नेपाल टेलिकमको एफटीटीएच इन्टरनेट ४७ जिल्लामा पुग्यो, यस्तो छ सातै प्रदेशको तथ्यांक

काठमाडौं, चैत । नेपालमा पछिल्लो समय इन्टरनेट विस्तारमा तीव्र प्रतिस्पर्धा भइरहेको बेला नेपाल टेलिकमले देशैभर आक्रामक रुपमा फाइबर टु दि होम (एफटीटीएच)मा आधारित इन्टरनेट सेवा विस्तार गरेको छ।

एफटीटीएचले पाचौँ पुस्ताको मोबाइल इन्टरनेट (फाइभजी)को पूर्वाधारमा पनि काम गर्ने भएकाले नेपाल टेलिकमले भविष्य समेत हेरेर लगानी बढाएको जनाएको छ।

टेलिकमले तामाका तारबाट चलेको पुरानो प्रविधिलाई प्रतिस्थापन गर्दै फाइबर टु दि होम (एफटीटीएच) प्रविधिको विकास गरिरहेको छ। जुन प्रविधिबाट तीनवटै सेवाहरु भ्वाइस, इन्टरनेट र टिभी सेवा दिन सकिन्छ।

नेपाल टेलिकमका प्रबन्धनिर्देशक डिल्ली अधिकारीले नेपाल टेलिकमको भविष्यको एफटीटीएचमा लगानी गर्न आवश्यक रहेको बताए। यसले भविष्यमा नेपालमा आउने फाइभजी प्रविधिलाई समेत सहयोग गर्ने भएकाले यो महत्वपूर्ण परियोजनाको रुपमा अगाडि बढाइएको टेलिकमले जनाएको छ।

‘यो नेपाल टेलिकमको भविष्यको लागि गरिएको लगानी हो’, अधिकारीले भने, ‘एक दुई वर्षमा प्रतिफल लिनभन्दा पनि २० वर्षसम्मको लक्ष्य लिएर यो प्रविधिलाई अगाडि बढाएका हौँ।’

एफटीटीएच सेवामा ग्राहकबाट राम्रो प्रतिक्रिया आइरहेको र यसका विकास पनि तीव्र भइरहेको उनले बताए।

टेलिकमले फागुनको अन्तिमसम्म ४७ जिल्ला आफ्नो सेवा विस्तार गरिसकेको छ। नेपाल टेलिकमका एफटीटीएच ग्राहक फागुनको अन्तसम्म २ लाख ३ हजार १ सय १० जना पुगेका छन्।

नेपाल दूरसञ्चार प्राधिकरणले एक जना ग्राहक बराबर ४.८८ प्रयोगकर्ता मान्ने गरेको छ। यस हिसाबले हेर्दा नेपाल टेलिकमका एफटीटीएच फागुनसम्मका ग्राहक ९ लाख ९१ हजार १ सय ७६ जना हुन आउँछन्।

‘ग्राहकबाट पाएको प्रतिक्रियाबाट हामी उत्साहित छौँ’, शुक्रबार एफटीटीएचको बारेमा अन्तर्क्रिया कार्यक्रममा बोल्दै प्रबन्धनिर्देशक अधिकारीले भने, ‘दैनिक पाँच छ सयका दरले नयाँ ग्राहक बनिरहेका छन्।’

अबको २० देखि ५० वर्षसम्म यस फाइबरको टिकाउन हुने भएकाले यसले लामो समयसम्म प्रतिफल दिन सक्नेछ।

एउटा फाइबर तारबाट ६४ देखि १२८ जनालाई सेवा दिन सकिनेछ। अहिले प्रयोग भइरहेको अवस्थामा इन्टरनेट स्पिड ६० एमबीपीएससम्म रहेको छ भने यसलाई १६० एमबीपीएससम्म अपग्रेड गर्न सकिन्छ।

कहाँ कति ग्राहक?

नेपाल टेलिकमले सातै प्रदेशका ४७ जिल्लामा एफटीटीएच पु¥याइसकेको छ। यसलाई ७७ जिल्लाकै सबै ठाउँमा पु¥याउने योजनासहित तीव्ररुपमा काम भइरहेको टेलिकमले जनाएको छ।

फागुनको अन्तसम्म २ लाख ३ हजार १ सय १० जना पुगेका ग्राहकमध्ये सबैभन्दा धेरै वाग्मती प्रदेश र सबैभन्दा कम कर्णाली प्रदेशमा छन्। सात प्रदेशमा सबैभन्दा धेरै वाग्मतीमा १ लाख ३ हजार ४ सय ३३ जना रहेका छन्। त्यसपछि लुम्बिनीमा २६ हजार ९ सय ४७ जना र गण्डकी प्रदेशमा २५ हजार २३ जना रहेका छन्।

प्रदेश १ मा २१ हजार २ सय ७०, सुदूरपश्चिममा ११ हजार ३ सय ४९, प्रदेशमा २ मा ८ हजार ९ सय ११ र कर्णाली प्रदेशमा ४ हजार ९ सय २१ रहेका छन्।

प्रविधिको विकाससँगै नेपाल टेलिकमले पुरानो प्रविधिमा रहेका ग्राहकलाई एफटीटीएचमा स्थानान्तरण गरिरहेको छ। वायरलेस निर्देशनालयका प्रवक्ता शोभन अधिकारीले पीएसटीएन र एडीएसएलमा रहेका ग्राहकलाई एफटीटीएच प्रविधिमा स्थानान्तरण गरिरहेको बताए।

‘हामीले विशेष सुविधा दिएर उहाँहरुलाई एफटीटीएचको सेवा उपलब्ध गराइरहेका छौँ’, अधिकारीले भने। एफटीटीच सेवालाई ग्राहकको आवश्यकताअनुसार उपलब्ध गराउन टेलिकमले विभिन्न प्याकेजको घोषणासमेत गरेको छ।

एउटै प्रविधिमा डेटा, भ्वाइस र टिभी सेवा उपलब्ध हुने भएपछि त्यसलाई विभिन्न प्याकेजमा बाँडेर सेवा उपलब्ध गराएको छ। जस्तो कि टिभीसहित र टिभीबाहेकको प्याकेज उपलब्ध गराइएको छ।

एनटीटिभीमा अहिले १७५ भन्दा धेरै च्यानलहरु उपलब्ध रहेका छन्। अहिले यो काठमाडौं उपत्यका सबै कार्यालयमा यो सेवा उपलब्ध छ भने छिट्टै हेटौंडा, भरतपुर, पोखरा, बुटवल र भैरहवा विस्तार गर्ने योजना रहेको अधिकारीले बताए।

Loading...