गण्डकीमा कृष्णचन्द्र बने मुख्यमन्त्री, मुख्यमन्त्रीसहित ४ मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीसहित ४ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख सीतादेवी पौडेलले शनिबार साँझ उनीहरुलाई पद तथा गोपनीयताको शपथ खुवाएकी हुन्।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका कृष्णचन्द्र पोखरेल नेपालीले तत्कालका लागि सबै मन्त्रालयको कार्यभार आफैसँग राखेका छन्।

उनीसँगै मन्त्रीको शपथ लिएका नेपाली कांग्रेसका कुमार खड्का, माओवादी केन्द्रकी मधु अधिकारी गुरुङ, जनता समाजवादी पार्टीका हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङ भनिने दीपक मनाङेले विना विभागीयमन्त्रीको रुपमा शपथ लिएका छन्।

मुख्यमन्त्री पोखरेलले गठबन्धनका दलहरुको सहमतिमा मन्त्रालयको बाँडफाँड गरिने बताएका छन्। यद्यपि, स्रोतका अनुसार कांग्रेस सभासद कुमार खड्कालाई अर्थ मन्त्रालयको जिम्मेवारी दिने पक्कापक्की भएको छ।

केन्द्रमा महिला तथा बालबालिकामन्त्री भइसकेका खड्का प्रदेश सभामा सार्वजनिक लेखा समितिका सभापति थिए।

चैत २५ गते माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लियो। आफूविरुद्ध अविश्वासको प्रस्ताव आउने थाहा पाएपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले वैशाख १ गते राति १२ बजे एकाएक सदनको अधिवेशन अन्त्य गरिदिए।

वैशाख २ गते जनता समाजवादी पार्टीले पनि सरकारलाई दिएको समर्थन फिर्ता लियो।

कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले संसदको विशेष अधिवेशन माग गरे। लगत्तै अविश्वासको प्रस्ताव दर्ता गराए।

अविश्वासको प्रस्तावमा मतदान हुने वैशाख १५ गते नाटकीय घट्नाक्रम सुरु भयो। राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही गायव भए। सदन रोकियो। आफूविरुद्धको अविश्वासको प्रस्ताव फेल गराउने उद्देश्यले मुख्यमन्त्रीले वैशाख १६ गते स्वतन्त्र भनिएका दीपक मनाङेलाई युवा तथा खेलकुद मन्त्री बनाए।

विश्वासको मत लिनुभन्दा एकदिन अघि नै मुख्यमन्त्रीले पदबाट राजीनामा गरे। उनले राजीनामा गरेसँगै प्रदेश प्रमुख सीतादेवी पौडेलले दलहरुलाई संविधानको धारा १६८ को उपधारा २ अनुसारको सरकार बनाउन ७२ घण्टाको समय दिइन् तर त्यो समयावधिमा विपक्षी र सत्तातर्फ कसैले पनि बहुमत सिद्ध गर्न सकेनन्।

Loading...