यो मितिसम्ममा पचासौं लाखमा संक्रमण र झन्डै सवा तीन लाख मानिसको ज्यान लिईसकेको कोरोनाको कहरले सम्पूर्ण मानव जातिको अस्तित्व के होला भन्ने त्राहिमाममा सारा बिश्व लकडाउनमा बन्धक बनेको छ ।
शुरुवाती क्रममा चीनको वुहान शहरमा देखा परेको यो भाइरसलाई अमेरिकी राष्ट्रपतिले ‘चीनियाँ भाइरस’को संज्ञा दिंदै आइरहेका छन् भने चीनियाँ मिडियाले पनि भाइरसको जन्मदाता अमेरिका स्वयं भएको आरोप लगाई रहेका छन् ।
गत वर्ष चीनमा बिश्व खेलकुदको आयोजना भएको थियो । सो क्रममा भाग लिन आएका अमेरिकी सैनिकहरुले भाइरस छाडेर गएको ती संचार माध्यमहरुको दाबी छ । जतिबेला बुहान शहर रोगको चपेटामा थियो, युरो-मेरिकनहरुलाई ठट्टाको बिषय बनेको थियो ।
एकै छानोको साझा घरमा रोग छिरेपछि सबैलाई खतरा हुन्छ भन्ने सोच तिनमा जागृत थिएन भन्ने कुरा उनीहरुको अभिव्यक्तिबाट पुष्टि हुन्थ्यो ।
रोगग्रस्त क्षेत्रमा सहयोग गर्नु त दूर, लौ त चाइनिजहरुले अब कसरी छुटकारा पाउँदार’छन्, हामी पनि हेरम ! भन्ने मनस्थितिका साथ तिनीहरु प्रश्तुत भए ।
तर जब बुहान सहरका ३०-३२ सयको ज्यान लिएपछि भाइरस युरोप छिर्यो, आफ्नो सक्कली रुप प्रश्तुत गर्यो । इटाली-फ्रान्स-बेलायत जस्ता युरोपियन सभ्यताका धरोहरलाई शबगृहमा रुपान्तरण गरिदियो ।
त्यत्तिले पनि उसको भोक शान्त भएको छैन । यतिखेर महाशक्ति अमेरिकाको गिदी खाँदै छ । संसारकै शक्तिशाली सेना-हतियार-रकेट-मिसाइल-क्षेप्यास्त्र-बिमान-पण्डुब्बी साथमा हुँदाहुँदै पनि झन्डै लाखको हाराहारीमा अमेरिकी नागरिकको ज्यान हडपि सकेको छ भने अरु लाखौंको जीवन संकटमा छ ।
अलकायदा–तालिवान-आइएस-लादेन-बसर अल असद-गद्दाफी-सद्दाम-खुमेनीसंग आक्रामक ढंगले लडेको अमेरिका अनि ट्रम्प प्रशासनले कोरोनासंग भने दुवै हात उठाएको अवस्था छ ।
बुहानको क्षतिले आर्थिक महाशक्तिमा प्रवेश गर्ने चीनियाँ महत्वकांक्षामा तगारो लाग्ने पर्खाइमा रहेका युरोमेरिकनको सोचमा महामारीबाट निर्मम प्रहार भयो, त्यसैले उनको मथिङ्गल तातेको छ ।
मानव जीवनको मूल्य धनसम्पत्तिसंग तुलना गर्नु पूंजिबादी सत्ताको अदृश्य बिशेषता नै हो । नागरिक त मरे नैं, तर त्यो भन्दा पनि ठुलो,अर्थतन्त्र डामाडोल भयो भन्ने चिन्ता कतिपय मुलुकका शासकमा छाएको छ । ट्रंप गनगनको भित्रि रहश्य पनि सम्भवत: यहि नैं हुनुपर्दछ ।
भन्ने गरिन्छ, हातमा परेको मुसो फुत्कियो भने बिरालोले खाँबो चिथार्छ । अफगानिस्तान-मध्यपूर्व-इरान-सिरियातिर शिकार धमाधम जारी रहेको बेला अनायासै कोरानाले दस्तक दिएपछि उसको नियति पनि सोहि बिरालोको झैं भएको छ । ‘चीन’ उसको लागि ‘खाँबो’ भएको छ । त्यसैले ऊ बेला बखत ‘चीनियाँ भाइरस’ भन्दै चिथोर्न अग्रसर हुन्छ ।
यद्यपि यो आरोप-प्रत्यारोपभित्र सत्यता जे-जति होला, तर पनि यसले दुई महाशक्ति बिचमा शितयुद्दले चरम रुप लिईसकेको सङ्केत गर्दछ । मतलब, कोरोनापछिको बिश्व पनि सुखद देखिन्न ।
कम्पनी डुब्ने, रोजगारी समाप्त हुने लगायत आर्थिक रुपमा त दु:खद हुने नैं भयो । त्यो भन्दा भयाबह दु:ख चाहिं अन्तरदेशीय कलहले निम्त्याउने हो कि भन्ने चिन्तामा ‘बोनस’ पनि थपिएको छ ।
खैर, यो चै समयकै गर्भमा छोडौं र अब आफ्नै परिबेशमा फर्किऔं ।
……….
संसार डुलेपछी दक्षिण एसिया किन छोड्नु ! भारत हुँदै कोरोना अन्तत: हाम्रै आँगनमा प्रवेश गर्यो । हामी यतिखेर लकडाउनमा गुडुल्की रहेका छौं ।
साबुन पानीले राम्रोसंग हात धुनू भनेर सरकारले सिकाई रहेको छ । भीडको अनुहार पनि नहेर्नू भनेर अर्ति दिईरहेको छ । तातोतातो खाएर न्यानोसंग घरमै बस्नू, लखर लखर नडुल्नू, साथीभाईसंग झ्याप्पै अंगालो नहाल्नू, दुरी कायम राख्नू, हात नमिलाउनू बरु नमस्कार-प्रणाम गर्नू ! भनेर उपदेश दिईरहेको छ ।
यद्दपि तजुव लागेको कुरा यो पनि छ कि देशमा कम्युनिष्टको सरकार भएर पनि मुट्ठी उठाएर अभिबादन गर्नू ! भन्न किन सकेन ? नमस्कार गर्दा दुवै हातलाई व्यस्त बनाउनु भन्दा एक हात उठाएर कसिलो मुट्ठी उज्याउँदै अभिबादन गर्नु धेरै हदसम्म प्रगतिशील ‘तरिका’ ठहरिन्थ्यो । एउटा हात अझै पनि जगेडामा रहन्थ्यो, अर्को काममा लगाउन सकिन्थ्यो… । यसतर्फ ध्यान दिएको भने देखिएन ! खैर छोडौं, हामीले यी आग्रह तथा उपदेशहरुलाई विनम्रताका साथ पालना गरिरहेका छौं ।
सोच्ने गर्छु, अमेरिकी सरकारले आफ्ना नागरिकलाई बेलैमा हाम्रो सरकारले जत्ति ज्ञान तथा उपदेश दिएको थियो भने सम्भवत: उसले यो स्तरको क्षति बेहोर्ने थिएन । यो हिसाबले हेर्दा हाम्रो सरकारलाई चलाख अनि चतुर मान्नुपर्ने हुन्छ ।
तर छिमेकी यो मामिलामा चलाख थिएन । किनकी ऊ लोभी थियो ! लोभले चलाख बन्नै दिएन । उसले घाटा लाग्छ भनेर रेल सेवा सुचारु गर्यो । कोरोनालाई हेप्ने उसको लकडाउन अमेरिका प्रभावित थियो । लुज । लुज । अनि लुज । उसका हिरोइनहरु क्याब्रे डान्स गरेर क्लबतिर भिडभाड गर्थे । पारखीहरु त्यतैतिर बुर्कुसी कस्थे । अहिले लाखको हाराहारीमा भारत सङ्क्रमित बनेको छ । जसको असर, त्यहाँ रोजगाररत नेपालीहरुमा पनि भाइरस सरेको छ ।
भारतीय बजारमा बिक्ने पसिना नै हो । खुन नैं हो । रोगग्रस्त नेपाली उसको आबश्यकता हैन । त्यसैले उसले नेपाली फ्याँक्ने डम्पिंग साइड खोज्न थाल्यो । र, उपयुक्त स्थान नेपाली बोर्डर क्षेत्र नै हो भन्ने पहिल्यायो ।
हामीले यहाँ रहेका भारतीय नागरिकहरुलाई भेदभाव नराखी नेपाली सरह राहत बाँडेर समान ब्यबहार प्रदर्शन गर्यौं । तर त्यसको बदलामा त्यहाँ रहेका सङ्क्रमित नेपालीहरुलाई रेल चढाएर नेपाली बोर्डरमा फ्याक्नु भारतीय सरकारले आफ्नो मानवीय दायित्व ठानेको छ ।
छिमेकीको यहि निगाहको परिणाम स्वरूप यतिखेर नेपालमा सङ्क्रमितको संख्या दिनप्रतिदिन बढिरहेको छ । रोगी हुनु अपराध हैन, परिस्थितिको शिकार हुनु हो ।
परिस्थितिले शिकार बनेका नागरीकले यहाँको परिस्थितिलाई नैं बदलिदिएका छन् । खुल्ला आकाशको अपेक्षामा रहेका नागरिकको दैलोमा लकडाउनको साङ्गलो अरु कडा बन्दै गइरहेको छ । अब भने देश साँच्चै नैं अनिश्चितताको सिद्दान्ततर्फ अग्रसर भएको छ । मतलब, जो होगा, देखा जाएगा ! एक क्षणका लागि यसलाई पनि यहिं बिसाऔं !
………
एउटा भीमकाय अजिङ्गरले कुनै एउटा सर्पलाई आधा निलिसकेको छ । निलिन बाँकी रहेको आधा शरीरको बलले उक्त सर्प कुनै मुसालाई आहारा बनाउँन तम्सदै गरेको दृश्य त तपाईं हामीले देखेकै छौं ।
हो, अहिले ठ्याक्कै यहि दृश्य सामू आएको छ । कोरोना अजिङ्गर बनेर सम्पूर्ण मानव सभ्यतालाई निल्न खोजिरहेको छ । भारत स्वयं त्यसको चपेटामा छ । उसको पहिलो काम ऊ आफैलाई मुक्त गर्नु हो । अपसोच ! कालो सर्प बनेर मुसा ताकीरहेको छ ।
सङ्क्रमित लाखौ मानिसलाई बचाउन भन्दा पनि नेपालको कालापानी-लिपूलेक लगायत लिम्पियाधुरा क्षेत्र हडप्न मानसरोवर सडक उद्घाटनको मन्चन गरिराखेको छ ।
सुगौली सन्धिले लुटेर महाकाली वारीमा सीमित नेपाललाई अझै उसले लुट्न छाडेको छैन ।
१९६२ ताका चीनसँग युद्द गर्दा नेहरुले राजा महेन्द्रलाई चिट्ठी लेखेर केहि समयका लागि कालापानीमा सैनिक क्याम्प राख्न अनुरोध गरेको, नेपालको सदासयताले कालापानी जस्तो सामरिक भूमि पाएको र चीन पक्षबाट भारतलाई थप क्षति हुनबाट जोगाइदिएको बदलामा उसले तिर्ने गुणको बदला यहि हो त ?
कारगिल होस् या काश्मिर, ज्यानको पर्वाह नगरी भारतीय सिमानाको रक्षा गर्ने गोर्खालीको देशमा अतिक्रमण गर्नू ! छि: छि: बहुत शर्म कि बात हे !
गोर्खा रेजिमेन्टलाई सार्क मुलुक एबम छिमेकी बिरुद्दको युद्दमा प्रयोग गर्न नपाइने सम्झौताको बिपरित उसले चीनसँग पनि युद्द लडायो । पाकिस्तानसंग यद्दपि लडाईराखेको छ ।
आफ्नो भूमि अरु बिरुद्द प्रयोग गर्न नदिने भन्ने असंलग्न परराष्ट्र नीतिको खिलापमा उभिएर भए पनि नेपालले गरेको सहयोगको बदलामा भारतले नेपालमाथि जुन गतिबिधि गरिरहेको छ, हरेक स्वाभिमानी नेपालीको खून उम्लिरहेको छ ।
भारतीय सैनिक प्रमुखले अहिले पछिल्लो समय बहुतै गैरजिम्मेवार अभिव्यक्ति दिएका छन् ।
मानसरोबर सडक आफ्नै भूमिमा बनेको भनेर उनले यो हिमालय क्षेत्रमा धावा बोलेका छन् । महेन्द्रले केहि समयका लागि थकाई मार भनेर दिएको आश्रयस्थल कालापानी-लिम्पियाधुरामाथि भद्दा मजाक गरिरा’छन् ! पाहुना बनेर अतिथि खाएर घरमालिकमाथि छुरा धसिरहेका छन् !
-सुगौली सन्धिले निर्धारण गरेको नक्शालाई अस्वीकार गरेका छन् ।
– नेपालले संयुक्त राष्ट्रसंघमा पेश गरेर रजिष्ट्रेशन पास भएको भूमि विवरणलाई अनदेखा गरेका छन् ।
-चीनसँगको लफडा नसुल्झिउन्जेल, कालापानीमा अस्थाई रुपमा क्याम्प राख्न पाउँ भन्दै आफ्नै पूर्वप्रधानमन्त्री जुवाहरलाल नेहरुले राजा महेन्द्र समक्ष लेखेको निबेदनलाई यिनले ख्याल-ख्याल सम्झिएका छन् ।
सिक्किम-काश्मिर-भुटान-नेपाललाई भारतमा गाभ्न चाहने बल्लवभाइ पटेलको मार्गमा हिंड्दै गरेको उसको मोदी सरकारलाई भारतीय सेनाप्रमुखको अभिव्यक्तिले पुष्टि गर्दछ ।
त्यसैले यहाँको जनआक्रोश चुलिएको छ । कोरानाले ज्यान लिन्छ भनेर लकडाउनमा रहेका नेपालीहरु सडकमा उत्रिएका छन् । ज्यान भन्दा अब स्वाभिमान प्यारो बनेको छ ।
विगतदेखि नैं उपस्थिति बिहिन मात्रै नभएर देशको नक्शामा समेत समेट्न नसकेको गम्भिर त्रुटिका बिच सरकारले केहि सुरक्षाकर्मीलाई कालापानी क्षेत्रमा पुर्याएको छ ।
कहिले ‘मलाई थाहै थिएन’ भन्ने, कहिले के भन्ने गरेर समस्याबाट भाग्न खोज्ने सरकारबाट धेरै अपेक्षा नहोला !
पार्टी फुटाउन अध्यादेश ल्याउने तर संबिधान संसोधन गरेर त्रुटीरत पुरानो नक्शामा भूगोल जोड्न पहल नगर्ने, खाली गफ चुटेर दिन कटाउने सरकारलाई एमसीसी कै चटारो देखिन्छ ।
जबकी एमसीसीका लागि जनमत छैन । पार्टीको इजाजत छैन । अध्ययन कार्यदलको सिफारिस छैन ।
एउटा छिमेकीसंग द्वन्द चर्कँदै छ भने एमसीसीकै कारण अर्को छिमेकी पनि रुष्ट हुने सम्भावना उत्तिकै छ । कुटनैतिक चतुर्याईं यसरी माइनसमा गिर्दै जाने हो भने हाम्रो बाटो कति सहज होला ! …आँखिर यो जोखिम केका लागि ?
कुटनैतिक नोट कै भरमा कालापानी फिर्ता हुने सम्भावना देखिन्न । बार्ता-छलफल जस्ता शब्द सुन्नमा मीठो भए पनि फलदायी हुने सम्भावना निकै दूर छ । किनकी उसको चरित्र भलाद्मी नभएर बिस्तारवादी प्रकृतिको छ ।
ज्यान जान सक्छ भन्ने थाहा भएर पनि जब हामी कोरोनाको महामारीसँग डराएनौं, सडकमा ओर्लियौं भने कालापानी हडप्ने जैरेहरु कुन ड्याङ्गका मूला हुन् ! जनस्तरमा यहि आवाज बुलन्द छ । अतिक्रमणकारीहरु होशियार !
-गोकुल कार्की
२०७७-०२-०२