अब्बल बन्दै सामुदायिक विद्यालय

कञ्चनपुर, २ कात्तिक । शिक्षाको गुणस्तरमा सुधार आएपछि जिल्लाका सामुदायिक विद्यालय पठनपाठनको क्षेत्रमा अग्रणी बन्न थालेका छन । कक्षा ११ र १२ को परीक्षामा सामुदायिक विद्यालयले शतप्रतिशत नतिजा ल्याउन थालेका छन् ।

शुक्लाफाँटा नगरपालिकाको कसरौलमा रहेको बैजनाथ माध्यमिक विद्यालयको कक्षा १२ को बोर्ड परीक्षामा शतप्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । विद्यालयबाट परीक्षामा सहभागी भएका ५६ विद्यार्थी सबै उत्तीर्ण भएका हुन् । विद्यालयमा कक्षा १२ मा भर्ना भएका ७८ मध्ये ६१ ले रजिष्ट्रेशन फार्म भरेका थिए । तीमध्ये परीक्षामा सहभागी ५६ मात्रै भएका छन् ।

उत्तीर्ण भएकामध्ये नियमिततर्फ २५ र सवलीकरणमा अन्य परीक्षार्थी उत्तीर्ण भएका विद्यालयका निमित्त प्रद्यानाध्यापक वीरेन्द्रबहादुर सिंहले बताए । तीन वर्षअघि आएको नयाँ विद्यालय व्यवस्थापन समितिको चुस्त व्यवस्थापन र शिक्षाको गुणस्तरका लागि खेलेको अथक प्रयासले सामुदायिक विद्यालयमध्ये यो विद्यालय अब्बल रहेको उनको भनाइ छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चक्रबहादुर साउदले भन्नुभयो, “हामी आउनुभन्दा अगाडि विद्यालय पूरै कर्जामा थियो, नौ लाख बढी रकम तिर्नुपर्ने थियो, निजी स्रोतमा कार्यरत शिक्षक न्यून तलबमा काम गर्दै आएका थिए ।” कर्जा पूरै तिरेर निजी स्रोतका शिक्षकको मनोबल बढाउन छ हजारमा काम गर्ने शिक्षकको तलब रु २३ हजार पु¥याइएको उनले बताए ।

उनले भने, “पुस्तकालय, कम्प्युटरको व्यवस्थासँगै, विज्ञान प्रयोगशालाको व्यवस्थाले विद्यार्थी र शिक्षकको दक्षता बढेको छ ।” सबै कारोवार बैंकमार्फत गर्न लगाइएपछि फजुल खर्च रोक्न सकिएको उनको भनाइ छ । खानेपानीसँगै छात्रामैत्री शौचालय निर्माण भएपछि विद्यार्थी सङ्ख्यासमेत बढेको छ ।

विगतका वर्षमा विद्यालमा चार सयको हाराहारीमा विद्यार्थी भर्ना हुने गरेका थिए । हाल विद्यालय व्यवस्थापन र शैक्षिक गुणस्तरमा सुधार आएपछि विद्यार्थी सङ्ख्या बढेर ६३२ पुगेको छ । विद्यालय भर्ना हुनेमा छात्रभन्दा छात्राको सङ्ख्या बढ्दो छ । “सबै विषयका शिक्षक नहुँदा निकै समस्या थियो”, अध्यक्ष साउदले भन्नुभयो, “निजी स्रोतबाटै भए पनि पूरै विषयका शिक्षक राखेर पठनपाठनको व्यवस्था गर्न सकेका छौँ, माध्यमिक तहमा पढ्ने विद्यार्थीले दिने शुल्कमा समेत रु एक हजार घटाएका छौँ ।”

यस्तै सोही नगरपालिकाको वडा नं ११ मा रहेको सरस्वती माध्यमिक विद्यालयमा समेत कक्षा ११ को परीक्षामा तीन दशमलव ४३ जिपिए ल्याएर उत्तीर्ण हुने विद्यार्थीको सङ्ख्या पाँच रहेको छ । कक्षा १२ मा समेत तीन दशमलव १६ जिपिए ल्याएर उत्तीर्ण हुने विद्यार्थीको सङ्ख्या एक रहेको छ । विद्यालयमा पठनपाठनका लागि जोड दिइएपछि निजीभन्दा सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थी अब्बल हुन थालेका विद्यालयका प्रधानाध्यापक राजेन्द्रबहादुर ऐरले बताए ।

विद्यालयमा पढ्दै आएका विद्यार्थीको उत्तीर्ण सङ्ख्या ७५ प्रतिशत रहेको उनले जानकारी दिए । विगतमा उत्तीर्ण सङ्ख्या ४० प्रतिशतको हाराहारीमा रहँदै आए पनि हाल दक्ष्य शिक्षकसँगै पठनपाठनका लागि राम्रो वातावरण कार्य गरिएपछि विद्यार्थीको उत्र्तीण प्रतिशत बढ्दै जान थालेको उनले बताए।

विगतमा विद्यालयमा कम्प्युटर ल्याव, विज्ञान प्रयोगशाला, पुस्तकालयलगायतको व्यवस्थासँगै निजी स्रोतमा कार्यरत शिक्षकको मनोवल बढाउन स्थायी शिक्षकसरह तलबको व्यवस्था गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर साउदले बताए । आवासीय विद्यार्थीका लागि छात्रवास निर्माण गर्ने विद्यालयको योजना छ ।

Loading...