भक्तपुरको १७ तले भवनमा खाद्यान्न भण्डारण गरिने

भक्तपुर । ‘कडाउन’को कारण खाद्यान्न अभाव हुन नदिन मध्यपुरथिमि राधेराधेमा रहेको १७ तले खाली भवनमा खाद्यान्न भण्डारण गरिने भएको छ ।भवनमा नेपाली सेनाको नेतृत्वमा अभाव भएमा भक्तपुर जिल्लाका चारै वटा नगरपालिकामा वितरण गर्ने गरी खाद्य भण्डारण गर्ने भएको हो ।

उक्त भवनमा नेपाली सेनाको नेतृत्वमा अत्यावश्यक खाद्यान्नहरु भण्डारण गर्ने र अभाव भएमा जिल्लाका चारैवटै नगरपालिकामा वितरण गर्नेगरी खाद्यान्न भण्डारण गरिने भएको हो । भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, वीरदल गणका गणपति कर्णेल शिवप्रसाद पौडेल, प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधान, सशस्त्र प्रहरी दुवाकोटका प्रहरी उपरीक्षक विश्वप्रसाद भट्टराईसहित संयुक्त सुरक्षा फौजको टोलीले उक्त भवनको अनुगमन गरी खाद्यान्न भण्डारका लागि उपयुक्त रहेको जनाएको थियो ।

भवन छनोटपछि दुर्गाप्रसाद न्यौपानेको राधेराधेमा रहेको प्रयोगविहीन १७ तले भवन हालको सङ्कटको समयमा प्रयोग गर्न माग गर्दा न्यौपानेले विपदमा निःशुल्क प्रयोग गर्नेगरी सुरक्षा फौजलाई उपलब्ध गर्न स्वीकृति दिएका हुन् ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरले न्यौपानेलाई भवन प्रयोग गर्नेबारे पत्राचार गरिसकेको छ । भवनमा खाद्यान्न स्टोर तथा वितरणका लागि प्रयोग गरिने भएपछि नेपाली सेनाको वीरदल गण सूर्यविनायक ब्यारेकबाट खटिएका सेनाको टोलीले भवनको सरसफाइ गरी तयारी अवस्थामा राखेको वीरदल गणका गणपति शिवप्रसाद पौडेलले जानकारी दिए ।

यसका लागि नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाले ५० थान त्रिपाल उपलब्ध गराएको छ । त्रिपाल ओछ्याउने र खाद्यान्न भण्डारणका लागि ठाउँ तयारी अवस्थामा राखिएको छ ।

लकडाउन लम्बिदै जाँदा खाद्य सामग्रीको अभाव भएमा जिल्लाका चारवटै नगरपालिकासँग समन्वय गरी सम्बन्धित नगरपालिकाको वडा कार्यालयमार्फत नागरिकलाई खाद्य सामग्री वितरण गर्न सकिने गरी तयारी गर्न लागिएको वीरदल गणका गणपति पौडेलले जानकारी दिए ।

Loading...