पढ्दा पढ्दै कक्षाकोठामै ढलेकी कमलाको मृत्यु, आठ जना बेहोस

पाल्पा, ११ भदौ । पाल्पाको एक विद्यालयमा अनौठो घटना घटेको छ । जिल्लाको रम्भा माध्यमिक विद्यालयमा कोचिङ पढ्दै गदाृ एकाएक बेहोस भएकी एक जना विद्यार्थीको मृत्यु नै भएको छ भने अन्य ८ जना अझै बेहोस नै रहेका छन् ।

रम्भा माविकी छात्रा कमला फालको कोचिङ पढ्दा पढ्दै बेहोस भएर मृत्यु भएको हो । उनका अन्य ८ जना सहपाठी बेहोस् भएका छन् । बेहोस् भएकामध्ये दुई जनाको अवस्था गम्भीर छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका एसपी दीपेन्द्र जीसीले एक जनाको मृत्यु भएको र ८ जना अझै बेहोस रहेको जानकारी दिए । उनले यस घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए । कक्षा कोठाभित्र बेहोस भएका विद्यार्थीहरुलाई उपचार गर्न सुरुमा ताहु स्वास्थ्य चौकीमा लगिएको थियो । स्वास्थ्य चौकीले थप उपचारका लागि कमलालाई लुम्बिनी मेडिकल कलेजमा पठाएको थियो । तर, लुम्बिनी मेडिकल कलेजका डाक्टरहरुले १६ वर्षीय कमलाको मृत्यु भइसकेको घोषणा गरेका थिए ।

गम्भीर अवस्थामा रहेका एक जना छात्र र एकजना छात्राको पाल्पाको मिसन अस्पतालमा उपचार भइरहेको छ । अन्य पाँच जनाको ताहु स्वास्थ्य चौकीमै उपचार भइरहेको छ ।

विद्यालयले कक्षा १० का विद्यार्थीहरुलाई लक्षित गरी बिहान ८ बजेदेखि १० बजेसम्म कोचिङ कक्षा चलाउँदै आएको छ । उनीहरु कोचिङ पढ्दा पढ्दै बेहोस भएका थिए । मास हिस्टेरिया जस्तो लक्षण देखिने यस्तो समस्या पहिले विद्यालयमा नभएको विद्यालयले जानकारी दिएको छ ।

एसपी जीसीले इन्सपेक्टर देवराज पौडेलको नेतृत्वमा जिल्ला अस्पताल पाल्पाका डाक्टरहरुको टोली अनुसन्धानका लागि विद्यालयमा गएको छ । उनीहरुले सबै परिस्थिति बुझेर आउने बताइएको छ ।

Loading...