प्रथम काठमाडौं जिल्लास्तरीय अन्तरकलेज खो खो प्रतियोगिता हुने

काठमाडौं। काठमाडौं जिल्ला खो खो संघ र कीर्तिपुर नगरपालिका वडा १० कार्यालयको संयुक्त आयोजनामा प्रथम काठमाडौं जिल्लास्तरीय अन्तरकलेज खो खो प्रतियोगिता हुने भएको छ ।
नेपाल खो खो संघका कार्यवाहक अध्यक्ष प्रदीप महर्जनले २०४६ सालका जनआन्दोलनका क्रममा कीर्तिपुरका चार सहिदको सम्झनामा हुन लागेको प्रतियोगिता चैत २० र २१ गते हुने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
प्रतियोगितामा छात्र छात्रामा समान पाँच–पाँच गरी दस टिमको सहभागिता रहने र दुवै समूहमा सहभागीले पहिले एक आपसमा राउन्ड रोविन लिगका आधारमा खेल्ने छन् । शीर्ष चार टोली सेमिफाइनलमा पुग्ने गरि तय गरिएको जानकारी अध्यक्ष महर्जनले दिनुभयो ।
खो खो खेल पनि अरु खेलहरु जस्तै जीवनोपयोगी बनाउनको लागि प्रतियोगिता आयोजना हुन लागेको कार्यवाहक अध्यक्ष महर्जनले बताउनुभयो ।
प्रतियोगिता कीर्तिपुरस्थित नयाँ बजारको कभर्डहलमा हुनेछ । सोही हलमा १३ औं दक्षिण एसियाली खेलकुदको खो खोको प्रतिस्पर्धा भएको थियो । उक्त सागमा नेपालले महिलामा रजत र पुरुषमा कास्य पदक जितेको थियो ।
पत्रकार सम्मेलनमा कीर्तिपुर नगरपालिका १० वडाका अध्यक्ष अमन महर्जन, खो खोका वरिष्ठ प्रशिक्षक लक्ष्मीनारायण वैद्यलगायतको उपस्थिति रहेको थियो ।

Loading...