नेपाल र इष्ट इण्डिया कम्पनी बिच २ डिसेम्बर १८१५ का दिन कुनै कागजातमा हस्ताक्षर भएको थियो ! हस्ताक्षर सो मितिमा भए पनि यसको कार्यान्वयन भने ४ मार्च १८१६ बाट शुरु गरियो । जसलाई हामी ‘सुगौली सन्धि’ भनेर चिन्दछौं ।
सन् १८१४ देखि सन् १८१६ सम्म चलेको नेपाल-अंग्रेज युद्दलाई यो सन्धिले अन्त्य गर्यो । दुर्भाग्यबश: नेपालले आफ्नो एक तिहाई भूमि गुमाउन पुग्यो । जस अनुसार, पश्चिममा काली नदी पारीका कुमाउ (वर्तमान उत्तराखण्ड) – गढवाल (बर्तमान उत्तराखण्ड) – कांगडा (वर्तमान हिमांचल) लगायतका क्षेत्रहरुबाट नेपालले हात धुनुपर्यो ।
गल्तिबस तराईका केही क्षेत्रहरु समेत सो सन्धिले छिनेपछि नेपालले कुरा राख्यो । अंग्रेजहरुले त्यसलाई स्वीकार गरे, र अर्को पूरक सन्धि गरेर भूमि फिर्ता गरियो । सन्धिबाट नेपालले कहाँ कति भूमि गुमायो भन्दा पनि महाशक्तिको होडमा हिंड्दै गरेको भारतले नेपाल माथि अर्घेल्याई गरेर कहाँ कहाँ कसरी थिचोमिचो गरिरहेको छ भन्ने सवाल मुख्य बनेर देखा परेको छ ।
सुगौली सन्धि अनुसार काली पारी रहनु पर्ने भारत किन महाकाली वारी तर्यो ?
चीनसँगको युद्दमा प्रयोग गरेको नेपाली भूमि छाड्न किन मानिरहेको छैन ? पचासौं वर्षदेखि उठाउँदै आएका नेपाली जनताको अहम सवाल यिनै हुन् ।
बलमिच्याइ मार्फत ०१९ को नोभेम्बरमा जब भारतले यी भूमि हडपेर आफ्नो राजनैतिक नक्शामा समेट्यो, वर्तमान तनावलाई आमन्त्रण गर्यो । नक्सा प्रकाशनको यस बीचमा पनि आफ्नो गल्ति सच्याउन नेपालले पटकपटक आग्रह गर्यो । कुटनैतिक नोट हस्तान्तरण गर्यो । वार्ता-छलफलका लागि बारम्बार आग्रह गर्यो । तर हर आग्रह र विनम्रतालाई उसले लत्याउँदै गयो ।
यहाँसम्म कि, सारा विश्व कोरोनासँग पौंठेजोरी खेलिरहेको बखत उसले सडक उद्घाटन गर्यो । नेपालले राखेको वार्ता प्रस्तावलाई कोरोनको कारण देखाउँदै भारत पन्छियो ।
तामझामका साथ सडक उद्घाटन गर्न कोरोना बाधक नहुने तर बार्ता गर्न बाधक हुने भनेपछि उसको नियत साफ भयो । अन्तत: यहि सेरोफेरोमा नेपालले पनि आफ्नो ऐतिहासिक भूगोललाई आफ्नो सार्वभौमसत्ता अन्तर्गत हुने गरि नक्साङ्कन गर्न बाध्य भयो र गर्यो ।
कसको दाबीमा कति दम ?
वर्तमान नेपाल-भारतको मानचित्रलाई सुगौली सन्धिले निर्धारण गरिदिएको छ । सोही ‘निर्धारण’लाई हामीले आजसम्म मान्दै आइरहेका छौं । यदि मानिदैन भने अबस्था सुगौली सन्धि पुर्वतर्फ पुगिसकेछ भनेर स्वीकार्न पर्ने हुन जान्छ । सिमानामा तनाव चाहँदैनौं भने सो सन्धिले निर्धारण गरेका क्षेत्रमा भैरहेका अवान्छित गतिबिधिलाई तत्काल रोक्नु पर्दछ ।
वर्तमान तनावको मूल कारण काली नदीको मुहान कुन हो भन्नेसँग जोडिएको छ । त्यसैले यसलाई हल गर्नका लागि सन् १८२७ को नक्सामा अध्ययन गर्न जरुरी छ । सुगौली सन्धिको ११ वर्षपछि सन् १८२७ मा इस्ट इण्डिया कम्पनीले एउटा नक्सा प्रकाशित गर्यो । जसमा, कुमाउ-गढवाल हुँदै बहेको एउटा नदी छ, त्यसलाई ‘काली नदी’ भनिएको छ । र त्यसको उद्गम बिन्दू लिम्पियाधुरालाई मानिएको छ । यो बाहेक नक्सामा अर्को कुनै ‘काली नदी’ छैन ।
तर सन् १८५० मा सुगौली सन्धिले ‘काली नदी’ मानेको काली नदीलाई ‘कुटी याङ्दी’ नामाकरण गरियो र निकै पुर्वतर्फ अबस्थित लिपू पासको मुहान हुँदै बगेको नदीलाई ‘काली नदी’ नामकरण गरियो । जबकि सन् १८२७ को नक्शामा १८५० को ‘तथाकथित काली’ को नाम नै उल्लेख छैन ।
कृतिमताको यो हद यत्तिमै सीमित रहेन । १८२७ को सक्कली कालीलाई कुटी याङ्गदी नामाकरण गर्दै १८५० मा आफैले बनाएको कृतिम काली नदीलाई समेत सन् १८७९ मा अर्को कृतिम नक्सामार्फत खारेज गरियो । यतिखेर लिपूपासबाट बहने खोला भन्दा पनि निक्कै नैं पुर्व बढेर त्यहाँ अबस्थित सानो खोल्सालाई काली नदी भनेर नक्कली काली नदी सिर्जना गरिएको छ ।
यी नक्सा अध्ययन गरिसकेपछि अब सबैले भन्न सक्छ, वास्तविक काली नदी कुन हो ? हो निश्चय नैं ! सुगौली सन्धिताका जुन नदीलाई ‘काली नदी’ भनियो, वास्तविक ‘काली नदी’ त्यही नै हो ।
लडाईमा हारजित भएर सीमा निर्धारण गर्ने दुई पक्ष नेपाल र इष्ट इण्डिया कम्पनीले मानेको काली नदीलाई दोहोर्याई-तेहेर्याई न्वारन गर्ने नैतिक बल वर्तमान भारतसँग छैन । अत: १८२७ को नक्सामा देखाइए अनुसार लिम्पियाधुरा शीर भएको नदी नैं वास्तविक ‘काली नदी’ हो । कुनै विवाद आवश्यक छैन । सो नदी वारीका भूमि नेपाली सार्बभौमसत्ता अन्तर्गतका हुन्, र बाँकी अरु सबै काल्पनिक ।
तर भारतको दाबी भने तथ्यमा आधारित देखिन्न । बारम्बार नक्कली नक्सा प्रकाशन गर्नु, ‘’कालापानी क्षेत्रमा ७० वर्षदेखि बसेका हौँ’’ भन्नु बाहेक उसँग कुनै तर्क छैन । नक्कली नक्साको ढोडमा टेकेर सत्तरी वर्ष बसेकै आधारमा नेपाली भूमि आफ्नो बनाउने भारतीय दलिलले सन् १८२७ को नक्सासँग मुकाबिला गर्न सक्छ ? भारतीय सेनापतिले चेन अफ कमाण्ड तोडेर दिएका धम्कीपूर्ण अभिव्यक्तिलाई स्वाभिमानी नेपाली जनता खारेज गर्न चाहन्छन् ।
तथ्य प्रमाणहरुमा कमजोर भएकै कारण उसको सेनापतिले धम्कीको भाषा प्रयोग गरेका हुन् । मिडियाहरुले गोयवल्स शैली अपनाएका हुन् । तिनलाई पनि नेपाली जनताले खारेज गरिदिएका छन् । साउथ एसियाको इतिहासमा प्रथम अस्तित्व कायम राखेको नेपाल, जसको आफ्नै बलिदानी, आफ्नै सौर्यता, अनि वीरताको गाथा छ ।
आज आफ्नो भूमि मिचिँदा उठेको आवाजलाई चीनको उक्साहट करार दिनु नेपाली जनताको सामर्थ्यमाथि प्रश्न चिन्ह खडा गर्नु हो । जबकी नेपालले चीनसँग तीन पटक (तिब्बतसँग गरेर) युद्द गरेको इतिहास छ । तिनका केही विश्लेषकका अनुसार, सन् २०१५ मा नाकाबन्दी गरेको, नोटबन्दीको कारण दुइ करोड रुपैयाँ घाटा लागेको कारण नेपाल रिसायो, लिपुलेक बिबादलाई त्यसैको परिणाम हो भनिरहेका छन् । विश्लेषणहरु तरह तरहका छन् !
………
भारतीय रक्षा विशेषज्ञ जनरल जी.डी. बक्क्षीले यो पनि भनेका छन् कि, नेपाली माओवादीहरुलाई भारतले सहयोग गरेर ठुलो गल्ती गर्यो । भारतले राजतन्त्र र हिन्दू राष्ट्र ढाल्न भूमिका खेल्यो । अहिले त्यसकै परिणाम कालापानीमा देखियो भन्दै मिडियामा कुर्लिरहेका छन् । उनले अहिलेको कालापानी बिबादमा सरकारको तर्फबाट प्रधानमन्त्री ओली सामुन्ने देखिएता पनि परोक्ष रुपमा पूर्बमाओबादी र त्यसको मूल नेतृत्वतर्फ सङ्केत गरेका छन् । माओबादी कै कारण लिपुलेक-लिम्पियाधुरा मुद्दा उचालिएको उनको विश्लेषण छ ।
यतिखेर सत्य बोल्ने जति सबै भारतीय पक्षको तारो बनेका छन् । सबैले देखेकै छौं, आफ्नो भरपूर अभिनयद्वरा भारतीय कला क्षेत्रलाई उचो बनाउने मनिषा कोइराला जसले भारतीय सिने उद्याेग निर्माणमा इँट्टा थपेकी छन् ।
प्रियंका चोपडाले हलिवूडको सिता खाएर भारतको गीता गाउन हुन्छ भने मनिषाले किन हुँदैन ? जननी जन्म भूमिश्च स्वर्गादपि गरियसी ! भारतीय र नेपालीले पढ्ने हिन्दू ग्रन्थका ठेलीहरु फरक-फरक छन् र ?
भारतलाई नसोधी नक्सा नछाप्नु भन्ने भारतीय छोरी सरीता गिरी, प्रियंका चोपडा जस्तै मनिषालाई पनि आफ्नो जन्मभूमिप्रति गर्व गर्ने पुरापुर हक छ ।
माओवादीहरुको कुरा पनि त्यै नै हो । महात्मा गान्धी पनि बेलायत र दक्षिण अफ्रिकामा लामो समय बसेका हुन् । त्यहाँ बस्दा ‘सिता’ त उतैको खाएका थे होलान् ! अंग्रेजलाई किन भारतबाट धपाए ? सायद जवाफ नहोला !
नेपालमा एउटा तप्का छ, जसलाई माओवादीहरु भारतद्वारा पालित पोषित शक्ति हुन् भन्न पाउँदा आनन्द मह्शुस हुन्छ । जनरल बक्सीको भनाइले यहाँको त्यो खाले तप्कालाई खुशी पार्न सक्छ ।
फुटाऊ र शासन गर ! घरेलु प्रतिकृयाबादले मात्र हैन, बैदेशिक विस्तारवाद र सम्राज्यवादले पनि यही बिधि अपनाउँछ । जनरल बक्सीको पश्चातापभित्र लुकेको रणनीति यहि नै हो ।
जनरलको भनाइ ‘त्यस्ता’ कसैलाई खुशी पार्न नभएर एकीकृत देखिएको यहाँको राष्ट्रिय एकतालाई तोड्न सकिन्छ कि भन्ने मनसायबाट आएको बुझ्न सकिन्छ ।
बुझ्नुपर्ने अर्को पाटो पनि छ । राजतन्त्र र हिन्दू राष्ट्र भएको भए अहिले कालापानीमा हाइसन्चो हुन्थ्यो ! हामीले आफैतर्फ गोल हान्यौं ! कम्युनिष्टहरु सत्तामा आएको कारण हामीले दुख पायौं भनिरहेका छन् ।
यसको अर्थ के हुन्छ ?
नेपालमा राजा र हिन्दू राष्ट्र कायम थियो भने कालापानी विवाद उठ्ने थिएन । जनरलको भनाईको अर्थ पक्कै पनि यहि नै लाग्छ । माओवादीलाई भारतले सपोर्ट गरेको भन्ने जनरल बक्सीसँग राजावादी र हिन्दुवादीहरु सहमत छन् त ? उनको भनाई बिश्वासयोग्य छ ? माओवादीहरु (कम्युनिष्ट) शक्तिमा आएकै कारण नेपाल क्रमश: चीनियाँ क्याम्पमा सामेल भएको र सोही कारण सीमा विवाद उछालेको भनेर सुगौली सन्धिले निर्धारण गरेको लिपू लिम्पियाधुरा क्षेत्रलाई विषयान्तर गर्न खोजिएको प्रष्ट छ ।
उल्झिरहेको समस्यालाई विषयान्तर गर्नु भनेको तथ्यगत रुपमा उनीहरु कमजोर छन् । हडप्ने प्रमाणहरु निम्छरा छन् ! तीन तीन पटक काली नदीको पहिचान मेटाउने, कृत्रिम काली खडा गर्ने क्रियाकलापले गल्ती उनीहरुकै ठहर्छ । त्यसैले उनीहरु तिल्मिलाएका हुन् ।
जति ठूलो आवाज गर्यो, उति चाँडो विजयी भइन्छ भन्ने भ्रम उनीहरुमा देखिन्छ । तर पनि सत्यको गला घोट्न निर्माण गरिएका हजार झूटहरु, अरु हजार कृत्रिमताहरु एउटै सत्यका सामू परास्त हुन्छन् ! धरासायी बन्नेछन् छन् । नेपालीजनमा यहि बिश्वास छ । सत्यमेव जयते !
११ जेठ २०७७