अन्तत: मेस्सीले गरे बार्सिलोना छाड्ने निर्णय, क्लबलाइ पत्र पठाउँदै मागे ट्रान्सफर

काठमाडौं, १० भदौ । विश्वचर्चित खेलाडी लियोनल मेस्सीले बार्सिलाेना छाड्ने निर्णय गरेका छन। पछिल्लाे समय बार्सिलाेनामा व्यापक असन्तुष्टि जन्मिरहेका बेला मेस्सीले क्लब छाड्ने निर्णय गरेका हुन् ।

मेस्सीले आफ्नाे ट्रान्सफर मागेका छन । मेस्सीले मंगलबार क्लबलाई पत्र पठाउँदै आफ्नो क्लब छाड्ने रकममा काम गर्न अनुरोध गरेका हुन। पछिल्लाे समय च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा बार्यन म्युनिखसँग ८-२ को लज्जाजनक हारपछि मेस्सी क्लब छाड्ने निर्णयमा पुगेकाे बताइएकाे छ । बायर्नसँगकाे हारपछि क्लबका मुख्य प्रशिक्षक पनि हटाइसकिएका छन् ।

बार्सिलोनाले भने मेस्सी २०२१ सम्म क्लबमै रहने विश्वास गरेको छ। उनको क्लज ७ सय मिलियन यूरो तोकिएको छ। क्लबका अध्यक्ष जोसेप मारियो बार्टोमिउको राजीनामा र चुनाव भए मेस्सी रोकिन सक्ने विश्लेषणहरु गरिएको छ। तर यसपटक जे भएपनि मेस्सी क्लब छाड्ने निर्णयमा प्रतिबद्ध रहेको बीबीसीले जनाएको छ।

मेस्सीले क्लब छाड्नका लागि ट्रान्सफरमागेको समाचार बाहिर आएपछि बार्सिलोनाका समर्थकहरु नेउ क्याम्पअघि जम्मा भएर बोर्डविरुद्ध नाराबाजी गरेका थिए। अब मेस्सी र क्लबबीच कानुनी प्रक्रिया सुरु हुने चर्चा चलेकाे छ । यदि मेस्सीले गत जुन १० सम्म क्लब छाड्ने इच्छा देखाएको भए उनको फ्री ट्रान्सफर हुने बुँदा सम्झौतामा थियो।

तर उक्त मिति नाघिसकेकाले फ्री ट्रान्सफरको मिति सकिएको क्लबको विश्वास छ। तर उक्त मितिमा कोरोनाभाइरसको महामारी भएकाले अगष्टसम्म फ्री ट्रान्सफरको मिति लम्बिनुपर्ने मेस्सी पक्षको भनाई छ।

६ पटकका प्रतिष्ठित बालोन डि ओर विजेता ३३ वर्षे मेस्सीले २००४ देखि बार्सिलोनाबाट खेल्दै आएका थिए। बार्सिलोनाबाट उनले चारपटक यूरोपियन च्याम्पियन्स लिगको उपाधि समेत जिते।

Loading...