पाल्पामा पनि एक हप्ते कर्फ्यू जारी

पाल्पा, ४ भदौ । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि पाल्पामा पनि कर्फ्यू लागु भएको छ । जिल्ला प्रशासन कार्यालयले आज एक विज्ञप्ति जारी गर्दै एक हप्ताको कर्फ्यूको जानकारी गराएको हो ।

बिहीबार जारी गरिएको निषेधाज्ञाको सूचनामा कोभिड १९ को संक्रमणलाई रोकथाम तथा नियन्त्रणको कार्य प्रभावकारी बनाउन कर्फ्यू गर्नुपरेको बताइएको छ । जिल्ला प्रशासन कार्यालय पाल्पाले भदौ ५ गतेदेखि १२ गतेसम्मका लागि कर्फ्यू लागु हुने र सो अवधिमा यो आदेशको अवाज्ञा गरिएमा कारवाही गरिने चेतावनी पनि दिइएको छ ।

कफ्र्यूको अवधिमा कुनै पनि सार्वजनिक यातायात, निजी सवारी साधन नचल्ने बताइएको छ । त्यस्तै बैंक तथा वित्तीय संस्थाहरु पनि नखुल्ने, होटल, रेस्टुरेन्ट, पसल, शैलुन, जिमखाना, उद्योग कलकारखाना कुनै पनि व्यवसाय नचल्ने बताइएको छ ।

प्रशासनले एम्बुलेन्स, शववाहन, खाद्य सामाग्री, औषधी, पानी, दुध, इन्धन, फलफूल बोकेका सवारी साधनमा भने रोक नलगाइने जनाएको छ । त्यसैगरी प्रशासनले सरकारी झण्डा फहराएका सवारी र कुटनीतिक नियोगका सवारी साधनमा पनि रोक नलगाइने प्रशासनले जनाएको छ ।

प्रशासनले बिहान ७ देखि १० बजेसम्म डेरी पसल, तरकारी, फलफूल पसल सञ्चालन गर्न पाइने बताएको छ । त्यस्तै औषधीपसल, पेट्रोल पम्प, ग्यास डिपो पनि सञ्चालन हुने प्रशासनले जनाएको छ ।

Loading...