ठूलो दूरसञ्चार कम्पनीको रुपमा उदाउँदै वर्ल्डलिंक, डिजिटल भुक्तानीमा पनि लगानी विस्तार

काठमाडौं, ५ पुस । इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले नयाँ क्षेत्रमा हात हालेको छ।

वर्ल्डलिंकले डिजिटल वालेट खल्तीमा आफ्नो ४० प्रतिशत स्वपुँजी स्वामित्व रहने गरी लगानी गरेको हो।

नेपालको भुक्तानी सेवाको बजार बढ्दै गर्दा प्रतिस्पर्धी सेवाप्रदायकसँग वर्ल्डलिंक जोडिएको हो।

इन्टरनेट सेवा प्रदान गरिरहेको कम्पनीले भुक्तानीको क्षेत्रमा हात हालेसँगै खल्तीमार्फत के काम गर्छ, त्यो सबैको कौतुहलको विषय बनेको छ।

पछिल्लो समय व्यावसायिक सेवाको दायरा वृद्धिका लागि वर्ल्डलिंकले आक्रामक नीति लिएको छ। त्यसकै लागि कम्पनीले बेलायतको सीडीसी कम्पनीबाट १ करोड २० लाख अमेरिकी डलर विदेशी लगानी भित्र्याइसकेको छ।

सीडीसी त्यही कम्पनी हो जसले हिमालयन बैंकमा समेत लगानी गर्न चाहेको छ। अहिले यो कम्पनीले ग्लोबल आईएमई बैंकलगायतलाई ऋण सहयोग समेत गरिरहेको छ।

बेलायती फाइनान्स कम्पनी ९सीडीसी०लाई आफ्नो साझेदार बनाएसँगै वर्ल्डलिंकले खल्तीमा लगानी गरेको हो।

‘ग्रामीण र दुर्गम क्षेत्रकेन्द्रित हुँदै छौँ’

नयाँ क्षेत्रमा गरिएको लगानीमार्फत अब कम्पनीले दुर्गम र ग्रामीण क्षेत्रमा वित्तीय पहुँच पु¥याउने लक्ष्य रहेको बताएको छ।

कम्पनीका अध्यक्ष दिलिप अग्रवालले भने, ‘हामी अब ग्रामीण र दुर्गम क्षेत्रकेन्द्रित हुँदै छौँ। यसमा वर्ल्डलिंक र खल्ती दुवै प्रयोगमा हुनेछौँ।’

वर्ल्डलिंकले अहिले नेपालको सहरी क्षेत्रसहित ग्रामीण तथा दुर्गम क्षेत्रमा इन्टरनेट सेवा विस्तार गरिरहेको छ।

खल्तीसँगको सहकार्यपछि कम्पनीले अबका दिनमा नेपालको सूचना प्रविधि क्षेत्रकै सुदृढीकरणका लागि काम गर्ने दाबी गरेको छ।

‘नेपालका धेरै क्षेत्रको पहुँच अहिले पनि सूचना प्रविधिमा पुगेको छैन’, अग्रवालले थपे, ‘ती क्षेत्रमा इन्टरनेट कनेक्टिभिटीसँगै वित्तीय पहुँच पु¥याउन र डिजिटल नेपालको लक्ष्य हासिलका लागि यो सहकार्यले मद्दत गर्छ।’

खल्तीसँगको सहकार्यमा नवीन काम गरिरहेका स्टार्टअपका लागि स्वदेशमै लगानी जुटाउन समेत सहकार्य गर्ने उनले बताए।

रेमिट्यान्समा आँखा

भुक्तानी सेवा प्रदायकमाझ आफूलाई प्रतिस्पर्धी कम्पनीका रुपमा अघि बढाइरहेको खल्तीमा वर्ल्डलिंकले निकै व्यावसायिक उचाइ लिने सम्भावना देखेको छ।

यसकारण कि खल्ती नेपालमा रेमिट्यान्स सेवा प्रदायकको रुपमा समेत नेपाल राष्ट्र बैंकबाट मान्यता पाएको कम्पनी हो।

सोही कारण रेमिट्यान्स क्षेत्रमा समेत काम गर्ने योजनाका साथ वर्ल्डलिंकले काम गर्न चाहेको छ।

२६ वर्षदेखि इन्टरनेट सेवा, धेरै कर तिर्नेमा टप १० मा

वर्ल्डलिंकले नेपालमा सेवा सञ्चालनको २६ वर्ष पूरा गरिसकेको छ। यो अवधिमा कम्पनी दूरसञ्चार क्षेत्रकै तेस्रो ठूलो कम्पनी बन्न सफल भएको छ।

हाल आक्रामक व्यवसाय विस्तारमा अघि बढेको कम्पनी सरकारलाई धेरै कर तिर्ने १० ठूलामध्ये एकमा समेत पर्छ।

इन्टरनेट सेवा प्रदायकतर्फ त वर्ल्डलिंक कम्युनिकेसन सबैभन्दा बढी कर तथा महसुल तिर्ने कम्पनी बनेको छ।

गत आर्थिक वर्षमा विभिन्न शीर्षकका करअन्तर्गत कम्पनीले सरकारलाई २ अर्ब ६८ करोड रुपैयाँ बुझाएको छ।

यसमा दूरसञ्चार सेवा शूल्कबापत ५३ करोड, मूल्यअभिवृद्धि कर ९भ्याट० बापत एक अर्ब २१ करोड, अन्य कर र महशुलबापत ८२ करोड ४२ लाख तथा रोयल्टीबापत ११ करोड ७२ लाख रुपैयाँ समावेश छ।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार नेपालमा खपत हुने कुल ब्यान्डविथमध्ये ४३ प्रतिशत हिस्सा वल्र्डलिंककै छ।

सन् १९९५ मा स्थापना भएको कम्पनीले त्यसको दुई वर्षपछि इमेल सेवा सुरु गरेको थियो। त्यसपछि सन् १९९९ मा भिस्याट सेवा सुरु गरेको थियो भने सन् २००० बाट काठमाडौंबाहिर इन्टरनेट सेवा सुरु गरेको थियो।

यसरी अघि बढेको कम्पनी अहिले दायरा विस्तार गरिरहेको छ। नेपालको इन्टरनेट प्रदायक कम्पनीहरुमा नयाँ प्रयोगका साथ अघि बढिरहेको छ।

५ वर्षमै खल्तीको छुट्टै पहिचान 

यता खल्ती ५ वर्षअघि मात्रै स्थापना भएको डिजिटल वालेट हो। यसले प्रयोगकर्तामाझ छुट्टै पहिचान बनाइसकेको छ।

नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवाप्रदायक र स्वदेशी रेमिट्यान्स सेवा सञ्चालनका लागि अनुमतिप्राप्त खल्ती डिजिटल वालेटले सन् २०१७ देखि सेवा सुरु गरेको थियो।

यसले फोन रिचार्ज गर्न, इन्टरनेट, टिभीको बिल तिर्न, इन्स्योरेन्सको प्रिमियम, सरकारी राजस्व भुक्तानी गर्नुका साथै आन्तरिक उडानको टिकट किन्न, अनलाइन सपिङ साइटमा भुक्तानी गर्न र अन्य थुप्रै सेवाका लागि खल्तीको उपयोग हुँदै आइरहेको छ।

यसरी खल्तीसँग वर्ल्डलिंक जोडिएपछि दुवै कम्पनी व्यावसायिक रुपमा अझै बलियो भएका छन्। यसले प्रतिस्पर्धी कम्पनीलाई व्यवसायमा कडा चुनौती दिन सक्नेछन्।

Loading...