कोरोनाबाट मृत्यु भएका श्रीमानको शव व्यवस्थापनमा एक महिलाले यस्तोसम्म सास्ती भोग्नुपर्यो

यतिबेला कोरोनाले विश्व त्राही त्राही छ । नेपालमा पनि कोरोनाको दोस्रो लहरको संक्रमण निकै डरलाग्दोगरी बढेको छ । कोरोना लागेर धेरै युवाहरुले ज्यान गुमाइरहेका छन् । हालत यतिसम्म छ कि आर्यघाटमा लास जलाउने ठाउ समेत पाइदैन । सोमबार मात्र पशुपति आर्यघाट यो स्तम्मभकार पुग्दा लास जलाउने ठाउँ सबै प्याक थियो । साथै धेरै लासहरु क्यू राखिएका थिए । लास जलाउने ठाउँ नपाएर केही लासहरु त बागमति बगरमा नै जलाउन थालिए । मंगलबारका धेरैजसो मिडियाले बागमति किनारमा लास जलाइएको फोटो, भिडियोसहितको समाचार सम्प्रेषण पनि गरे । यति भयानक रुपमा फैलिएको कोरोना महामारी नियन्त्रण गर्न सरकारको ध्यान भने त्यति गएको देखिदैन । सरकार आफ्ना राजनीतिक खिचातानीमै अल्झिरहेको छ ।

अस्पतालहरु कोरोना संक्रमितले भरिएका छन् । अक्सिजन मात्र होइन, अक्सिजन राख्ने सिलिन्डर नै नभएको समाचारले सबैलाई झस्काएको छ । केही अरु कारणले विरामी परियो भने पनि अस्पतालमा उपचार पाउने स्थिति छैन । सीमाबाट निर्वाध आवत जावत चलिरहेको छ । लकडाउन, निषेधाज्ञा केवल कमजोर नागरिकका लागि मात्र जारी गरिएको देखिन्छ । मजदुरी गरेर दुई छाक टार्ने मजदुर किसानहरुको मात्र काम रोकिएको छ । पहुँचवालाहरु निष्फीक्री कुदिरहेका छन् । आफ्नो कार्य गरिरहेका छन् । यहाँ ती धेरै विषय्का बारेमा चर्चा गर्न खोजेको होइन । यी कुरा सबैका अगाडि छर्लङ्ग नै छ । यहाँ त एक महिलाले कोरोनाले मृत्यु भएका आफ्ना श्रीमान गुमाएकी एक महिला कतिसम्म सास्ती पाउनु प¥यो भन्नेबारे प्रत्यक्षदर्शीका नाताले केही कुरा लेख्न खोजेको छु ।

बैशाख १९ गते पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको भेन्टिलेटरको ६ नम्बर बेडमा कोभिडका विरामी ३५ वर्षीय विकास नास्कर अनन्तको मृत्यु भयो । उनको घर भारतको पश्चिम बंगल डोम्जुर हो । उनी बैशाख ४ गते पाटन अस्पतालमा भर्ना भएका थिए। सुरुमा उनले भर्ना नै पाउन सकेनन । जब उनको अक्सीजन लेवल ८५ मा झ¥यो त्यसपति बल्ल उनी भर्ना भएको नास्करकी धर्मपत्नी सुवर्णा नास्कर बताउँछिन । स्वास्थ्य क्रमशः बिग्रिदै गएपछि आइसीयू हुँदै भेन्टिलेटरमा लगियो। नास्कर दम्पती दुई छोरीसहित काठमाडौँमा घुम्न आएका थिए । घुम्न आएको केही दिनपछि नै उनलाई ज्वरो आयो । उनी आफु बसेकै ठाउँमा औषधि खाएर बसे । ज्वरो सुधार नभएपछि उनले कोरोना जाँच गराए । उनमा कोरोना पोजेटिभ देखियो । उनले सुरुमा पाटन अस्पतालकै सुझावमा कोठामै अक्सिजन लिए । तर, उनको स्वास्थ्य अवस्था झन खराब भयो । स्वास्थ्य सुधार नभएपछि उनी अस्पताल गए। परदेशमा पत्नी सुवर्णाले १५ दिनसम्म दैनिक १०, १२ हजारको दरले औषधि खर्च गरिन । तर, ३५ वर्षका नास्कर यस संसारबाटै बिदा भए। 

पाटन अस्पतालका कर्मचारीले दिएको पीडा

आइतबार १९ गते साँझ ५ः२५ बजे सुवर्णालाई उनका श्रीमानको मृत्यु भएको खबर आयो । भारतबाट नेपाल घुम्न आएकी एक्ली महिलाका लागि यो खबर निकै अपत्यारिलो थियो । साथमा २ छोरी ल्याएकी सुवर्णा निकै पीडामा परिन । नास्कर परिवारलाई मैले अरु कसैको मध्यमबाट चिनेको थिए। १९ गते आइतबार दिउसो म आफै नास्करलाई केही सहयोग गर्न पाटन अस्पताल पुगेको थिए । मेडिकल काउन्सिलमा नास्करको बारेका फोकल पर्सन सिनियर डा. रवि शाक्यसँग सम्पर्क गरे। उनको अवस्थाका बारेमा जानकारी लिए । औषधि, उपचारमा के गर्दा हुन्छ ? भन्ने बारेमा जानकारी लिए । मैले नास्करको सबै कुरा बताएपछि डा. शाक्यले अतिरिक्त उपचार दिने आश्वासन दिए । तर, विडम्वना त्यही दिन साँझ उनको मृत्युको खबर आयो । त्यही दिन राती म पुनः सुवर्णालार्इ लिएर शव बुझ्नका लागि पाटन अस्पताल पुगे । अस्पतालको कोभिड वार्डमा रहेका कर्मचारीलाई हामीले फोन ग¥यौ । फोन उठेंन । धेरै पटक फोन गरियो तर फोन रिसिभ नै भएन । कोभिड वार्ड बाहिर झण्डै एक घन्टा बितायौ । बल्ल बल्ल एक कर्मचारीसँग कुरा भयो । उनले “आज केही हुन्न, भोलि १० बजेपछि आउनु” भन्ने जवाफ दिए।

अर्को दिन सोमबार १० बजे उनकी दुई छोरीलाई लिएर म पुनः पाटन अस्पताल पुगेँ । अस्पतालका कर्मचारीलाई मृतकका परिवार आइसकेको जानकारी गराए । अस्पतालका कर्मचारीले खाता पल्टाए र पर्खिन भने। अब भने प्रक्रिया अगाडि बढ्ला भन्ने मलाई लाग्यो ।

१ः३० घण्टा पछि एउटा खाता पल्टाएर एउटा फारम भर्न लगाइयो । त्यो कुरा ‘सीसीएमसीलाई इमेल गरिदिन्छु, तपाईहरु तल प्रहरी हेल्प डेस्कमा जानुस’ भनियो । हामी त्यतै गयौ । अस्पतालको बाहिर पेटीमा २ः३० घण्टा कु¥यौ । तर, कुनै खबर आएन । त्यसपछि हेल्प डेस्कमा सम्पर्क ग¥यौ । हेल्प डेस्कले भन्यो “खै उताबाट केही खबर आएकै छैन । तपाईहरु नै १०५० मा फोन गर्नुस” भनियो । १०४० ‘सीसीएमसी’ को नम्बर रहेछ । त्यसमा फोन गर्दा बल्ल बल्ल फोन उठ्यो । मैले सबै कुरा भने ।

उताबाट ‘तपाइको मेल नै आएको छैन ’ भन्ने जवाफ आयो । त्यसपछि म फेरि पहिलेकै ठाउँमा पुगे । त्यहाँ बस्ने कर्मचारीलाई त्यसबारे जानकारी गराए । त्यहाँ बस्ने कर्मचारीले भनिन, ‘ला गएको रहेनछ । अब गयो ल, जानुस ।’ म भने दङ्ग परे । यतिसम्म लापरवाही । करिव ३ घन्टासम्म्म कुराएपछि ला भन्ने भन्ने जवाफ दिने । उनीहरुमा मनावीयता भन्ने पटक्कै देखिएन । मानौ कि उनीहरु असन बजारका व्यस्त व्यापारी हुन । उनीहरुलाई जीवन र मृत्यु सामान्य कुरा जस्तो भएको मैले देखे।

मैले फेरि सीसीएमसीमा फोन गरे । अब भने ईमेल पुगेछ । उताबाट कर्मचारीले भन्यो ‘तपाइको मानिस त भारतीय रहेछ, तपाई भारतीय दुतावास जानुस, शव व्यवस्थापन गरिदिन अनुरोध पत्र लेखाउनुस । त्यो पत्र परराष्ट्र मन्त्रलायमा दिनुस । अनि परराष्ट्र मन्त्रालयबाट हामीलाई मेल गराउनुस ।’ भनियो । म मानवीय नाताले अप्ठ्यारोमा परेकी सुवर्णा र उनका २ छोरीहरुलाई सघाउन मात्र पाटन गएको थिए । सुवर्णालाई केही पनि थाहा थिएन । त्यसमा पनि उनी २ छोरीहरुसँग थिइन । श्रीमान बितेको पीडा त छँदै छ । अब के गर्नु ।

दुतावासले आफ्नो नागरिकलाई गरेको रवैया

घडीमा २ः२० बजिसकेको थियो । मैले सुवर्णालाई लिएर दुतावासको ढोकामा पु¥याए । दुतावासको गेट बाहिर पुगेपछि गेटको सानो प्वालबाट भित्र हेरे । भित्रको कर्मचारीले ठाडो पाराले सोध्यो । ‘क्या काम हे’ सुवर्णाले डेथ सर्टिफिकेट देखाउँदै आफ्नै भाषाले भनिन भित्र कर्मचारीले जवाफमा ‘ बाहर फोन नम्बर हे उधर फोन करो’ भन्यो ।

हामीले फोन गर्यौं । तर, त्यो नम्बरमा फोन उठेन । धेरैचोटी प्रयास गर्दा गर्दा बल्ल उठ्यो । मैले नेपालीमा सबै कुरा भने । उताबाट केहीबेर कुर्न भनियो । त्यतिन्जेलसम्म आफ्नो नागरिकको यस्तो हालत भएको थाहा पाए पनि भित्रका कर्मचारीले कुनै चासो दिएनन् । गेटमा रहेको नेपाल प्रहरीका जवानलाई मद्दत गरिदिन भने । उनले खाजा समय भएका कारण ४५ मिनेट लाग्ने जानकारी दिए । त्यसपछि मैले चिनेका एक अधिकारीलाई सम्पर्क गरे। उनलाई सबै कुरा जानकारी गराएँ । उनले त्यो व्यवहारप्रति खेद व्यक्त गर्दै तत्काल सहजीकरण गरिदिने बच्चन दिए । सायद त्यो कुरा सम्बन्धित च्यानलमा पुगेछ । केही मिनेटमा नै फोन आयो । सम्मानजनक व्यवहारमा निवेदन र अन्य कागजात ह्वाट्सएपमा पठाउन भनियो। करीब १ घण्टा कुरेपछि बल्ल ३ः१५ मा एक अधिकारीले परराष्ट्रको लागि लेखिएको चिठ्ठी हामीलाई दिए।

परराष्ट्रका कर्मचारीले देखाएको सदासयता

हामी त्यहाँबाट निषेधाज्ञाका बाबजुत सबै कुरा झेल्दै र छिचोल्दै दुतावासको पत्र लिएर परराष्ट्र मन्त्रालय पुग्यौ । कोभिड संक्रमण र निषेधाज्ञाका कारण कर्मचारी निकै न्यून थिए । भारतीय दुतावासले तयार परेको पत्र लिएर कोठा कोठा डुल्दै जाँदा बल्ल एउटा झ्यालभित्र रहेकी महिला कर्मचारीलाई भेट्यौ । हामीले महिला कमर्मचारीलाई सीसीएमसीलाई चिट्ठी लेखिदिन अनुरोध ग¥यौ । उनी राहदानी विभागकी कर्मचारी रहिछन् । आफू अर्कै विभागको कर्मचारी भए पनि उनले एक महिलालाई परेको बज्रपात भित्रि मनेदेखि सदभाव देखाइन । उनले बाहिर गएका कर्मचारीलाइ तत्काल बोलाएर आफु अगाडि बसेरै पत्र तयार गर्न लगाईन । सुवर्णालाई उनले क्यान्टिनमा लगेर केहि खुवाउन लागिन । दिउसो ३ः३६ मा पत्र तयार भयो । सीसीएमसीलाई परराष्ट्रबाट मेल गरियो । त्यो पत्रको एकप्रति हामीलाई दिइयो। त्यो कुरा सीसीएमसीलाई जानकारी दियौ र हामी पाटन अस्पताल लाग्यौ ।

हेल्पडेस्कका प्रहरीको सहयोग

अस्पताल पुगेर हेल्पडेस्कमा सम्पर्क गर्यौ । त्यहाँ रहेका प्रहरी कर्मचारीलाई हामीले दिनभरि भोगेका वृतान्त सुनायौ । उनले तत्काल सेललाई जानकारी दिए। मृतक नास्करको मोबाइल पुनः सुरुको स्थानमा पुग्यौ । तर, रवैया उस्तै ४ः१३ मा मोवाइल फिर्ता लिन ताकेता गर्यौ । तर, तेस्रो तल्लाबाट, दोश्रो, फेरि तेश्रो गर्दा गर्दै गार्डको हातबाट ५ः३५ मा बल्ल बल्ल प्राप्त ग¥यौ । ५ः३९ मा सेनाको शववाहन आएको जानकारी ती प्रहरीले दिए । शववाहन टोलीमा खटिएका नेपाली सेनाका अधिकारीले हामीले पाएको कष्टलाई ध्यानमा राखेर आजै व्यवस्थापन गरिदिनुपर्ने भएकोले आफुहरु फर्केर आएको सुनाए।

 

सुवर्णा र दुई बालिकालाई लिएर म पशुपति आर्यघाट पुगें । त्यहाँ पहिल्यै २ शव विद्युत शवदाह गृह अगाडि थिए । भर्खरै ल्याइएका ३ सेनाको शव वाहनबाट निकालिदै थिए। मृतक आफन्तजनको रुवावासीले माहोल पूरै पीडादायी थियो । आफ्नो आफन्तको शव कुन हो ? भन्नेमा मृतकका आफन्तजन अल्मलिएका थिए। अन्ततः सुवर्णा र ६ वर्षीय १२ वर्षीय दुई छोरीलाई हिन्दु धर्म अनुसार बागमती नदीमा लागि फूल, माला, अक्षेता, अबीर हातमा दिएर समवेदना दिइ, गंगामा समाहित गराए । त्यसपछि हामी वासस्थानतिर लागे ।