विपन्न परिवारका साथमा सहयोगी हात

कपिलवस्तु । दैनिक मजदूरी गरी छाक टार्दै आएका १२ विपन्न परिवारलाई सहयोगी हातहरुद्वारा राहत सामग्री वितरण गरिएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएका कोभिड–१९ (कोरोना भाइरस) का कारण गरिएको ‘लकडाउन’ मा छाक टार्न धौ धौ अति विपन्न, गरीब १२ परिवारलाई राहत वितरण गरिएको हो ।

कपिलवस्तु शिवराज नगरपालिका–५, चन्द्रौटाका युवा व्यवसायीहरुले संयुक्त रुपमा शिवराज ५ स्थित विभिन्न गाउँका १२ विपन्न परिवारलाई राहत वितरण गरेका हुन् । चन्द्रौटास्थित जय माँ लक्ष्मी ट्रेडर्सका व्यवस्थापक एवं नेपाली काँग्रेस महासमिति सदस्य विजय जयसवाल, लक्ष्मी टे«डर्स तथा ग्यालेक्सी शुद्ध पिउने पानीका व्यवस्थापक विष्णु हमाल र युवा प्रकाश चौधरीले संयुक्त रुपमा खाद्यान्न सामाग्री वितरण गरेका हुन् ।

नगरको वडा नं. ५ स्थित उत्तर रहटकोल, पूर्व रहटकोल, दक्षिण रहटकोल र भलुही गाउँका अति विपन्न ४–४ गरी १२ परिवारलाई राहत वितरण गरिएको जय माँ लक्ष्मी टे«डर्सका व्यवस्थापक विजय जयसवालले जानकारी दिए । प्रति परिवारलाई केही दिन पुग्ने गरी दैनिक उपभोग्य सामग्री चामल, दाल, नुन, तेल, मसला, आलु, सोयाविन र साबुन वितरण गरिएको जयसवालले बताए । ‘हामी धेरै त गर्न सकेनौं, थोरै भएपनि पीडितको दैनिकीमा साथ मात्र दिएका हौं, यदि कोही भए ती परिवारको घाउमा समेत मल्हम लगाउने कोशिश गर्नेछौं’ –युवा व्यवसायी जयसवालले भने ।

यता ग्यालेक्सी शुद्ध पिउने पानीका व्यवस्थापक विष्णु हमालले दैनिक ज्यालादारी गरी खाने, अन्य आय स्रोत नभएका र बिहान बेलुकाको छाक टार्न समेत समस्या भएका अति विपन्न घर परिवार छनौट गरी खाद्य सामग्री वितरण गरिएको बताए ।

Loading...