हरियालीगाउँ विकासको अवधारणा

परिचय

पाल्पा जिल्लाको साविक दोभान गाविस वडा नं. ७ मा रहेको डढेगाउँ करिब १२ किमि पश्चिम क्षेत्रमा पर्ने विकट गाउँ हो । यहाँ २०२० सालतिर गुल्मीको पुर्कोटदह, अग्लुङ्ग, प्युठानको बादिकोट, नारिकोट, ओखरकोट लगायत क्षेत्रबाट बसाइँसराइ आइ बस्ती बसेको हो। बजार गर्न बुटवल आउजाउ गर्ने सन्दर्भमा चुरे क्षेत्रमा अवस्थित यस ठाउँलाइ मन पराएर हामीभन्दा तीन पुस्ता अघिका पू्र्खाहरुले बाक्लो घनघोर जङ्गल खरिया फाँडी खेतीपाती गर्न खेत तथा बारी बनाउनु भएको थियो। गाउँ बसाली भएको १० वर्षपछि अर्थात तीस सालतिर यहाँ तीब्र रुपमा वस्ती विस्तार भएको देखिन्छ। फलस्वरूप आफ्ना नानीबाबुहरुलाइ शिक्षादिक्षा दिनको लागि गाउँका अगुवा प्रधानपञ्च जुमानसिहं जिसी, अविराम खड्का, मास्टर साहेब भोटमन जिसीले बिभिन्न कठिनाइका बाबजुद २०३१ सालमा श्री शिशु ज्योति प्रावि स्थापना गर्नु भएको थियो । जुनबेला थानिडाँडा मावि नभएको हुँदा यहाँ बगाह, झ्याङ्लाबाट समेत पढन आएकोले डढेगाउँ र श्री शिशु ज्योति प्राविको निकै चहलपहल भएको थियो भनि गाउँका जेष्ठ नागरिकहरुले बताउनुहुन्छ। समयको रफ्तार सङ्गै झ्याङ्ला, बगाह, खुल्खुले, भुताह, पाल्टाङ्गेतिर यहाँबाट बसाइँसराइ जाँदा गाउँको जनसंख्या घटन गएको हो।

खगेन्द्र केसी ‘चट्टान’

“डढेगाउँ” शब्द प्रतिकारात्मक रुपमा नराम्रो भएको हुँदा अन्य ठाउँका मानिसहरुबाट हामीहरु अपमानित तथा घृणाकी पात्र भएको महशुस गर्यौ। जसकारण २०७५ साउन २३ गतेका दिन एक कार्यक्रमको आयोजना गरी तिनाउ गाउँपालिका अध्यक्ष अाेम बहादुर घर्ती मगरबाट डडेगाउँलाई खारेज गरी नयाँ नाम “हरियालीगाउँ” घोषणा गरियो। गाउँको नयाँ नाम सँगै यहाँका सबै जनसमुदायहरु हर्सोल्लास भइ चेतना एवं चिन्तनमा पनि व्यापक परिवर्तन आएको छ । हाल हामी सम्पूर्ण बासिन्दाहरु गाउँको तीब्रतर विकास गर्नको लागि वैचारिक र भावनात्मक एकता कायम गरेका छौ । शितल हावापानी भइ उब्जाउ भूमी प्रशस्तै भएको यो गाउँमा प्रगति टोल, विकासटोल, पिपलचौर, भर्के, महापुर, अधिना टोलहरु मिलेर हरियाली गाउँ बनको छ । चारैतिर जङ्गलले घेरेको यो सुन्दर गाउँबाट रुपन्देही जिल्लाको ८० प्रतिशत तराइ भुभाग छर्लङ्ग देखिन्छ । विकास र अवसरको प्रचुर सम्भावना बोकेको बृहत हरियाली गाउँ विकासको लागि स्पष्ट दृष्टिकोणको आधारमा गुरुयोजना तय गर्न आवश्यक छ।

१) सडक सञ्जाल

  • विकट तथा दुर्गम यस गाउँमा दोभान, नुवाकोट, झिगामारा गरी तीनतिरबाट मोटरबाटोको ट्र्याक खोलिएको भएता पनि बाटोको स्तरोन्नति गर्न अति आवस्यक छ ।
  • दशैको अवसरमा बाटो मर्मत संभार गरेपछि मुस्किलले चार महिना जति सामान्य रुपमा गाडी संचालन हुँदै आएको यस ठाउँको विभिन्न क्षेत्रमा रुट परिवर्तन गर्ने, ब्यवस्थित तरिकाले नाली निर्माण, ग्याबिन जाली लगायत अन्य संरचनात्मक कार्यहरु निरन्तर गर्न आवश्यक छ।
  • हरियालिगाउँबाट सबैभन्दा छोटो दूरी भएको बुटवलको तामनगरमा मोटरबाटो जोड्न बाँकी छ। यो छोटो दुरीको मोटरबाटोको कारण हरियाली गाउँको विकासमा कोशेढुङ्गा साबित हुनेछ।
  • २) खानेपानी ए सिचाइ
  • हरियाली गाउँका जनसमुदायले खानेपानी समस्याको बारेमा जोडदार रुपमा आवाज उठाएको हुँदा प्रदेश र स्थानीय सरकारको साझेदारीमा एक करोड एकानब्बे लाखको लिफ्टिङ्ग खानेपानी आयोजना कार्यान्वयनको अन्तिम चरणमा छ । बिद्युत पावर कम भएकोले अब छिट्टै ट्रान्सर्फमरको ब्यवस्था गरी प्रत्येक घरमा पानीको धारा उपलब्ध भइ स्वच्छ पिउने पानीको पहुचँ सबै उपभोक्ताहरु हुनेछन्।
  • पानी खेर जाने छैन, घरायसी कार्यमा प्रयोग गरेको पानीलाइ संकलन/बचत गरी सरल सिचाइको माध्यमबाट नगदे तरकारी खेतीलाइ प्रबर्द्धन गरिनेछ।
  • खोला/खोल्साहरुमा रहेका पुराना पानीका स-साना मुहान वरिपरि बिरुवा लगाइ संरक्षण गरी पानीको बहुउपयोग गर्नुपर्छ । पानी विना टोल बस्तीहरु सफा सुग्घर राख्न नसकिने हुँदा बस्तीमा निरन्तर स्वच्छ्ता प्रबर्द्धन अभियान संचालन गर्न आवश्यक छ।

३) कृषि र पशुपालन

  • यहाँ उर्वर माटो भएकोले सबै प्रकारको खेतीपाती हुन्छ। धान, मकै, कोदो प्रमुख बाली भएकोले आधुनिक प्रबिधि प्रयोग, मानवीय शक्ति, समय लागतको कम प्रयोग गरी व्यवसायीमूलक धेरै उत्पादन गर्ने योजनाको नीति बनाउनु पर्छ।
  • नेपालको पुरानो बाली कोदोलाई सरकारी नीतिमा बेवास्ता गरेको सन्दर्भमा यसको महत्त्व र आवश्यकताका बारेमा सबै किसानहरुलाइ जनचेतना दिई कोदो खेतीको लागि यस क्षेत्रमा अनुकूल वातावरण भएकोले यसलाइ व्यापक बढावा गराइ यसका विभिन्न ब्राण्डहरु उत्पादन गरी आम्दानी गर्न सकिन्छ।
  • हरियालीगाउँमा अदुवा, पिँडालु, हलेतो (बेसार)को खेती राम्रो हुँदै आएकोले संगठित रुपमा यी तीन खेतीलाइ बिशिस्ट स्थानमा राख्नुपर्छ।
  • चारैतिर जङ्गल भएकोले चरिचरण तथा घाँसपातको समस्या नभएकोले यहाँ व्यावसायीक रुपमा बाख्रापालन गरी धेरै आय प्राप्त गर्न सकिन्छ।

४) वन र पर्यटन

  • हरियालीगाउँमा राजारानी सावउस र त्रीबेणी महिला सावउस गरी दुई वटा सामुदायिक वनहरु छन् । नेपाल सरकारको वन नीति अनुरुप वन पैदावार बिक्री वितरणबाट आम्दानी हुँदै आएको छ।वन संरक्षण, सम्बर्द्धनको लागि विभिन्न क्रियाकलाप गर्दा सबै उपभोक्ताहरुको आय वृद्धि भइ गरिबी न्यूनीकरणमा ठूलो टेवा पुगेको छ।
  • वनमा आधारित कृषि र उद्योगहरुको राम्रो संभावना भएकोले उक्त अवसरलाइ उपभोग गरी उपभोक्ताहरुको जीवनस्तर उकास्ने नीति बनाउनुपर्छ।
  • हरियाली गाउँमा रहेको राजा बस्ने धुरी र महापुर फाँटलाइ पर्यटन क्षेत्रका प्रमुख स्थानहरु हुन । प्रचारप्रसारको कमिले ओझेलमा परेको एेतिहासिक राजाबस्ने धुरीलाइ संरक्षण, विस्तार गर्नुपर्छ।त्यस्तै महापुर फाँटमा कृत्रिम ताल बनाइ आन्तरिक तथा बाह्य पर्यटकहरुलाइ आकर्षित गर्न सकिन्छ। यहाँका थुप्रै रमणीय डाँडाहरुलाइ हिल स्टेसन र वन बाटिका, पार्क निर्माण गर्ने सम्बन्धि योजना बनाउनुपर्छ।
Loading...