संक्रमित संख्या धट्यो , अस्पतालको धेरै बेड खाली

 

काठमाडौँ। कोविद संक्रमितको संख्या बिस्तारै घतिरहदा अस्पतालहरुमा पनि बेड खाली हुन थालिएको छ। त्रिवि शिक्षण अस्पतालमा कोरोना संक्रमितको उपचार गर्न जनरल र एचडीयू गरी ३ सय ३९ बेड छुट्याइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अस्पतालमा शनिबार २ सय १३ बेड खाली छन् । ‘एक सातायता दिनमा १०–१२ जना मात्रै भर्ना भइरहेका छन्,’ अस्पतालका कोभिड फोकल पर्सन डा. सन्तकुमार दासले भने, ‘यसले संक्रमित हुनेको संख्या घट्दै गएको देखाउँछ ।’

पाटन अस्पतालमा पनि १ सय ६२ वटा जनरल बेड खाली छन् । यहाँ २ सय ७० जनरल र एचडीयू बेड संक्रमितका लागि छुट्याइएको थियो । अस्पतालमा १ सय ८ जना संक्रमित उपचाररत छन् । टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ४४ बेड खाली छन् । संक्रमण उच्च भएका बेला टेकु र त्रिवि शिक्षण अस्पताल बाहिर राखेर बिरामीको उपचार गर्नुपरेको थियो । भक्तपुर अस्पतालका ७३ बेडमध्ये २२ बेडमा मात्रै संक्रमितको उपचार भइरहेको छ ।

मन्त्रालयका अनुसार धुलिखेलसहित काठमाडौं उपत्यकाका २१ वटा सरकारी र निजी अस्पतालमा कोरोना संक्रमितका लागि २ हजार ७ सय ६९ जनरल र एचडीयू शय्या रहेकामा शनिबार २ बजेसम्म १ हजार १८ जना मात्रै उपचाररत छन् । २१ वटा अस्पतालमा १ हजार ७ सय ५१ शय्या खाली छन् । उपत्यकाका निजी र सामुदायिक अस्पतालमा संक्रमितको चाप घटे पनि आईसीयू पाउन भने अझै पनि गाह्रो छ ।

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या दिनमा २ हजारभन्दा बढी देखिन थालेपछि वैशाख १६ देखि लागू गरिएको निषेधाज्ञा अझै जारी छ । संक्रमण उच्च भएको वैशाख अन्तिम साता काठमाडौं उपत्यकामा दिनमा ४ हजारभन्दा बढी संक्रमित भेटिएका थिए । त्यो बेला संक्रमितलाई अस्पताल बाहिरै राखेरसमेत उपचार गर्नुपरेको थियो । काठमाडौं उपत्यकामा शनिबार सबैभन्दा कम ५ सय ९८ मा संक्रमण पुष्टि भएको छ । जुन देशभरि देखिएको कुल संक्रमितको १७ प्रतिशत हो । मन्त्रालयले शनिबार सार्वजनिक गरेको तथ्यांकमा उपत्यकाका आठवटा ल्याबको पीसीआर परीक्षणको विवरण भने समावेश गरेको छैन । ‘शनिबार भएकाले ल्याबले विवरण नपठाएको हुन सक्छ,’ मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले भने । उपत्यकाको अस्पतालमा भर्ना हुने कम हुनुले पनि संक्रमण दर घटेको प्रस्ट हुने उनले बताए । दोस्रो लहरको उच्च बिन्दुबाट संक्रमण घट्दै गए पनि जोखिम कायमै रहेको उनको भनाइ रहेको –यो खबर आजको कान्तिपुर दैनिकमा छ।

Loading...