हुम्लामा जटामासीबाट बीस करोड आम्दानी

हुम्ला । हुम्ला–हुम्लाका यो वर्ष बीस करोडभन्दा धेरैको जटामासी संकलन भएको छ । यसबाट स्थानीय गाउँठाउँमा केही मात्रामा भए पनि अर्थ चलाएमान हुने आशा गरिएको छ ।

डिभिजन वन कार्यालय हुम्लामा वन विभागबाट आएको जटामासी संकलन र निकासीको परिपत्रलाई आधार मान्दा यो वर्ष ३३४ टन जटामासी संकलन गरिने भएको छ । साउन यता परिपत्रमा उल्लेख भए अनुसारको ७५ प्रतिशत जटामासी संकलन भएको देखिन्छ । यसमध्ये ५० प्रतिशत त सिमकोटमा पुगी सकेको डिभिजन वन कार्यालय हुम्लाका निमित्त कार्यालय प्रमुख निरज झाले बताएका छन् ।

जटामासी संकलनका लागि वन विभागमा प्रति केजी ५० रुपैँया राजस्व जम्मा गरी वन नीति नियमानुसारको प्रक्रिया पुगाएपछि निकासी पुर्जी पाइन्छ । यो वर्ष हुम्लामा जटामासी संकलन गर्ने हालसम्म दुई दर्जन फर्म पुगेका छन् ।

गाउँका सामुदायिक तथा राष्ट्यि वनबाट सम्बन्धित कार्यालयबाट लिइएको संकलन तथा निकासी पूर्जीको आधारमा जटामासी संकलन गर्ने नभई विभिन्न जडिबुटी ब्यापारीहरूले पेश्की दिए अनुसार जटामासी संकलन हुने गरेको जडिबुटी ब्यापारीहरूले बताएका छन् । तर गाउँबाट सिमकोट ल्याउँदा भने उक्त पुर्जी प्रयोग गरिन्छ ।

गाउँ गाउँमा यसरी वैधानिक र अवैधानिक रुपमा नाम, काम र दाम खर्च गरेर संकलन गर्ने काम मात्र भए पनि यसको संरक्षण सम्बद्र्धन प्रचार प्रसारकमा कोही कसैले ध्यान नदिनु दुःखद कुरा भएको स्थानीय संरक्षणकर्ताहरूको माग रहेको छ ।

हाल हुम्ला जिल्लाका विभिन्न स्थानहरूबाट संकलन गरिएको जटामासीको लेखाजोखा गर्दा वनबाट गाउँ र गाउँबाट सिमकोट विमानस्थलसम्म पुगाउनका लागि प्रति केजी ६ सयसम्म खर्च हुने देखिएको छ । यो हिसाबले हुम्लामा बीस करोडभन्दा धेरैको जटामासी संकलन भएको छ ।

Loading...