अन्नको सम्मान गर्ने पर्व ‘सकिमना पुन्ही’ सम्पन्न

भक्तपुर । अन्नको सम्मान गर्ने पर्वको रुपमा सकिमना पुन्ही सम्पन्न भएको छ । विशेषगरी नेवा समुदायले मनाउने यो पर्वको मूख्य आकर्षण भनेको अन्नको सम्मान गर्दै यसैको प्रयोग गरी बनाइने देवता र देवस्थल नै हो ।

नजिकको ईष्ट देवको मन्दिर आगाडी नसाबजी (मकै, भटमास, पिँडालु, गहुँलगायतका अन्नको समिश्रण) बाट सोही मन्दिरमा रहेका देवी देवता र मन्दिरको आकृति बनाउनु यस पर्वको विशेषताको रुपमा रहेको छ । सोमबार भक्तपुरका प्राय सबै मन्दिर आगाडी स्थानीयले श्रद्ध भक्तिपूर्वक नसाबजी बाट देवीदेवता बनाएर प्रदर्शन गर्ने र भजन किर्तन सकिएपछि त्यही नसाबजी लाई प्रसादको रुपमा ग्रहण गरेका छन् ।

ऋतु अनुसारको अन्न देवीदेवतालाई चढाएर मात्र खाने पर्वको रुपमा सकिमना पुन्हीलाई लिने गरिन्छ । अन्नकै भगवानको आकृती बनाएर अन्नप्रतिको उच्च सम्मान प्रकट गर्ने पर्वको रुपमा रहेको मकिमना पुन्हीले किसान र उत्पादनको महत्व उजागर गरेको महिला नेत्रीसमेत रहेकी श्रद्धालु सरिता श्रेष्ठ बताउछिन ।

यो पर्वको अवसरमा बनाइने अन्नको देवीदेवता हेर्न श्रद्धालुको मात्र नभई पर्यटकको पनि चासो रहने गरेको छ । ‘को भन्दा को कम’को शैलीमा स्थानीयबीच यस्तो कला प्रदर्शनको अघोषित प्रतिस्पर्धा नै हुने गरेको चाँगुनारायण उद्योग बाणिज्य संघका अध्यक्ष र श्रद्धालु श्रीभक्त कासिछ्वाले जानकारी गराएका छन् ।

नेपाल भाषामा सकिको अर्थ पिडालु र मानाको अर्थ उसिन्नु हो भने पुन्ही भनेको पूर्णिमा हो । यस अर्थमा सकिमना पुन्हीको अर्थ पिडालु उसिनेर खाने पूर्णिमाको रुपमा पनि परिचित छ । प्रत्येक वर्ष कातिक शुक्ल पूर्णिमाका दिन यो पर्व घरघरमा पिडालु उसिनेर खाई मनाउने प्रचलन रहेको स्थानीय बिकुलाल बताउछन ।

उसिनेको पिँडालुले शरीरलाई न्यानो गराउने पनि भएकोले यो पर्व बिज्ञान सम्मत भएको संस्कृतिविद ओम धौभडेल बताउछन । जाडो याममा शरीरलाई चिसोबाट बचाउन खेतमा त्यसै खेर गइरहेको पिँडालु उसिनेर खान यो पर्वले सन्देश दिएको उनले दावी गरेका छन् ।

Loading...