सि जिनपिङ र डोनाल्ड ट्रम्पका बीच गोप्य वार्ताको तयारी

एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भेटघाट हुने खबर अन्तराष्ट्रिय सञ्चारमाध्यममा निकै चर्चामा छ । ट्रम्प यही बुधबार चीन जाँदैछन् । चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ राष्ट्रिय सम्मेलनपछि चीनको भ्रमण गर्ने ट्रम्प पहिलो विदेशी राष्ट्रप्रमुख हुनेछन् । उनी तीन दिनसम्म चिनमा रहने बताइएको छ ।

अमेरिकाका लागि चिनियाँ राजदूत कुई तियनकाईले भने, “हामीसँग राजकीय भ्रमणका लागि आवश्यक सबै छ, तर हामी त्यो भन्दा अझ बढी चाहन्छौँ ।”

रातो कार्पेट समारोह, औपचारिक भेटवार्ता, भोजवाहेक चिनियाँ राष्ट्रपति सी चिन पिङ र उनका अमेरिकी समकक्षीबीच केही अनौपचारिक विचार विमर्शसमेत हुने बताइएको छ । अनौपचारिक कार्यक्रमको व्यवस्थापनबारे सूची सार्वजनिक नगरिकनै कुईले भनेका छन्, “ट्रम्प र प्रथम महिलालाई चिनियाँ इतिहास, संस्कृति र जनताबारे जानकारी गराउन ‘केही विशेष तयारी’ रहेको छ ।”

“ट्रम्पको चीन बसाइका क्रममा दुई मुलुकको विकास र आपसीसम्बन्ध विस्तारका लागि अति महत्वपूर्ण उच्च तहको रणनीतिक छलफलका लागि प्रशस्त समय मिलाइएको छ,”कुइले भने ।

शक्तिशाली मुलुकका यी दुई राष्ट्रपतिले अमेरिकाको फ्लोरिडामा गत अप्रिलमा सात घण्टा लामो वार्तालाप गरेका थिए ।

अनौपचारिक कुराकानीको तयारीले दुई नेताबीचको व्यक्तिगत मित्रता र काम गर्नका लागि राम्रो वातावरण मिलाउने चाइना इन्स्टिच्युट अफ कन्टेम्पोरेरी इन्टरनेशनल रिलेसन, अमेरिकी अध्ययन विभागका निर्देशक दा वेइले बताए ।

अमेरिकी राष्ट्रपति ट्रम्पले बेइजिङमा रहँदा चीन र अमेरिकाबीचको व्यापारिक सहकार्य र कोरियाली प्रायदीपमा देखिएको सुरक्षा चासोका विषयमा कुरा गर्नेछन् ।

स्वस्थ आर्थिक तथा व्यापारिक सम्बन्ध दुई मुलुकबीचको सुमधुर सम्बन्धको आधार रहने चीनले जनाएको छ । अमेरिका र चीनबीच सन् १९७९ मा २.५ अर्ब अमेरिकी डलर रहेकोमा सन् २०१६ मा पाँच खर्ब २० अर्ब अमेरिकी डलर बराबरको कारोबार भएको, चीनको वाणिज्य मन्त्रालयले जनाएको छ ।

अमेरिकासँग रहेको असन्तुलित व्यापारको समाधान चिनियाँ सामानको आयातलाई अमेरिकामा कडाइ गर्नुभन्दा अमेरिकाद्वारा थप सामान चीनतर्फ निर्यात गर्ने र दुईतर्फको लगानीलाई बढाउनुपर्ने झेङले जनाए ।

“विश्वका दुई शक्तिशाली अर्थतन्त्रकाबीच आर्थिक सम्बन्ध परस्पर फलदायी रहेको छ र रहनुपर्छ,” राजदूत कुईले भने । “चीनले सधैँ कोरियाली प्रायदीपमा आणविक निशस्त्रीकरणको पक्षमा आफ्नो मत राख्दै आएको र यसलाई वार्ताद्वारा समाधान गर्नुपर्छ,” उनले बताए ।

सी र ट्रम्पको गत अप्रिलमा भएको सय दिने आर्थिक सहकार्य बढाउने कार्य योजना अनुसार गत जुलाईमा अमेरिकी गाईको मासुलाई चिनियाँ बजारमा खुला गर्ने सम्झौतापछि अमेरिकी गाईको मासु चिनियाँ बजारमा सुलभ भएको छ ।

चार उच्चस्तरीय वार्ता संयन्त्रले कल्पना गरेबमोजिम कुटनीति र सुरक्षा, अर्थतन्त्र, साइबर सुरक्षा र सामाजिक तथा जनता–जनताबीचको आदानप्रदानबाट आपसी सहकार्यमा प्रगति भएको बताइन्छ ।

ट्रम्पका साथ अमेरिकी वाणिज्यमन्त्री विल्बर रोसले व्यापारिक प्रतिनिधिमण्डल पनि आउने चीनको अपेक्षा छ ।

चीन–अमेरिका सम्बन्ध नयाँ युगमा

चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ सम्मेलनपछि हुनलागेको अमेरिकी राष्ट्रपतिको भ्रमण दुई देशको परस्पर फाइदाका लागि हुनेछ अर्थात दुवैको जितको रणनीतिक शुरुवातका लागि हुनेछ ।

“भर्खरै सकिएको चिनियाँ कँग्रेसले चीनको आगामी कूटनीतिको रूपरेखा तयार गरेको छ,” चाइना इन्स्टिच्युट अफ इन्टरनेशनल स्टडिजका जिउदोङले बताए ।

चीन–अमेरिका सम्बन्ध अन्तर्राष्ट्रिय सम्बन्ध र मानवताका लागि समुदायको साझा भविष्यका लागि निर्णायक रहेको जिउदोङले जोड दिए । ट्रम्पले वासिङटनको नेतृत्व सम्हालेपछि दुवै नेताबीच निकटको सम्बन्ध स्थापित भएको छ ।

Loading...