कपिलवस्तुमा ८५ जना क्वारेन्टाइनमा

कपिलवस्तु ।कोभिड–१९ (कोरोना भाइरस)को संक्रमण रोकथामका लागि कपिलवस्तु जिल्लामा ८५ जनालाई क्वारेन्टाइनमा राखिएको छ । रा्ेजगारीका लागि भारत र खाडी लगायत मुलुकबाट फर्केकाहरु क्वारेन्टाइनमा राखी पालिका र प्रहरीको बिशेष निगरानी बढाइएको हो ।

जिल्लाका १० वटै पालिकामा आइतबारसम्म २सय ४२ क्वारेन्टाइन र ८ वटा आइसोलेशन बेड स्थापना गरिएका छन् । जिल्लाभर स्थापना गरिएका क्वारेनटाइनमा हालसम्म ८५ जनालाई निगरानीमा राखिएको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुको तथ्यांकमा उल्लेख छ । हालसम्म कृष्णनगर नगरपालिकामा १०१ क्वारेन्टाइन बेड स्थापना गरिएकोमा जिल्लामै सबैभन्दा बढी २३ जनालाई निगरानीमा राखिएको नगरप्रमुख रजत प्रताप शाहले जानकारी दिए । महाराजगञ्ज नगरपालिकामा २३ बेडको क्वारेन्टाइन स्थापना गरिएको छ जसमा आइतबारसम्म ३ जनालाई निगरानीमा राखिएको नगरप्रमुख अब्दुल कलाम खाँले बताएका छन् ।

यता शिवराज नगरपालिकामा १४ वटा क्वारेन्टाइन बेड स्थापना गरिएकोमा हालसम्म ११ जनालाई क्वारेन्टाइमा राखी निगरानी बढाइएको नगरप्रमुख नेत्रराज अधिकारीले जानकारी दिएका छन् । नगरपालिकाले क्वारेन्टाइनमा बस्नेलाई खाना तथा वाईफाईको समेत व्यवस्था मिलाइदिएको नगरप्रमुख अधिकारीले बताए । यस्तै विजयनगर गाउँपालिकामा १६ क्वारेन्टाइन बेड निर्माण गरिएकोमा ६ जनालाई निगरानीमा राखिएको गाउँपालिका अध्यक्ष गोपाल थापाले जनाए ।

यसैगरी कपिलवस्तु नगरपालिकामा ११ क्वारेन्टाइन बेडमध्ये ११ जना निगरानीमा छन् । बाणगंगा नगरपालिकामा स्थापना गरिएको २२ क्वारेन्टाइन बेड स्थापना गरिएकोमा १ जना मात्र निगरानीमा छन् । बुद्धभूमि नगरपालिकामा ५ क्वारेन्टाइन बेड निर्माण गरिएको छ । जसमा ३ जना निगरानीमा छन् । जिल्लाका यशोधरा, मायादेवी र सुद्धोदन गाँउपालिकामा निगरानीका लागि ६, २० र १२ क्वारेन्टाइन बेड निर्माण गरिएकोमा हालसम्म निगरानीमा ६, १३ र ८ जना रहेको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ ।

जिल्लाको कपिलवस्तु अस्पताल तौलिहवामा ४, बाणगंगाको पिपरा अस्पताल र शिवराज अस्पतालमा २÷२ बेडको आइसोलेसन वार्ड तयारी अवस्थामा रहेको जनाइएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार कपिलवस्तुमा आइतबार साँझसम्म कोही पनि कोराना संक्रमित भेटिएका छैनन् ।

Loading...