काठमाडौं । मंगलबार अहिलेसम्मकै धेरै ५५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । वैशाख यता कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या निरन्तर उकालो लागेको छ ।
यसअघि आइतबार र सोमवार पनि धेरैको मृत्यु भएको थियो । आइतबार २७ जना र सोमबार ३७ जनाको मृत्यु भएको थियषे । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार बैशाख महिनाको २१ दिनमा मात्र ३५९ जनाको मृत्यु भएको छ । मन्त्रालयले नेपालमा कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ३४१७ पुगेको जनाएको छ ।
वैशाख पहिलो साता दैनिक मृत्यु हुनेको संख्या एक अंकमा थियो । तर ७ गते ११ जना र ८ गते १० जनाको मृत्यु भयो । १२ गते २८ जना संक्रमितको मृत्यु भएको थियो १६ गते ३५ जना र १९ गते २७ जनाले ज्यान गुमाएका थिए ।
वैशाख महिनामा मात्र ६९ हजार ४४१ जना नयाँ संक्रमित थपिएका छन् । दैनिक तीव्र रुपमा बढी रहेको संक्रमितमध्ये थुप्रैको स्वास्थ्य अवस्था गम्भीर देखिँदा मृतकको संख्या बढेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा। अनुप बाँस्तोला बताउँछन् । ‘संक्रमित बढेपछि मृतकको संख्या त बढ्ने भइहाल्यो’ डा. बाँस्तोला भन्छन्, ‘मृतकको संख्या तीव्र रुपमा बढ्नुको मुख्य कारण संक्रमित भएका मध्ये धेरै बिरामीको अवस्था गम्भीर देखिनु नै हो ।’
पछिल्लो समय सिकिस्त संक्रमितले समेत अस्पतालमा बेड नपाउँदा ज्यान गुमाउनुपर्ने अवस्था आएको उनी बताउँछन् । ‘संक्रमण पुष्टि भएका अधिकांश संक्रमित होम आइसोलेसनमा छन् । स्वास्थ्य अवस्था गम्भीर भएपछि मात्रै उनीहरु अस्पताल आउँछन्,’ डा. बाँस्तोला भन्छन्, ‘गाह्रो भएपछि मात्रै अस्पताल आउँदासमेत अस्पतालमा बेड नपाउने अवस्था छ । गम्भीर प्रकृतिका बिरामीको उपचारमा ढिलाइ हुन पुग्दा ज्यान गुमाउनु पर्ने अवस्था छ ।’
कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिंदा पनि परीक्षण नगरी घरमै बस्ने र निमोनिया भएर स्वास्थ्यमा समस्या भइसकेपछि मात्रै अस्पताल आउने गरेका कारण पनि उपचारमा ढिलाइ हुन पुग्दा मृत्युको संख्या बढेको उनी बताउँछन् । ‘परीक्षण नगरी धेरै संक्रमित घरमै बसिरहेका छन् । निमोनिया भएर स्वास्थ्य अवस्था गम्भीर भएपछि मात्रै अस्पताल आइपुग्छन्’ डा। बाँस्तोला भन्छन्, त्यतिबेलासम्म धेरै ढिलाइ भइसकेको हुन्छ र बचाउन गाह्रो हुन्छ ।’
ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख डा. बाबुराम मरासिनी पनि स्वास्थ्य अवस्था गम्भीर भएपछि मात्र अस्पताल पुग्नेहरुलाई बचाउन गाह्रो भएको बताउँछन् । ‘पीसीआर पोजेटिभ आएकाहरुको छातीको एक्सरे गर्न सक्ने हो भने निमोनिया भए नभएको थाहा पाइन्थ्यो’ भन्छन्, ‘तर त्यस्तो कुनै तयारी छैन ।’