता गरेभन्दा धेरै अगाडि काम पुरा गर्न सकिन्छ भन्ने गतिलो सन्देश दिएका छन् । सबै निर्माण व्यवसायीले उहाँबाट पाठ सिक्नु पर्छ र आफुहरुमाथि लाग्ने गरेको आरोपबाट छुटकारा पाउनु पर्छ ।
सत्ता र शक्तिको आडमा ठेक्का हात पारेर अरबौं रकम हातपार्दै निर्माणको काम अलपत्र छोड्नेहरुको अग्र पक्तिंमा आउनेहरु सत्ता र राजनीतिकै छत्रछायाँमा जोडिएकाहरु नैं हुने गरेका छन्, उनीहरुकै कारण सिंगो निर्माण व्यवसायीहरु आलोचित बन्नु परेको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह भन्छन् ।

समयवद्ध र सन्देश जनप्रिय साप्ताहिकबाट साभार ।

Loading...