पाँच हजार लिएर आएकी नोरा फतेहीले कमाइन् एक वर्षमा ३६ करोड

काठमाडौं, पुस ९ । नोरा फतेही भारतमा अत्यन्त कम समयमा व्यापक चर्चामा आएकी हुन् । २ अर्ब रुपैयाँको सम्पत्ति शुद्धीकरणको मुद्दामा मुछिएपछि उनको थप चर्चा चुलिएको हो । सम्पत्ति शुद्धीकरणको मामिलामा पनि उनलाई सोधपुछका लागि बोलाइएको थियो ।

नोरा फतेहीको जन्म १९९२ को ६ फेबु्रअरीमा क्यानडामा भएको थियो । नोरा फतेही एक डान्सर, मोडल, अभिनेत्री, गायिका र निर्माता पनि हुन् । क्यानडामा मोडलिङ र डान्सिङ करियरको सुरुवात गरेपछि नोरा भारत छिरेकी हुन् । नोराको फिल्मी करियरको सुरुवात भारतमा सन् २०१५ मा भएको थियो । नोराले सबैभन्दा पहिले सन् २०१५ मा फिल्म ‘रोर’ बाट बलिउडमा डेब्यू गरेकी थिइन् । यसपछि उनी साउथ इन्डियन फिल्म ‘डबल बेरल ओक कायमकुलम कोचिनी’ मा देखा परिन् । नोरालाई भारतमा यती सजिलोसँग काम भने मिलेको थिएन । नोरालाई यसका लागि अत्यन्तै मिहिनेत गर्नु परेको थियो । हिन्दी भाषा नजानेको भन्दै नोराले धेरै कुरा सुन्नु पनि परेको थियो ।

नोराले एक अन्तरवार्तामा आफूले ५ हजार रुपैयाँ मात्रै लिएर भारत छिरेको बताएकी थिइन् । भारत आएपछि पनि काम पाउन त्यति सजिलो भएन । भारत आएको केही महिनापछि नोराको भेटघाट एक महिला कास्टिङ निर्देशकसँग भएको थियो ।

ती कास्टिङ निर्देशकले नोरालाई घर बोलाएर असाध्यै नराम्रो व्यवहार गरेको पनि बताएकी थिइन् । उनका अनुसार निर्देशकले भनेकी थिइन्, ‘हाम्रो फिल्मी उद्योग तिमीहरु जस्ता सिप नभएका मानिसका कारण असाध्यै समस्या झेल्न बाध्य भएको छ । त्यसपछि नोराले पनि भनिन्, ‘तिमी सिपालु छौ नि ।’ तर नोरालाई उनको कुराले साह्रै चित्त दुख्यो र उनले भारत छोडेर देश फर्किनेसमेत सोच बनाएको बताइन् ।

उनले सन् २०१५ मा बिग बोस–९ मा भाग लिएकी थिइन । त्यसपछि उनको नाम चर्चामा आउन थालेको हो । नोरा ८४ दिनसम्म शो मै रहेकी थिइन् । त्यहाँ उनको र प्रिन्स नरुलाको रोमान्टिक केमिस्ट्रि पनि हेर्न पाइएको थियो । शो पछि नोरालाई देशभरी पहिचान मिलेको थियो । त्यसपछि नोरा झलक दिखलाजा–९ मा देखिइन् । उनीद्वारा अभिनित गीत दिलबर–दिलबरले २४ घन्टाको अवधिमा २ करोड भ्युअर पाएको थियो । यसपछि उनले पछाडि फर्केर हेर्नुपरेन ।

उनको कमाइको कुरा गर्ने हो भने उनी एक गीतका लागि ४० लाखदेखि १ करोड भारुसम्म शुल्क लिने गर्छिन् । यसका अलावा ब्रान्डको विज्ञापनका लागि पनि लाखौ रकम लिने गर्छिन् । नोरा भारतमै सर्वाधिक बढी शुल्क लिने डान्सर मध्येकी एक हुन् । उनी सर्वाधिक आयकर तिर्ने नायिका मध्येकी एक पनि हुन् । नोरा हालको समयमा करोडौँको मालिकनी पनि हुन् । २०२० मा नोराको कुल सम्पत्ति १५ लाख डलर थियो । तर हाल आएर यसमा दुई गुणाले वृद्धि भएर ३० लाख डलर अर्थात ३६ करोड रुपैयाँ पुगेको छ ।

Loading...