काँग्रेस प्रदेश २ सभापतिमा देउवा पक्षीय यादव निर्वाचित

निधिलाई गृह प्रदेशमै धक्का

काठमाडौं, पुस ९ । नेपाली काँग्रेस प्रदेश २ को प्रथम अधिवेशनबाट कृष्ण प्रसाद यादव निर्वाचित भएका छन् । सभापति शेरबहादुर देउवा पक्षका कृष्णले प्रदेश २ का भौतिक पुर्वाधार विकास मन्त्री रामसरोज यादव पराजित भएका हुन् ।

काँग्रेस प्रदेश २ का संसदीय दलका नेतासमेत रहेका रामसरोज यादवलाई नेता विमलेन्द्र निधि र शेखर कोइराला समूहको साथ थियो । तर कृष्णले १ सय ४१ मतान्तरले रामसरोजलाई पराजित गरे ।

कृष्णले ९ सय ९६ मत पाउँदा रामसरोजले ८ सय ५५ मत पाए । सभापतिमा कृष्ण निर्वाचित भएको औपचारिक घोषणा हुन् भने बाँकी छ । प्रथम प्रदेश अधिवेशनबाट प्रदेश कार्यसमिति चयनका लागि बिहीबार विहान ९ बजेर ४० मिनेट देखि साझ ८ बजे सम्म मतदान भएको थियो ।

१ हजार ९३८ मतदाता मध्ये १ हजार ८८१ मत खसेको थियो भने बदर मत संख्या ३० रहेको प्रदेश निर्वाचन समितिले जनाएको छ ।

निधिलाई गृह प्रदेशमै धक्का

महाधिवेशन सकिएपछि भएको प्रदेश २ को अधिवेशनलाई देउवा र निधि(कोइराला पक्षले प्रतिष्ठाको लडाइका रुपमा लिएका थिए । महाधिवेशन सकिँदा नसकिँदै दुबै पक्षका नेताहरु दलबलका साथ प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा आएका थिए ।

कृष्णलाई जिताउन देउवा पक्षको नेतृत्व गृहमन्त्री बालकृष्ण खाणले गरेका थिए भने रामसरोजलाई जिताउन निधि आफै मैदानमा खटेका थिए । निधिलाई कोइराला समूहको बलियो साथ थियो । कोइराला समूहका महामन्त्री गगन थापा पनि जनकपुर आएका थिए ।

कोइराला पक्षसँग मिलेर भएपनि निधिले प्रदेश २ आफ्नो पकडमा रहेको देखाउन चाहेका थिए । तर देउवा समूहसँग निधि कोइराला गठबन्धन पराजित भएको छ । यसले निधिलाई गृह प्रदेशमै धक्का लागेको छ ।

लामो समय देउवाको विश्वासपात्रका रुपका काम गरेका निधिले १४ औं महाधिवेशनमा विद्रोह गरेका थिए । देउवाविरुद्ध सभापतिको उम्मेदवार बनेका निधिले दोस्रो चरणमा भने देउवालाई नै सघाए ।

प्रदेश २ को अधिवेशन मा देउवा पक्षबाट साथ पाउने निधिको अपेक्षा पनि थियो । तर देउवा पक्षले निधि समूहलाई नेतृत्व दिन तयार भएन् । त्यसपछि निधि र कोइरालाबीच गठबन्धन बनेको थियो । कोइरालासँग गठबन्धन असफल भएको छ ।

Loading...