प्राविधिक शिक्षामा जोड दिँदै सामुदायिक विद्यालय

पाल्पा, ४ साउन । पाल्पाका सामुदायिक विद्यालयले व्यावसायिक तथा रोजगारमूलक शिक्षा प्रदान गर्न प्राविधिक शिक्षालाई जोड दिएका छन् ।

जिल्लामा गाउँ तथा शहरमा रहेका सामुदायिक विद्यालयले कृषि बाली विज्ञान, पशुविज्ञान, सिभिल इञ्जिनीयरिङ्ग, कम्प्युटर इञ्जिनीयरिङ्ग जस्ता शिक्षा सञ्चालन गर्दै आइरहेका छन् ।

यस वर्ष प्राविधिक धारको कक्षा ९ देखि १२ सम्म चार विद्यालयले प्राविधिक शिक्षा सञ्चालनका लागि स्वीकृति पाएपछि पठनपाठन शुरु गरेका छन् । रम्भा गाउँपालिका–१ हुँगीको जनकल्याण माध्यमिक विद्यालय, निस्दी गाउँपालिका–५ ढुङ्गानावेशीको जनता मावि, माथागढी गाउँपालिकाको शौभाग्य माविमा कृषि बाली विज्ञानको अध्यापन शुरु भएको छ ।

त्यस्तै बगनासकाली गाउँपालिकाको चापपानीमा रहेको चन्द्र माविमा सिभिल इञ्जिनीयरिङ्ग विषय पठनपाठन शुरु भएको शिक्षा विकास तथा समन्वय एकाइ पाल्पाका सूचना अधिकृत महेन्द्र सुवेदीले जानकारी दिए ।

उनका अनुसार हरेक स्थानीय तहमा एक मावि तहमा प्राविधिक धारको शिक्षा सञ्चालन गर्न पाउने व्यवस्था छ । यसभन्दा अगाडि तिनाउ गाउँपालिकाको दोभान मावि, तानसेन नगरपालिकाको लक्ष्मी माविमा कृषि बाली विज्ञान, रामपुर नगरपालिकाको आधारभूत माविमा पशुबाली विज्ञान सञ्चालन भइरहेको छ ।

यस्तै मोहनकन्या मावि तानसेन नगरपालिकामा कम्प्युटर इञ्जिनीयरिङ्ग, तानसेनकै जनता मावि र दमकडा माविमा सिभिल इञ्जिनीयरिङ्ग शिक्षाको पठनपाठन सञ्चालन भइरहेको छ ।

जिल्लाकै दुर्गम क्षेत्रमा पर्ने रम्भा गाउँपालिकाको वडा नं १ स्थित हुँगीको जनकल्याण माविमा प्राविधिक धारअन्तर्गत कृषिबाली विज्ञान पठनपाठन शुरु भएको छ ।

कक्षा ९ देखि १२ सम्म चार वर्षे कृषि बाली विज्ञान शिक्षा शुरु भएपछि विद्यार्थीलाई प्राविधिक शिक्षा लिन अन्यत्र जाने समस्या हटेको छ । प्राविधिक शिक्षा सञ्चालनका दुई शिक्षकको दरबन्दी आएपछि कक्षा शुरु गरिएको छ ।

एक हजार पुर्णाङ्कमध्ये ४०० अनिवार्य विषय, एक वटा कम्प्युटर र पाँच वटा विषय कृषि बाली विज्ञानअन्र्तगत रहेको प्रधानाध्यापक युवराज पन्तले बताए । व्यवसायी र स्वाबलम्बी आत्मनिर्भर बनाउनको प्राविधिक शिक्षामा जोड दिइएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए ।

“बोटे, दलित, माझी, विपन्न विद्यार्थीलाई पढाइमा छात्रवृत्ति तथा छुट दिइएको छ भने अन्यबाट अति न्यून शुल्क लिएर प्राविधिक शिक्षा सञ्चालन गरिएको छ”, अध्यक्ष भण्डारीले भने ।

विद्यालयमा हालसम्म २८ जना विद्यार्थी भर्ना भइसकेका छन् भने साउनको २२ गतेसम्म भर्ना आह्वान गरिएको छ । कूल ४८ जनाको कोटा रहेकोमा न्यूनतम २४ जना विद्यार्थी अनिवार्य हुनुपर्नेछ ।

विद्यालयमा प्रयोगात्मक सामग्री खरीदलगायत प्राविधिक शिक्षा सञ्चालन गर्न सरकारबाट रु २६ लाख रकम निकासा भइसकेको छ । विद्यालयको नाममा रहेको २३८ रोपनी जग्गामा विभिन्न कृषि बाली विज्ञानका लागि आवश्यक पर्ने प्रयोगशाला निर्माण गर्ने विद्यालयले तयारी गरिरहेको छ ।

हुँगी क्षेत्र कृषिको पकेट क्षेत्र रहेकाले कृषि बाली विज्ञानमै जोड दिइएको शिक्षक रामप्रसाद भण्डारीले बताए । ६०० जना विद्यार्थी अध्यनरत् रहेको यस विद्यालयमा उच्च शिक्षातर्फ व्यवस्थापन र शिक्षा संकाय, कक्षा नर्सरीदेखि चारसम्म अङ्ग्रेजी माध्यममा पठनपाठन भइरहेको छ ।

गाउँपालिका भित्र सामुदायिक ३७ विद्यालयमध्ये आठ मावि, आठ आधारभूत र २१ प्रावि, संस्थागततर्फ पाँच विद्यालयमध्ये मावि एक, दुई आधारभूत र एक प्रावि गरी जम्मा ४२ विद्यालय छन् ।

Loading...